| शनिबार, कार्तिक २८, २०८३

दस बर्षअघि सम्झौता भएको पुल निर्माणको काम अझै अलपत्र

दरौँदी समाचारदाताः ठेकेदारले निर्धारित समयभित्र काम नगर्दा गोरखाका दस बर्षअघि सम्झौता गरेकासहित सातवटा पुल अलपत्र अस्थामा छन् ।

२०६८ सालको असारमा सम्झौता गरिएको सोतीखोला पुल अहिलेसम्म जम्मा ७० प्रतिशत मात्र प्रगति भएको गोरखास्थित सडक योजना कार्यालयले जनाएको छ । ‘दुईकरोड ३६ लाखमा सोतीखोला पुल निर्माण गर्न रायमाझी इशान जेभी निर्माण कम्पनीसँग सम्झौता भएको हो’, बारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका इञ्जिनियर राजेश यादवले भने, ‘दुवैतिरको जीप तयार भइसकेको छ, तर स्ल्याब राख्न बाँकी छ ।’ आठबर्षदेखि रोकिएको काम गत बर्षबाट सुरु गरेको र अहिले जीप तयार गरेको इञ्जिनियर यादवले बताए ।

२५ मिटर लामो सो पुल रायमाझी, इशानजेभी कम्पनी करिब तीन करोड रुपियाँमा सो सडकको ठेक्का लिएको कार्यालयको अभिलेखमा छ ।

तिब्बत सीमाना जोड्ने बेनिघाट, आरुघाट, लार्के सडकमा पर्ने सो पुललाई रणनीतिक महत्वको मान्ने गरिन्छ । सोही सडकको अजुवाखोलामा निर्माणाधीन पुलको पनि अहिलेसम्म ४० प्रतिशत मात्र प्रगति भएको छ । कन्काइ गोरखाजेभी आर्थिक बर्ष २०७३/०७४ मा सम्झौता गरेको सोही बर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि अहिलेसम्म काम अघि नबढेको कार्यालयका इञ्जिनियर यादवले जानकारी दिए ।

पप्पुको पुल पाँच बर्षमा १२ प्रतिशत मात्रै प्रगति

पप्पु कन्स्ट्रक्शनले छ बर्षअघि ठेक्का सम्झौता गरेको बुटार पुलको काम जम्मा १२ प्रतिशत मात्र प्रगति भएको छ । २०७१ असार २९ गते ठेक्का सम्झौता भएको सो पुलको जग पनि तयार नभएको सडक योजना कार्यालयले जानकारी दिएको छ ।

‘बिगत बर्षमा जति काम भयो, भयो, यो बर्ष केही पनि काम हुन सकेन’, कार्यालय इञ्जिनियर यादवले भने, ‘त्रिशुलीपारि जीपको १८ मिटर जग खन्ने क्रममा १० मिटर खनेपछि धेरै ठूलो र कडा चट्टान भेटियो । त्यसलाई फुटाउने मेसिन त्यहाँ पुर्‍याउन नसकेर काम हुन नसकेको हो’, उनले भने, ‘सो चट्टान फुटाउन सरकारले पप्पु कन्स्टूक्शनलाई बेलिब्रिज दिने निणर्य गरेको थियो तर कार्यान्वयन हुन सकेन ।’

पप्पुले २०७४ मङ्सीर ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्न १७ करोड ४६ लाख ३३ हजार दुईसय ८६ रुपियाँमा सम्झौता गरेका थिए । ठेकेदार हरिनारायण रौनियारले पेश्कीस्वरुप एक करोड ४९ लाख रुपियाँ भुक्तानी लगिसकेका कार्यालयले जनाएको छ ।

२०७६ सालको असोजभित्र निर्माण सम्पन्न भइसक्नु पर्ने पालुङ्टार नगरपालिकाको बडहरेखोला पुल पनि अलपत्र रहेको कार्यालयले जनाएको छ । ‘गत असोज मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी अधिकारी निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो’, इञ्जिनियर यादवले भने, ‘अहिले ९० प्रतिशत मात्र काम सम्पन्न भएर रोकिएको छ ।’ काम अलपत्र पार्ने सबै ठेकेदारहरुलाई सचेत गराउने काम भइरहेको उनले बताए ।

सोतीखोला पुल र अजुवाखोला पुल संघीय मन्त्रालयअन्तर्गतका हुन् ।

प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय लम्जुङले २०७३ सालमा निर्माण सुरु गरेको १० किलोस्थित दरौंदी खोला पुल अहिलेसम्म अलपत्र नै छ । गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका जोड्ने सो पुल तीनबर्षमा जम्मा ३५ प्रतिशत मात्र प्रगति भएको कार्यालय प्रमुख राम पराजुलीले जानकारी दिए । धनथान एड्भेञ्चर कम्पनी प्रालिले एकातर्फको जग मात्र तयार गरेर राखेको उनले बताए ।

त्यस्तै गोरखा नगरपालिका र शहीदलखन गाउँपालिका जोड्ने लुदीखोला पुलको अबस्था पनि अलपत्र रहेको कार्यालयले जनाएको छ । म्याद सकिँदा पनि पुलको प्रगति भने ७५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत असोजभित्र निर्माण सम्पन्न गर्ने गरी निलगिरी, अधिकारी जेभीले २०७४ सालमा सो पुल निर्माण गर्ने ठेक्का लिएको थियो ।

पालुङ्टार नगरपालिकाको लकामखोला पुल पनि निर्धारित समयसीमाभित्र निर्माण भएको छैन । गत असोजसम्म निर्माण भइसक्नु पर्ने पुल जम्मा ८५ प्रतिशत मात्र तयार भएको कार्यालय प्रमुख पराजुलीले जानकारी दिए । सो पुल निर्माणको ठेक्का पनि अधिकारी निर्माण सेवाले लिएको थियो ।
काम गर्ने भन्दा नेताहरुको अघि पछि लाएर हिड्ने ठेकेदार भएपछि काम कम, सवाफ धेरै हुने गरेको इञ्जिनियर यादव बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्