
खाद्यको गोरखा कार्यालयबाट ११ सय क्विन्टल चामल बिक्री
दराैँदी समाचारदाताः खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोरखा स्थित कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्म ११ सय क्विलन्टल चामल बिक्री भएको छ । स्थानीय तहले कोरोनाबाट प्रभावितलाई बितरण गरेको राहत र कम्पनीको कार्यालयबाटै सर्वसाधारणले अन्य समय भन्दा धेरै खरिद गरेकाले सदरमुकामको कार्यालयले यो परिमाणको खाद्यान्न बिक्री गरेको हो ।
‘सदरमुकाम स्थित कार्यालयबाट एक हजार एक सय क्विन्टल बिक्री भएको पहिलो पटक हो’ संस्थानका कार्यालय प्रमुख नबिन बस्नेतले भने । बिहान बेलुकी खान समस्या भएकालाई राहत बितरण गर्दा स्थानीय तहले संस्थानबाट ठूलो परिणाममा खाद्यान्न खरिद गरेका थिए । संस्थानको सदरमुकाम स्थित कार्यालयबाट जापनिज ४२ रुपैयाँ ३० पैसा र जिरा मसिनो ५४ मा सर्वसाधारणले पनि कोरोना प्रभावका बेला खरिद गरे । यो छुट मूल्य थियो । बजार भन्दा सस्तोमा चामल पाएको र अन्य पसलहरु बन्द भएकाले पनि बिक्री दर बढेको हुन सक्ने कम्पनीले जनाएको छ । बिक्री भएको मध्ये चार सय क्विलन्ट सर्वसाधारणले लगेका थिए भने सात सय क्विन्टल स्थानीय तहले लगेका थिए ।
कम्पनी सँग अहिले पाँच सय चार क्विन्टल मौजाद चामल रहेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका स्थित सिर्दिबास डिपोमा चार हजार सात सय क्विन्टल चामल गत वर्ष ढुवानी गर्नुपर्नेमा चार हजार चार सय क्विन्टल मात्रै ढुवानी भएको छ । धार्चे गाउँपालिकाको माछाखोला डिपोमा आठ सय क्विन्टल कोटा अनुसार पुरै ढुवानी भएको कम्पनीका प्रमुख बस्नेतले बताए ।
माछाखोला डिपोमा अहिले सात सय र सिर्दिबास डिपोमा एक हजार पाँच सय क्विन्टल चामल मौजाद रहेको छ । ‘यो चामल दशैँ सम्म राख्ने हो’ कार्यालय प्रमुख बस्नेतले भने ‘सिर्दिबास पुर्याउन बाँकी तीन सय क्विलन्ट पनि त्यतीबेला सम्म पुगिसक्छ ।’ सिर्दिबासमा एक हजार पाँच सय क्विन्टल कोटा थप भएर गत असारमा मात्रै आएकाले पठाउन ढिलो भएको उनले बताए ।
लगातार वर्षात भएकाले अहिले ढुवानी गर्न समस्या भएको कम्पनीले जनाएको छ । सोना मन्सुली चामल सिर्दिबासमा प्रतिकिलो ५० र माछाखोलामा ४५ रुपैयाँमा स्थानीयले कम्पनीको डिपोबाट खरिद गर्न पाउँछन् । चामल उत्पादन नहुने र त्यहाँको उत्पादनले स्थानीयको आवस्यकता पुरा नहुने भएपछि सरकारले दुर्गम पालिकाको ती ठाउँमा खाद्यान्न अनुदानमा दिँदै आएको छ ।




