| शनिबार, कार्तिक २८, २०८३

प्रधानमन्त्री रोजगारका कार्यक्रम, ६२ जनालाई रोजगारी, नागेपोखरी जाने सिँढी लगाउँदै अजिरकोट

दरौँदी समाचारदाताः अजिरकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गाउँपालिका भित्रका ६२ जनालाई रोजगारी दिएको छ । जेठ १५ गतेदेखि ६२ जना स्थानीयले अजिरकोट गाउँपालिकामा पर्ने नागेपोखरी जाने पैदलमार्गमा सिँढी लगाईरहेका छन् ।

‘पाँचवटा समुहमा बिभाजन गरेर काम लगाएका छौँ’ फिल्डमा रहेका इन्जिनियर जनक पाण्डेले भने ‘अझै एक साता नागेपोखरी जाने बाटोको काम छ ।’ उक्त बाटो सकेर निम्चेपोखरी जाने पैदलबाटो निर्माणमा खटिनेछन् । नेपाल सरकारले बेरोजगारहरुलाई रोजगारी दिने उद्देश्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम हरेक पालिकामा सञ्चालन गरेको छ । कतिपय ठाउँमा झार उखाल्ने, बडार्ने गरेर बजेट सकेको भन्दै गत वर्ष चर्को आलोचना भएको थियो ।

‘एक दशमलव २० मिटर चौडाई भएको सिँढी बाटो दुई हजार पाँच सय मिटर तयार गर्ने लक्ष्य छ’ इन्जिनियर पाण्डेले भने ‘दुईवटा चौतारो बनाउने र पोखरी सरसफाई पनि गर्छौ ।’ निम्चेपोखरी तर्फ पनि सिँढी लगाउने कार्यक्रम रहेको उनले बताए । काममा खटिएकाहरु फिल्डमा बस्ने र बिहान देखि बेलुकी अबेर सम्म काम गर्ने गरेको उनले बताए ।
अजिरकोट गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले १२ लाख ९० हजार रुपैयाँ निकासा पठाएको छ । ‘हामीले अपेक्षा गरेको भन्दा धेरै काम भएको छ’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवालीले भने ‘उक्त बजेबाट पुगेन भने हामी आन्तरिक ब्यवस्थापन गर्छौँ ।’ अजिरकोट गाउँपालिकामा पर्ने नागेपोखरी पालिकाको प्रमुख पर्यटकिय गन्तब्य मध्येको एक हो । ‘यसको संरक्षण, प्रचार प्रसारका लागि हामीले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट पैदलमार्ग बनाएका हौँ’ गाउँपालिका अध्यक्ष फडिन्द्र धितालले भने ‘आउँदो वर्षको बजेटमा हामी नागेपोखरीको संरक्षमा विषेश ध्यान दिनेछौँ ।’ पर्यटन पूर्वधार निर्माणलाई गाउँपालिकाले आर्थिक वर्षको २०७७÷७८ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटेको गाउँपालिकाले जनाएको छ । दुधपोखरी, निम्चेपोखरी, नागेपोखरी लगायतको धार्मीक कुण्ड अजिरकोट गाउँपालिकाले संभावित पर्यटकिय गन्तब्य हुन् ।

अजिरकोटको कार्यपालिका बैठक नागेपोखरीमा अजिरकोट गाउँ कार्यपालिकाको बैठक असार १ गते नागेपोखरीमा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र भच्चेकबाट करिब छ घण्टाको पैदलदुरीमा रहेको नागेपोखरीमा बैठक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवालीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत भईरहेको कामको अवलोकन गर्न र त्यहाँको पर्यटकिय संभाब्यता अध्ययनका लागि कार्यपालिकाको बैठक गरिएको अधिकृत ज्ञवालीले बताए । बैठकले नागेपोखरीको एकिकृत योजना निर्माण, त्यस क्षेत्रमा पाईने डाँफे मुनालको संरक्षण, बन्यजन्तु संरक्षण र हाई अल्टिच्युड गल्फ कोर्सको अध्ययन गर्ने निर्णय गरेको छ । बैठकमा एक जना सदस्य बाहेक सबै उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्