| शनिबार, कार्तिक २८, २०८३

ल्होको भञ्जममा पर्खाल लगाएर बाटो अबरोध

दरौँदी समाचारदाताः चुमनुब्री गाउँपालिका २ ल्हो प्रवेश गर्ने भञ्जम भन्ने ठाउँमा पर्खाल लगाएर बाटो अबरोध गरिएको छ । वडा नं. २ का स्थानीयबासीले गत तीनदिनदेखि मूलबाटोमा पर्खाल लगाएर अबरोध गरेका हुन् ।

प्रहरी हिरासतमा रहेका एकजनामा कोरोना पोजेटिभ देखिएको र उनीसंगै हिरासतमा केरौँजाका एकजना पनि बसेकाले उनको रिपोर्ट नआउञ्जेल बाटो अबरुद्ध गरिएको वडाअध्यक्ष पेम्बा रेता लामाले जानकारी दिए । ‘गाउँलेले स्वतस्फूर्त रुपमा पर्खाल लगाएका हुन् । मेरो सहमति छैन’, उनले भने, ‘छिमेकी वडाका बासिन्दा एकाथरी कुरा गर्छन्, आफ्नो वडाका बासिन्दा अर्काथरी कुरा गर्छन् । मेरो आग्रह कोही मान्दैनन् । म दोहोरो चपेटामा परेँ ।’ गाउँमा खच्चड आएपछि गाउँका मान्छे डराएर ‘रातो’ हुने गरेको उनी बताउँछन् । ‘गाउँले डराएको देखेर माया पनि लाग्छ । तर कहीँपनि बाटो अबरोध छैन । हाम्रोमा मात्रै अबरोध गर्नुहुदैन भन्यो भने कोही पनि मान्दैनन्’, उनले भने ।

बाटो अबरुद्ध भएपछि ल्हो तथा त्यो भन्दा माथि जाने सामानहरु आफ्नो क्षेत्रमा अलपत्र छाडिएको भन्दै वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले चिन्ता व्यक्त गरे । ‘कि नुब्रीतिर खच्चड आउन नदिउँ भनेर सबैले सल्लाह गरेर ड्याङमै पर्खाल लगाइदिउँ । होइन भने, कहीँ, खुलाउने, कहिँ बन्द गर्दा मिल्दैन’, उनले भने ।

बाटो अबरुद्ध गर्न नपाउने भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समझदारी गरेर बाटो खुलाउने बताए । ‘गाउँपालिकाका प्रमुखसँग समन्वय गरी बाटो खुलाउने वातावरण बनाउँछु’, प्रजिअ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्