
धार्चेमा १० बर्षमा ५६३ जोडीले गरे बालबिबाह, बालबिबाह गर्नेलाई गाउँपालिकाले सेवा सुविधाबाट बञ्चित गर्ने
हेलन गुरुङः धार्चे गाउँपालिकामा पाँचसय ६३ जोडीले बालबिबाह गरेको पाइएको छ । गाउँपालिकाले गत पुस महिनामा धार्चेका माध्यमिक तहका विद्यालयहरुले गरेको सर्वेक्षणबाट सो जानकारी तथ्य खुलेको हो ।
गाउँपालिका विद्यालयहरुले २०६८ सालदेखि अहिलेसम्म बालबिबाह गर्नेको तथ्याङ्क संकलन गरेको थियो ।
सो तथ्याङ्कअनुसार १० बर्षको अवधिमा पाँचसय ६३ जनाले बालबिबाह गरेको भेटिएको बालबिबाह सद्भावना दुत एलिजा गुरुङले बताइन् । ‘यो १० बर्षको अवधिमा धार्चेभरिमा ५६३ जनाले बालबिबाह गरेको भेटियो’, उनले भनिन्, ‘बालबिबाह गर्नेहरुलाई भेट्नका लागि म वडा नं. २, ४, ५ र ६ मा पुगेँ ।
उहाँहरुसँग कुराकानी गर्दा जनचेतनाको अभाव, परम्परागत रीतिरिवाज, प्रेम बिबाह, छाडा प्रवृति र करकापका कारण बालबिबाह गरेको भेटियो ।’ बालबिबाह न्युनिकरण तथा अन्त्य गर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाहरु एकजुट भएर जनेचतना जगाउनु नै सबैभन्दा प्रभावकारी हुने उनले सुझाव दिइन् ।
‘बालबिबाह गर्दा बिभिन्न अल्पकालीन, दीर्घकालीन बेफाइदा हुन्छ भन्ने बारे उहाँहरुले थाहा नपाएको बताउनुभयो’ उनले भनिन्, ‘त्यसैले बालबिबाह गर्दा हुने कानूनी कारबाही र शारीरिक, मानसिक, सामाजिक, आर्थिक बेफाइदाका बारेमा जानकारी गराउनु अति आवश्यक छ’, बालबिबाह सद्भावना दूत गुरुङले भनिन्, ‘स्वयंसेवक अथवा सामाजिक परिचालन परिचालन गरी बालबिबाह गर्दा बालमृृत्युदर बढ्ने, आमा र बच्चाको स्वास्थ्यमा नकरात्मक असर पुग्ने, बहुबिबाह बढ्ने, छिट्टै सम्बन्ध बिच्छेद हुने, जसले गर्दा समाजमा बिकृति फैलने जस्ता विभिन्न असर पर्दछ भन्ने कुरा बुझाउनु जरुरी छ ।’
बालबिबाह गर्नेलाई दण्ड सजायँस्वरुप गाउँपालिकाले दिने बिभिन्न सेवा सुविधाहरुबाट बञ्चित गर्ने बारे यसबर्षको नीति तथा कार्यक्रममा घोषणा गरेको गाउँपालिकाका उपप्रमुख फूलमाया गुरुङले बताइन् ।




