| शनिबार, कार्तिक २८, २०८३

भोलि उठी कहाँ जाने केही थाहा छैन …

शिव उप्रेतीः बिहानी प्रहर थियो । भित्ताको घडीमा छोटो, मोटो सुईले त्यस्तै पौने पाँच जनाएको थियो । हजूरआमाको खोकिलामा निर्धक्कले निदाइरहेकी कोपिलाले छरछिमेकमा भएको चहलपहल सुन्न पाएकी थिइनन् ।

छिमेकीको घरमा जस्तै उनको घरमा पनि छोरामान्छे भएको भए राती १२ बजेदेखि नै उठिसकेका हुन्थे । तर आमाले सात बर्षअघि नै अर्कै पुरुष खोजेर गएकी थिइन् । ज्याला मजदुरी गर्न गएका बा लकडाउनले काठमाडौँतिर अड्किएका थिए । घरमा थिए नौ बर्षकी बहिनी करिस्मा र १३ बर्षकी दिदी करुणा । तीन नाबालिकका एक मात्र अभिभावक थिइन् हजुरआमा देबीकुमारी भट्ट ।

बिहानीको सितल प्रहरमा ७६ बर्षकी वृद्धा र ससाना बालबालिका गाढा निद्रामा मस्त थिए । त्यसैबेला एक्कासी छानाको जस्तामा कसैले डड्याङडुडुङ गर्दै चिच्याएपछि सबै जर्‍याक्जुरुक उठे । बाहिर निस्किए । हेर्दा आँगन र पिँडी जोडिएको घर पहिराले आँखाले देखेसम्म तल हुत्याइसकेको रहेछ । त्यसपछि घरबाट पन्द्र मिनेट माथि रहेको जनजागृति स्कूलमा उनीहरुको बास हुन थाल्यो । ‘स्कूलको वरिपरि पनि पहिरो छ ।

यहाँ त सुत्न पनि डर लाग्छ, बस्न पनि डर लाग्छ’, कोपिला भन्छिन्, ‘राती सुत्दा पनि झस्याङझस्याङ भइरहन्छु । हजुरआमा त सुत्दैसुत्नु हुन्न ।’ बहिनी पनि डरले रोइरहने उनले दुखेसो पोखिन् । दिउसोको समय जेनतेन बित्ने गरे पनि साँझ पर्न थालेपछि डर लाग्ने उनी बताउँछिन् । ‘दिउसो त नयाँनयाँ मान्छेहरु आउँछन्, कुरा गर्छन् । अँधेरो भएपछि कोही नि हुदैन । वरिपरि पहिरो हुन्छ अनि हामी मात्र हुन्छौं’ उनी भन्छिन्, ‘पानी पर्न थालेपछि एकदम डर लाग्छ ।’ स्कूलको कक्षाकोठाभित्र डराइडराई बसेको सात दिन भइसक्यो । सँधै स्कूलभित्र बस्ने हो कि, कहाँ जाने हो, न हजूरआमालाई थाहा छ, न कोपिलालाई । नौ बर्षकी करिस्मा र करुणालाई पनि थाहा छैन ।

कोपिला अहिले पास भएर सात कक्षामा पढ्ने भइन् । उनकी बहिनी करिस्मा पाँच कक्षा र दिदी करुणा आठ कक्षामा पुगे । तर पास भएदेखि नै पढ्न पाएका  छैनन् ।

बुधबार रेडक्रसको टोली आएर भाँडाकुँडा र लत्ताकपडा दिएर गयो ।

शुक्रबार बिहान गाउँपालिकाका अध्यक्ष विष्णु भट्टसहितको टोली आएर १० हजार रुपैयाँ दिएर गए । शनिबार गण्डकी प्रदेशका सांसद आएर १० हजार रुपैयाँ दिएर गए । यो २० हजार रुपैयाँले न उनीहरुको घडेरी आउँछ, न घर बनाउन सक्छन् । जग्गाको नाममा पहिरोमा बगेको केही बारी थियो । त्यो गइगयो । एक बिहानको मेलो खेत छ, त्यो पनि खोलाको तिरमा छ । अब घर कहाँ बनाउने ? यसको जवाफ न हजुरआमासँग छ, न करुणा दिदीसँग । यसको जवाफ दिने अहिलेसम्म कोही पनि नआएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्