| शनिबार, कार्तिक २८, २०८३

सिसि क्यामेरा

गोरखा प्रवेश गरेदेखि नै सिसिक्यामेराको निग्रानीमा

दरौँदी समाचारदाताः के तपाईँ गोरखा प्रवेश गर्दै हुन ुहुन्छ ? ढुक्क हुनुस्, तनहुँको आँबुखैरेनी हुँदै गोरखा प्रवेश गरेदेखि नै तपाइँलाई सिसि क्यामेराले निगरानी गर्न सुरु गर्नेछ ।
गोरखा नगरपालिकाको सहयोगमा सामुदायिक सेवाकेन्द्रले मझुवा देउरालीदेखि गोरखा बजारसम्म सिसिक्यामेरा मार्फत निगरानी गर्ने व्यवस्था मिलाएको हो । यसअघि गोरखा बजार क्षेत्र आसपासमा मात्रै जोडिएको सिसिक्यामेरा अहिले राजमार्गको मुख्य क्षेत्रमा थप थप गरिएको सामुदायिक सेवाकेन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठले जानकारी दिए ।

‘गोरखा नगरपालिकाको १० लाख र सामुदायिक सेवा केन्द्रको चार लाख ५८ हजार लगानीमा ३७ वटा सिसिक्यामेरा नयाँ जोडिएको छ’ अध्यक्ष श्रेष्ठले भने । गोरखा प्रवेशद्वार मझुवा, बाहूकिलो बजारमा दुई/दुईवटा क्यामेरा जोडिएको छ भने बाँकी वडा नम्बर ५,६,७ र ८ को मुख्य ठाउँमा जडान गरिएको छ । गत वर्ष जडान गरिएको ३७ वटा मध्ये ८ वटा क्यामेरा बिग्रिएको थियो भने २९ वटा चालु थियो । ‘बिग्रिएको आठ वटा बदल्यौँ, नयाँ ३१ गरी अहिले ६० वटा क्यामेर गोरखा नगरपालिका क्षेत्र भित्र जडान गरिएको छ’ अध्यक्ष श्रेष्ठले भने ।

सिसिक्यामेरा जडानमा १४ लाख ५८ हजार रुपैयाँ खर्च लागेको केन्द्रले जनाएको छ । तीन साताभित्र क्यामेराहरु जडान गरिएको थियो । उक्त क्यामेराको निग्रानी जिल्ला प्रहरी कार्यालयबाट हुनेछ । क्यामेरा जडान गर्दा होलिडे केवल नेटवर्कले अबुवादेखि गोरखा बजारसम्म एकोर फाईवर निशुल्क उपलब्ध गराएको सेवा केन्द्रले जनाएको छ । ‘सामुदायिक सेवा केन्द्रको सहकार्यमा नगरपालिकाको मूख्य ठाउँमा सिसिक्यामेरा जडानलाई निरन्तरता दिनेछौँ’ नरप्रमुख राजनराज पन्तले भने । सामुदायिक सेवा केन्द्रले गोरखा नगरपालिका १० छेवेटार, गोरखा सदरमुकामको अस्पतालमार्ग, सतिपिपल, गोरखा क्याम्पस, बराह क्षेत्रमा आउँदो वर्ष क्यामेरा थप गर्ने योजना बनाएको छ ।

बिहिवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रममा बिच सामुदायिक सेवा केन्द्रले सिसि क्यामेरा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले नियमित मर्मत संहारका लागि सहयोग गरिदिन नगरपालिकालाई अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अपराध अनुसन्धानमा सिसि क्यामेराको ठुलो सहयोग हुने बताउँदै उक्त काममा भएको सहयोगको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्