| शनिबार, कार्तिक २८, २०८३

यसरी स्थापना भयो घडेरीखोला बस्ती

शिव उप्रेतीः दरौंदी र खारखोलाको घेराभित्र उभिएको एउटा थुम्को, वरिपरि फैलिएको ठूला फाँट । तिनै फाँटमा रातोदिन दस नङ्ग्रा खियाउने तामाङ समुदायको बस्तीले भरिएको बस्ती हो घडेरी खोला ।

पालुङटार नगरपालिका वडा नं. ९ मा रहेको सो थुम्कोमा घडेरी खोलाबाहेक अन्य बस्ती पनि छन्ः लामागरा, कोशेघारी, हात्तीगौँडा, चालिसेचौतारा, बाँसुरीखोला, बेलडाँडा । कर्मशीलहरुको बसोबास रहेको यी बस्तीका प्राय सबैजना कृषि उपजका धनी छन् । मुरीका मुरी धान बेच्छन् । भकारीमा दुई, तीनबर्षदेखिको पुरानो धान, मकै, गहुँ सञ्चित हुन्छन् । मुरीका मुरी तोरी, क्वीण्टलका क्वीण्टल आलु बेच्न सक्षम किसानहरुको बस्ती हुन् ती ।

यी सातवटै बस्तीमा एकदुई घर कामी, कुमाल र गुरुङबाहेक सबै तामाङहरु मात्र बस्छन् । उनीहरु सतप्रशित क्रिश्चियन हुन् ।

दरौंदी बगरमाथि उठेको यी बस्तीको इतिहास ५० बर्षभन्दा लामो छैन, सम्झन लायक पनि छैन ।

२०२८ सालको फागुन २८ गते पहिलो पटक घडेरीखोलामा कालीबहादुर तामाङ र उनकी धर्मपत्नी मेङ्गरा आइपुगे । त्यतिबेला यहाँ मान्छेहरुको बसोबास थिएन ।
पुरानो थलो धादिङको री गाउँपञ्चायतको धुसेनी हो । बाँच्नका लागि त्यहाँ गर्नुपरेको कष्ट सहन नसकेर उनीहरुसंगै कान्छाबुबा नुर्बु, साढुदाइ सुन, सुनाम, प्रदीप र प्रति लामाको परिबार पनि उनीसंगै मिलेर आएका थिए ।

अहिले घडेरीखोलामा ७० घर, हात्तीगौडामा ४४ घर, कोश घारीमा २७ घर भइसकेका छन् ।

धादिङको री गाउँमा अहिले मोटरबाटो पुग्यो । सहरका सामान गाउँमा पुग्यो । पैसा भएमा इच्छा लागेको खानेकुरा किनेर खान पाइने भयो ।

तर पहिले कहाँ त्यस्तो हुनु ? ‘माथि हेर्‍यो, कहालीलाग्दो पहरा, तल हेर्‍यो छङ्गाछुर भीर, अगाडि हेरे पनि भीर, दायाँ, बायाँ जता हेरेपनि भीर मात्रै’, मेङ्गरा सम्झन्छ्न्,ि ‘खानेकुरा केही थिएन । सिस्नुको खोलेमा हाल्ने पिठो पनि नहुने । यत्ति ठूल्ठूलो गिठा, बेल थुपारेर राख्यो । त्यही खाएर पेट भर्नु पथ्र्यो ।’ उनको मात्र होइन, त्यहाँका सबैको अबस्था उस्तै हो ।

हिमालको फेदीतिर पुगेर निगालो काटेर ल्याउने, डोको, डालो, थुन्से, भकारी, मान्द्रो बुन्ने र धादिङ, गोरखा, तनहूँ, चितवनसम्म पुगेर बेच्ने अनि धान, चामल लगायत अन्न अनाज बोकेर घर फर्कने । यसरी त्यहाँका बासिन्दाको पुस्ता चलेको थियो ।

‘साह्रै दुख पाएर गाउँ छोडेको हो । आम्मै, सम्झँदा नि कहाली लाग्छ त्यो बेलाको दुख’, मेङ्गरा भन्छिन्, ‘पहिले त सिस्नोमा हाल्ने अलिअलि पिठो पनि नपाउने । दिनभरि निमेक गर्न जान्थ्यौँ । मेलामा पेटभरि खाए खायो, नत्र बेलुकी त्यसकै भरमा सुतिन्थ्यो ।’ दिनभर काम गरेबापत साहुले दिएको चार माना कोदो, मकै ज्याला दिन्थे । त्यसकै भरमा परिबार पाल्नु पर्ने ।
भकारी, डालो बेच्न आउँदा चिनजान भएका एकजनाले घडेरी खोलाको खोरिया फाँडेर बस्न सुझाए । यही सुझावले उनी र उनीजस्ता बाँच्न कठिन परेकाहरुको जीवनमा नयाँ मोड ल्याइदियो ।

‘पहिले यहाँ हामी आयौँ । छाप्रो हालेर बस्यौँ । राती नौ बजेसम्म पनि खोरिया फाँडिन्थ्यो । खोरियामा घैया धान रोपियो । केराको बोट रोप्यौँ’, नमिठो बिगत दुहेर कसैलाई सुनाउन पाउँदा खुशी हुदै मेङ्गराले भनिन्, ‘खोरियामा धान नफलुञ्जेल के खाने त ? बेल टिपेर खायौँ । गिठा अघाउञ्जेल खाएर पनि छाक टार्‍यौँ । कहिले कहीँ अलिकति उसिना चामल पकाउँथ्यौँ । एकदम गन्हाउने चामलको भात खाए पनि आज त चामलको भात खान पायौँ भनेर एकदम खुशी हुने ।’ पछि आफ्नै खोरियामा धान झुल्न थाल्यो । केराले घरी हाल्न थाल्यो ।

‘आफ्नै खोरियामा केरा फलेको देख्दा त भैँसी ब्याउँदा जस्तै खुशी लाग्ने’, एकसासमा मेङ्गराले सुनाइन्, ‘घैया धान अलिअलि पाक्न थालेपछि हाँडीमा भुटेर खान थालियो । राम्ररी नपाकेको घैयाधान कुमालको ढिकीमा कुटेर ल्यायौँ । आफ्नै बारीको धानको भात खान पाउँदा हामीले पनि खान पायौँ भनेर एकदम रमायौँ ।’
बिस्तारै उनीहरुले गाईबस्तुहरु पनि पाल्न थाले । यसरी उनीहरुको जीवनले नयाँ रङ, नयाँ रुप लिन थाल्यो ।

२०२८ सालको चैततिर खोरिया फाँडे । एकबर्षभित्र १२, १३ मुरी धान फलाए, मकै फलाए । खोरिया थप्दै गएपछि ३०, ४० मुरी फलाउन थाले । ‘त्यसपछि त गरिबको दिन आयो’, कालीबहादुर भन्छन्, ‘त्यसपछि त्रिशुलीका तामाङहरु आए, धादिङका, नुवाँकोटका तामाङहरु आए । उनीहरु घडेरीखोलामा मात्र बसेनन् । कोही धुवाँकोटको भोर्लेमा, कोही मिरकोटको छरछरे, सातदोबाटे, सुपारेमा, कोही गाईखुरको चिलाउनेपानीमा, कोही खोप्लाङको कोशघारीमा, कोही लामागरामा, कोही हात्तीगौँडामा, देउराली, छोप्राकको जरेबर, छेपेटार, अमलापानीमा बस्न थाले । अहिले पनि ती गाउँमा हाम्रो समुदायको बाक्लो बस्ती छ ।’ २०३६ सालमा नापी आयो । सबैले आ-आफ्ना खोरिया नापे दर्ता गरे । यहाँ आएपछि सबैलाई फापेको अर्का स्थानीय कणर् तामाङको बुझाइ छ ।

अरु ठाउँमा खेती गर्न छाडेर जग्गा बाँझो छ । तर तामाङ समुदायले कृषि पेशा छाडेका छैनन् । अहिले उनीहरु धान उत्पादन गर्छन् । धान बेच्छन्, चामल बेच्छन् । तोरी उत्पादन गर्छन् । तोरी बेच्छन्, तेल बेच्छन् । आलु, काउली, मुला लगायतका तरकारी प्रचुर उत्पादन गर्छन्, बेच्छन् । ‘यहाँका मान्छेको घरमा तीन बर्ष देखिको धान छ’, उनी भन्छन्, ‘अहिलेका मान्छेहरु लोकल भन्दा पनि पालिस लगाएको चामल खोज्छन् । हाम्रो आफ्नै माटोमा फलेको पोषिलो धान बिक्न मुस्किल हुन्छ ।’ धान, आलु, तोरी बाहिर पठाउनु पर्ने उनी बताउँछन् । ‘धान, आलु, तोरी, बनाउँछ बाहिरै पठाउँछ । छोराछोरी बनाउँछन् बाहिरै पठाउँछन्’, उनले हाँस्दै भने, ‘त्यसैले यो ठाउँ फ्याक्ट्री जस्तो मात्रै लाग्छ । उत्पादन गर्दै बाहिर पठाउँदै ।’

यो ठाउँ आफूहरुलाई असाध्यै फापेको कोशघारीका जसबहादुर तामाङको बुझाइ छ । दुख गरेर खानेलाई उपयुक्त वातावरण रहेको उनी बताउँछन् । तर नयाँपुस्ताले यो गाउँ कसरी बन्यो, बुढापाकाले कसरी दुख गरे भन्ने बारे नयाँपुस्ताले चासो नराख्ने गरेको उनी बताउँछन् । ‘पुर्खाले कसरी दुख गरेर यो ठाउँ बनाए भन्ने कसैलाई चासो छैन । मान्छेहरु यो ठाउँ छोड्दै सहरतिर जाँदैछन् । कुनैदिन गाउँ रित्तिन्छ कि भन्ने पीर लाग्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्