
राजमार्गका अलपत्र परेका हजारौँ यातायात मजदुरको गुनासो, ‘लकडाउनका बेला दुखमा परेकालाई सहयोग गर्यौँ, हामीलाई दुख पर्दा उल्टै ठगियौँ’
शिव उप्रेतीः पृथ्वीराजमार्गको मौवाखोलामा पुल भत्किएपछि यातायात मजदुरहरु चारदिनदेखि सडकमै अस्तब्यस्त छन् भन्ने खबर थियो । उनीहरुको अबस्था बारे बुझ्न जाँदा मौवाखोलादेखिको ट्रकको ताँती कुरिनघाटसम्म आइपुगेको भेटियो ।
करिब साँढे १२ बजेको थियो । सुदूरपश्चिमको कैलालीबाट काठमाडौंँका लागि चिनी ढुवानी गरेर आएका चार जना चालक सहचालकको समूह कुरिनघाटबाट केही पर भेटिए । दुइटा ट्रकको बीचको खालि जग्गामा उनीहरु खाना बनाउँदै थिए ।
खानाको मिठो बासना आइरहेको उनीहरुको ‘भान्सामा’ नमिठो गुनासो सुन्नुपर्यो । आफूहरु अप्ठ्यारोमा परेको मौका छोपेर स्थानीय व्यापारीले कालोबजारी गरेको उनीहरुको सबैभन्दा ठूलो चित्त दुखाइ थियो । ‘हामीले सँधै किलोको ६० रुपैयाँ तिर्ने चामललाई अहिले यहाँ किलोको ठ्याक्कै एकसय तिर्नुपर्यो’, उनीहरुमध्यका एकजना यातायात मजदुर केशवसिँह ठकुरीले भने, ‘नभै भएको छैन, के गर्नु, डेढसय भनेको भए पनि किन्नुपथ्र्यो ।’
दुखमा परेका बेला सहयोग गर्नुपर्छ भनेर लकडाउनका बेला यही सडकमा पैदल हिडेका सयौं यात्रुको उद्धार गरेको उनीसँगैका रामबहादुर बोगटीले सम्झिए । ‘दुख परेको बेलामा मान्छेले मान्छेलाई सहयोग गर्नुपर्छ भनेर हामीले प्रहरीको छेकथुनको पर्वाह नगरी, रोग सर्ने डरलाई बिर्सिएर पैदल हिडेका मान्छेलाई बोक्यौँ । सहयोगको पैसा लिनु हुन्न भनेर पैसा पनि लिएनौँ’, उनले भने, ‘अहिले चार दिन भयो हामी सडकमा अलपत्र छौं । तर हामीलाई दुख पर्दा कसैले हेरेनन् ।’

केही पर अर्का ट्रकका मजदुर रोडको कुनामा झरेको छाँगोमा लुगा धुने, नुहाउने काममा मस्त थिए । वीरगञ्जबाट फलाम बोकेर ल्याएका उनीहरुले चारदिनदेखि खाना खाएका नखाएको दुख कहे । ‘चारदिन भयो भात नभेटेको । जङ्गलको बीचमा छौं, चाउचाउबाहेक केही खाएको छैन’, २० बर्षका श्याम लामाले भने, ‘होटल खोज्न कहाँ जाऔँ । ठेलामा बेच्न ल्याएको चाउचाउ खाएर भोक मेटेका छौँ । यही चाउचाउ पनि ३५ रुपैयाँमा किन्नु परेको छ ।’ मान्छेलाई संकट परेको मौका छोपेर कालोबजारी गरेकोप्रति उनलको पनि सबैभन्दा ठूलो चित्त दुखाइ छ । राजस्थानबाट काठमाडौंका लागि मार्वल, टायल लिएर आएका सुरज चौधरी र देवीलाल मामाको पनि सडकमा बेहाल छ । ‘परेसानीका पहाड’, नेपाली बोल्न नजान्ने सुरज भन्छन्, ‘गाडीमै हमारा मकान ।’
एक बोत्तल पानीको ३५ रुपैयाँसम्म तिर्नुपरेको भन्दै उनले दुख ब्यक्त गरे । कसैसँग पैसा हुने, कसैसँग नहुने भन्दै उनले दुखमा परेका बेला उल्टै ठगिनु परेको नमिठो भोगाइ सुनाए । हेटौँडादेखि पाँच महिनाकी बिरामी छोरीको शल्यक्रिया गर्न काठमाडौं जाँदै गरेका असरत आलम दम्पत्ति पनि राजमार्गमा अलपत्र भेटिए । हेटौँडाको अस्पतालले शल्यक्रिया गर्नुपर्ने भएकाले यथासीघ्र काठमाडौं पठाएपछि उनीहरु जाँदै गर्दा बाटो खुल्ने आशामा मोटरसाइकलमै काठमाडौंका लागि हानिएका थिए । ‘तर आज खुल्ला छैन, भोलि खुल्ला छैन’, आलमले भने, ‘कहिले खुल्ने हो नि थाहा पाइएन । यस्तो शिशु लिएर अत्रपत्र परियो ।’
अबिरल बर्षापछिको भीषण बर्षातका कारण गत सोमबार पृथ्वीराजमार्गको मौवाखोला पुल भत्किएपछि हजारौं यातायात मजदुरको अबस्था दुखपूणर् छ । कुरिनघाटदेखि मौवाखोलासम्म १० किलोमिटर लामो जाममा पच्चीससयदेखि तीनहजार वटासम्म सवारीसाधन जाम भएको त्यहाँ ड्युटीमा खटिएका ट्राफिक सईले बताए । यातायात मजदुरको पीडादायक अबस्थाको बारेमा प्रशासकहरुको ध्यान नपुगेको बारे घटनास्थलको निरीक्षण भ्रमणमा आइपुगेका डिआइजी वसन्तकुमार लामा बताउँछन् ।
‘हामी त जतिसक्दो चाँडो पुल मर्मत गरी यातायात खुलाउने ध्याउन्नमा छौँ । यातायात मजदुरको अबस्थाका बारेमा सोच्नै भ्याएका छैनौं’, बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लामाले भने, ‘अब हामी सकेसम्म आज(शुक्रबार) रातीसम्म नभए पनि शनिबार एकातर्फी भनेपनि सडक खुलाउनका लागि लागिपरेका छौं ।’




