| शनिबार, कार्तिक २८, २०८३

सरोज तामाङ ८० दिनदेखि क्वारेण्टिनमा

शिव उप्रेतीः ८० दिनको क्वारेण्टिनबासपछि अजीरकोट गाउँपालिका ३ सिरानडाँडाका सरोज तामाङ घर पुगेका छन् । बिभिन्न पाँच ठाउँको क्वारेण्टिन अवधि पार गरी गत शुक्रबार घर पुगेका उनी अझै सात दिनका लागि होम क्वारेण्टिनमै रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए ।

‘उहाँसहित क्वारेण्टिनका नौ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाइयो’, दवाडीले भने, ‘अहिले उहाँ सातदिनका लागि क्वारेण्टिनमै हुनुहुन्छ ।’

वनारसबाट घर फर्कने क्रममा उनी सीमापारि ४२ दिन र नेपालका विभिन्न क्वारेन्टाइनमा गरी ३८ दिन बिताएको तामाङ बताउँछन् । ‘मृत्यूको मुखबाट बाँचेर आएँ जस्तो लागेको छ’, उनले भने, ‘अझै होमक्वारेण्टिनमै छु । भारतबाट आएको भनेर छिमेकीले राम्रो नजरले हेरेका छैनन् ।’ कोरोनाका कारण मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण पनि नराम्रो हुने उनले बताए । ‘तपाईँ हामीले पो बुझेका छौँ तर गाउँमा बुझ्दैनन् । हामीलाई हेप्छन्’, तामाङले भने ।

तामाङको अनुभवमा ४२ दिन बिताएको वनारसको क्वारेण्टिन उत्तम थियो । ‘क्वारेण्टिनको व्यवस्था सबैभन्दा राम्रो बनारसमा थियो । टिभी हेर्न पाइन्थ्यो । होटलमा भन्दा पनि राम्रो खाना र बस्ने व्यवस्था थियो’, उनले भने, ‘हाम्रो अजीरकोटको पनि ठिकठिकै हो तर कपिलबस्तु र रुपन्देहीको क्वारेण्टिनचाहिँ रोग सार्ने थलो हो भन्छु म । एउटै कोठामा २० जना हुन्छन् । बिस्तारा नि नहुने, भौतिक दुरी पनि नहुने । आफू चोखै आएको रहेछु भने पनि क्वारेण्टिनमै रोग सर्न सर्ने डर । खाना पनि धेरै नराम्रो हुने रहेछ त्यहाँ ।’

कोरोना महामारी फैलन थालेपछि घर हिडेका उनी वनारसको दुईवटा क्वारेण्टिनमा ४२ दिन बिताएका थिए । सुनौली नाकामा दुई दिन, कपिलवस्तुको नमुना माविको क्वारेन्टाइनमा पाँच दिन, रुपन्देहीको क्वारेन्टाइनमा पाँच दिन बिताएका थिए । त्यस्तै गोरखा आइसकेपछि मनकामना बहिरा माविको क्वारेण्टाइनमा पाँचदिन बसेका तामाङ अहिले अजीरकोटको क्वारेण्टिनमा १८ दिन पूरा गरी होम क्वारेण्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्