| शनिबार, कार्तिक २८, २०८३

घर भएको जग्गा नक्सामा सडक हुँदा आरुघाटबासीले मुआब्जा पएनन्

दराैँदी समाचारदाताः आरुघाट गाउँपालिका साविक आरुचनौटे १ का राजकुमार गुरुङको कित्ता नम्बर ६४४ को जग्गा बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्छ । घर बनाएर बसेको उक्त कित्ताको जग्गाको मुआब्जा लिन आयोजना कार्यालयमा पुग्दा कार्यालयले उक्त जग्गा सडक क्षेत्रभित्र पर्ने बताएपछि उनी चिन्तित छन् । अधिकांशले मुआब्जा रकम बुझेर अन्यत्र घर जग्गा जोडिसके । उनले भने अझै मुआब्जा रकम पनि पाएका छैनन् ।

अर्का स्थानीय कमला दराईको कित्ता नम्बर ११२२ को जग्गामा घर छ तर नक्सामा सडक छ । अहिले भएको संरचना अनुसार सडक र घरको नक्सामा कित्ताकाट नहुँदा आरुघाट बजार क्षेत्रका करिब ४० जना बिस्थापितले मुआब्जा पाएका छैनन् ।

आयोजना कार्यालयले नक्साका आधारमा तत्काल मुआब्जा दिन नसकिने बताउँदै आएको छ । दुई/तीन आना जग्गा भएकाहरुको पुर्जा भएको नक्सामा सडक देखिएपछि एकदेखि डेढ आना जग्गाको मात्रै उनीहरुले मुआब्जा पाउनेछन् । त्यति मुआब्जाले घर भएर आरुघाट बसेकाहरु र अन्य जग्गा जमिन नभएकाहरु सुकुम्बासी हुने निश्चित छ ।

‘मुल बाटो छेउको जग्गाको पनि समस्या छ’ आरुघाट गाउँपालिका अध्यक्ष पूणर्बहादुर दाहालले भने ‘हामीले स्थानीयले मागे अनुसारको सिफारिस दिईरहेका छौँ । त्यसैको आधारमा आयोजना कार्यालयले मुआब्जा फिल्ड अनुसार दिनुपर्छ ।’ मुआब्जा निर्धारण समितिले पुन सर्वेक्षण गर्ने भन्दै प्रशासकीय अधिकृत हर्क रोकाको संयोजकत्वमा समिति निर्माण गरेपनि त्यसयता कुनै निणर्य भएको छैन । जनतालाई उचित मुआब्जा दिएर माग सम्बोधन गर्ने दायित्व राज्यको भएको र त्यसका लागि निरन्तर दबाव दिने उनले बताए ।

आयोजना कार्यालयले नक्सा अनुसार मुआब्जा दिने भएकाले फिल्ड र नक्साको अवस्था फरक रहेको जनाएको छ । ‘अहिले फिल्डको अवस्था अनुसार नापी कार्यालयले नक्सा अद्यावधी गरिदिनुपर्छ, नगर्दासम्म हामीले मुआब्जा दिन सक्ने अवस्था छैन’ आयोजना कार्यालयका प्रमुख कृष्णबहादुर कार्कीले भने । अधिकासंको दुई/तीन आना जग्गामा घर रहेको र नक्सामा हेर्दा उक्त घर रहेको कित्तामा सडक भएको उनले बताए । नापी कार्यालयका निमित्त प्रमुख अमृत पाण्डेले पहिले जग्गा खरिद गर्दा बाटो नकाटेकाले समस्या देखिएको बताए । ‘बूढीगण्डकी आयोजनामा स्थलगत अवस्था सहितको प्रतिवेदन पुगिसकेको छ’ उनले भने । राष्ट्रिय गौरवको रुपमा लिइएको बुढीगण्डकी आयोजनाले चालु वर्ष पाँच अर्व ४३ करोड मुआब्जा बितरण गरिसकेको छ ।

आरुघाट, आर्खेत, धादिङकोखहरे लगायत बजार क्षेत्रको मुआब्जा ढिला गरी तोकिएको हो । अहिले ती ठाउँको जग्गाको मुआब्जा बितरण अन्तिम चरणमा रहेको बतावरण मुआब्जा बितरण पुनर्वास तथा पुनस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताए । जग्गाको मुआब्जा बितरण भएसँगै गोरखा तर्फ आरुघाटमा घरगोठ र बोटबिरुवाको लगत संकलन पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्