| शनिबार, कार्तिक २८, २०८३

रकमान्तरको बिरोधमा वडा कार्यालयमा तालाबन्दी

दराैँदी समाचारदाताः बजेट रकमान्तर हुन नदिन बारपाक सुलिकोट गाउँपालिका-४ सौरपानीका बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्वास्थ्यचौकी स्तरोन्नति गर्न आएको बजेट अस्पताल निर्माणमा रकमान्तर गर्न लागिएको बिरोधमा तालाबन्दी गरेको स्थानीयबासीको भनाइ छ । ‘सौरपानीमा हाल रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने शीर्षकमा चार करोड दुईलाख रुपैयाँ बजेट आएको थियो तर गाउँपालिकाले त्यसलाई घुमाएर एक गाउँपालिका एक अस्पताल शीर्षक अन्तर्गत हुडीखोला फाँटमा निर्माण हुने भनिएको अस्पतालमा रकमान्तर गर्न लाग्यो’, स्थानीय इश्वर ढकालले भने, ‘त्यसैले गाउँले सबै जागेर वडा कार्यालय बन्द गरेका हौं ।’

जुन शीर्षकको बजेट हो, उही काममा खर्च हुनुपर्ने उनीहरुको दाबी छ । जिल्लाका मकैसिङ, आरुघाट र जौबारी प्राथमिक स्वास्थ्य केन्द्रसहित सौरपानी स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्न संघीय सरकारले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो । ‘जुन शीर्षकमा बजेट आएको छ त्यही शीर्षकमा खर्च गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ स्थानीय केशरीप्रसाद ढकालले भने, ‘हुडीफाँटमा बनाउने अस्पतालका लागि गाउँपालिकाले छुट्टै रकम हाल्नुपर्‍यो, स्वास्थ्यचौकी स्तरोन्नतीका लागि आएको रकम किन त्यहाँ हाल्ने ?’ यस बिषयमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई पटक पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको स्थानीयको गुनासो छ ।

वडा अध्यक्ष भीमबहादुर गुरुङको पनि शीर्षक अनुसार बजेट खर्च हुनुपर्ने दाबी छ । ‘गाउँलेको माग जायज छ’, वडा अध्यक्ष गुरुङ भन्छन्, ‘तर गाउँपालिकामा वार्ता र संवादका लागि जानुपर्ने, आवश्यक परेमा उतै बिरोध गर्नुपर्नेमा वडा कार्यालयमा तालाबन्दी गरेछन् । योचाहिँ सुहाएन ।’ आफूले यस बारेमा गाउँपालिकाका अध्यक्षलाई कुरा राखिसकेको, यो बाढी पहिरोकोको विपत व्यवस्थापन भएपछि यस बारेमा छलफल गर्ने आश्वासन पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्