
बजेट खर्चमा कोरोना प्रभाव
कोरोना प्रभावका कारण गोरखा जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा बजेट खर्च घटेको छ । गत वर्षको तुलनामा संघीय र प्रदेश सरकारबाट प्राप्त रकम यहाँका कार्यालयले खर्च गर्न सकेनन् ।
संघीय सरकारबाट प्राप्त १२ अर्ब ६९ करोड ५४ लाख ५१ हजार मध्ये करिब ५६ प्रतिशत, सात अर्ब नौ करोड ४४ लाख ७३ हजार खर्च भएको छ ।
यो तुलनामा गण्डकी प्रदेश सरकारबाट प्राप्त चालु तर्फको रकममा खर्च कम भएको छ । एक अर्व नौ करोड ३२ लाख मध्ये पाँच अर्व ११ करोड ५० लाख गरी जम्मा ४६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ । गत वर्ष ७० भन्दाबढि खर्च भएको थियो ।
चालु तर्फ मातहतका कार्यालयको तलब भत्ता, कार्यक्रमको बजेट र स्थानीय तहलाई संघ र प्रदेश सरकारबाट प्राप्त अनुदानको बजेट समेत रहेको हुन्छ । पुजिँगत बजेट खर्च भने चालुको तुलनामा बढी देखिन्छ । संघीय र प्रदेश सरकारबाट प्राप्त १० अर्व ७६ करोड १० लाख २९ हजार मध्ये ८ अर्व ९९ करोड १२ लाख ४९ हजार खर्च भएको छ । यो करिब ८५ प्रतिशत हो ।
राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्यूत आयोजनाको मुआब्जा रकम पनि पुँजिगत भित्र पर्ने भएकाले खर्च धेरै देखिएको हो । ‘कोरोनाको प्रभावले खर्च कम भएको हुन सक्छ’ प्रमुख कोष नियन्त्रक नारायण दत्त सर्माले भने ‘कार्यालय अनुसार बित्तिय प्रगती फरक/फरक छ, कसैले धेरै कसैले थोरै गरेका छन् ।’
स्थानीय तहले प्रदेश र संघिय सरकारबाट पाएका अनुदान असार मसान्त भित्र खर्च गर्न नसकेको फिर्ता गर्नुपर्छ । अहिले स्थानीय तहले फिर्ता गर्न सुरु गरेको उनले बताए । उक्त रकम स्थानीय सरकारले खर्च गर्न नसक्दा चालु तर्फ करिब ५१ प्रतिशत मात्रै खर्च देखिएको हो ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार संघिय सरकारबाट आठ अर्व ८७ करोड ८६ लाख २३ हजार प्राप्त भएको र प्रदेश सरकारबाट एक करोड ७१ लाख ५८ हजार राजस्व रकम प्राप्ती भएको छ ।




