
बूढीगण्डकी आयोजनाद्वारा चालु वर्ष ५ अर्व ४३ करोड मुआब्जा बितरण, आरुघाटमा घरगोठको लगत संकलन धमाधम हुँदै
दरौँदी समाचारदाताः राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम सुरु गरिएको बूढीगण्डकी जलविद्युत आयोजनाले चालु वर्ष पाँच अर्व ४३ करोड मुआब्जा बितरण गरेको छ । बतावरण मुआब्जा बितरण पुनर्वास तथा पुनस्थापना इकाईका अनुसार गोरखा तर्फ दुई अर्व ६५ करोड र धादीङ तर्फ दुई अर्व ७७ करोड रुपैयाँ बितरण गरिएको हो ।
‘आयोजनाले अधिग्रहण सुरु गरेयता ३१ अर्व ९३ करोड मुआब्जा बितरण गरिसक्यो’ इकाईका प्रमुख कृष्णबहादु काकीले भने ‘करिब ५८ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएपनि सार्वजनिक, सरकारी जग्गाको गर्नु परेन’ सरकारी विद्यालय, संस्थानको जग्गा र भौतिक संरचनाको मुआब्जा भने बितरण नगरेको उनले बताए । गोरखा तर्फ २३ हजार पाँच सय ७५ र धादीङ तर्फ २३ हजार सात सय ५० रोपनी क्षेत्रफलको मुआब्जा आयोजनाले बितरण गरिसकेको छ । आरुघाट, त्रिपुरासुन्दरी, खहरे, आर्खेत बजारक्षेत्रको मुआब्जा ढिला गरि तोकेको आयोजनाले अहिले बितरण गरि रहेको हो । जग्गा अधिग्रहणमा परेकाहरुले धमाधम पुर्जा बुझाउँदै मुआब्जा लिईरहेका छन् । ‘कागजात बिग्रिएका बाहेक सबैको असार मसान्त भित्र मुआब्जा दिने योजनामा छौँ’ आयोजना प्रमुख कार्कीले भने ।
आयोजनाले घरगोठको मुआब्जा बितरण यो वर्ष नगर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ सुरु भएपछि मुआब्जा बितरण गरिने आयोजना प्रमुख कार्कीले बताए । ‘अहिले आरुघाट बजार क्षेत्रको घर गोठको लगत संकलनको काम भईरहेको छ’ उनले भने ‘तीन सय घरधुरीको घरगोठ, बोट बिरुवाको लगत संकलन गरिसक्यौँ, साउन महिना भित्र सकिन्छ ।’ धादीङ तर्फ त्रिपुरासुन्दरी गाउँपालिकाको आरुघाट र खहरे क्षेत्रको भने घरगोठको लगत साउनबाट लिन सुरु गरिने आयोजना प्रमुख कार्कीले बताए । यस अघि आरुघाटका स्थानीयले जग्गाको मुआब्जा निर्धारण नभएको भन्दै घरगोठको लगत संकलन रोकेका थिए । बजार बाहेकका अन्य क्षेत्रमा घरगोठको लगत संकलन सकिएको छ महिना पुग्दा समेत बितरण भने भएको छैन ।
‘घरगोठको हूासकट्टी गर्ने नगर्ने बारे उर्जा मन्त्रालयबाट कुनै निणर्य नआएले यो वर्ष बितरण गर्न सकिएन’ आयोजनाको सिउरेनीटार स्थित इकाईका प्रमुख कार्कीले भने ‘मन्त्रालयले सात अर्व रुपैयाँ खर्च गर्न नसकेपछि आयोजनाको खाताबाट तान्यो ।’
मन्त्रालयबाट कुनै निणर्य नआउँदा घर गोठको मुआब्जा बितरण प्रभावित बनेको छ । अहिले आयोजना कार्यालयमा घरगोठको मुआब्जा छिटो दिन माग गर्दै बिस्थापितहरु दिनहुँ धाउने गर्छन । ‘घरजग्गाको मुआब्जामा असन्तुष्टि जनाएकाहरु लाई घरगोठको ह्रासकट्टी हुँदैन भनेर आश्वासन दियौँ’ आयोजना प्रमुख कार्कीले भने ‘आयोजनाको बिस्तृत प्रतिवेदनमा पनि हूास कट्टी नगर्ने भन्ने थियो, तर अहिले सम्म अर्थ मन्त्रालयबाट निणर्य आएन ।’ बिस्थापितहरुले हूासकट्टी गरेको खण्डमा मुआब्जा नलिने बताउँदै आएका छन् ।
आयोजना कार्यालयले घरगोठ, बोटबिरुवाको लगत लिन जिल्ला आयोजना कार्यन्वयन ईकाई (भबन) कृषि ज्ञान केन्द्र, आयोजनाका कर्मचारी लगायतको टोली बिस्थापितहरुको घरघरमा पठाएको छ ।




