| शनिबार, कार्तिक २८, २०८३

छ महिनाअघि बनेको सरकारी भबन अझै हस्तान्तरण भएन

दरौँदी समाचारदाताः गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिना अघि निर्माण सम्पन्न भएको एक सरकारी भबन अझै हस्तान्तरण हुन सकेको छैन । तीन करोड ६६ लाख रुपैयाँ लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भबनले निर्माण गरेको उक्त भबन प्रयोगमा नआउँदा भबनका संरचनाहरु थोत्रिन थालेको छ । पातपतिङ्गरको थुप्रो लाग्ने, वर्षातको पानीको निकास थुनिँदा कोठाभित्र ताल पर्ने गरेको छ ।
‘भूसंरक्षण कार्यालयका लागि बनाएका थियौँ, भबन निर्माण पूरा नहुँदै उक्त कार्यालय खारेज भएपछि कुन कार्यालयलाई भबन हस्तान्तरण गर्ने भन्ने अन्यौल भयो’, जिल्ला आयोजना कार्यन्वयन ईकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘निर्माण सम्पन्न भएको छ महिना बितिसक्दा भबन प्रयोगबिहिन छ । हस्तान्तरण समेत भएको छैन ।’

कोरोना भाईरसको जोखिम बढ्दै जाँदा गोरखामा २४ जना संक्रमित भेटिएका छन् । भारत लगायत अन्य जिल्लाबाट आएकाहरु क्वारेन्टिनमा छन् । उनीहरुको रिपोर्ट आउन अझै बाँकी छ । गोरखा अस्पतालमा रहेको आईसोलेसन भरिएको छ । नयाँ आईसोलेसन बनाउने ठाउँको खोजीमा स्थानीय तहका प्रमुखहरु, जिल्ला सुरक्षा निकायका प्रमुखहरु स्थान खोजिरहेका छन् । गोरखा सदरमुकामको गोरखा क्याम्पसमा आईसोलेसन निर्माण सुरु भएको छ । आइसोलेशनका लागि उपयुक्त मानिएको सुविधा सम्पन्न सरकारी भबन भने प्रयोगबिहिन छ ।

भु(संरक्षण कार्यालयको नाममा रहेको १० रोपनी क्षेत्रफलमा तीन तले सुविधा सम्पन्न भुकम्प प्रतिरोधी भबन रबिना, डाँफे, डूयागन जेभीले निर्माण गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उक्त भबनमा प्रहरी क्वारेन्टिनमा बस्ने निर्णय भएको बताए । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी बासुदेव खतिवडाले अहिलेसम्म त्यहाँ प्रहरी नबसेको आवश्यक परेका बेला बस्ने बारे छलफल भने भएको बताए ।

भबन कार्यालयकी प्रमुख श्रेष्ठले उक्त भबन भू(तथा जलाधार ब्यवस्थापन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको बताइन् । ‘जग्गाको पुर्जा र भबन पनि सोही कार्यालयको नाममा बनेको हो, भबन बिभागबाट कुनै जानकारी आएको छैन, केही दिन भित्र आउने कुरा छ, त्यसपछि हामी पुर्जा भएको कार्यालयलाई हस्तान्तरण गर्छौँ’, उनले भनिन् ।

तनहुँ स्थित जलाधार ब्यवस्थापन कार्यालयले उक्त भबन सम्पर्क कार्यालयको रुपमा आफैँले प्रयोग गर्ने बताएपनि अन्यौलका बिच कार्यालय सञ्चालन भने भएको छैन । कार्यालय प्रमुख बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिबाकर पौडेलले भने, ‘भुकम्पमा जमिन छियाछिया भएको जिल्ला भएकाले यहाँ ‘साईड अफिस’ संचालन गर्ने योजनामा छौँ ।’ अहिले उक्त कार्यालयले तनहुँबाट गोरखा सहित नवलपुर, मनाङ, कास्की, लमजुङमा सेवा दिँदै आएको छ । गोरखामा सम्पर्क कार्यालय राख्दा यहाँका सर्वसाधारणले निवेदन संकलन र तत्काल राहत लिन सक्ने बताउँदै उनले आफ्नो स्वामित्वमा रहेको कार्यालय भबन तत्काल अन्य कार्यालयलाई दिने कुनै योजना नरहेको बताए ।

मुख्यमन्त्री कार्यालयले पनि जलाधार ब्यवस्थापन कार्यालयलाई ‘उक्त भबन प्रयोग गर्न दिनू’ भन्ने परिपत्र गरिसकेको उनले बताए । ‘राष्टिूय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन ईकाईले अनुमति दिन बाँकी छ’, कार्यालय प्रमुख पौडेलले भने ‘लमजुङ र गोरखा हेर्ने गरी त्यहाँ कार्यालय रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्