
जनता बचाउने कार्यक्रमलाई पहिलो प्राथमिकता दिऔं : सांसद दवाडी
गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सरकारको पहिलो काम जनतालाई बचाउनु भएकाले आउँदो आर्थिक बर्षको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता कोरोना नियन्त्रणलाई दिनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमको बारेमा सोमबार संसदमा बोल्दै सांसद दवाडीले जनता बचाउने र कोरोनाका कारण क्षतविक्षत भएको प्रदेशबासीको अर्थतन्त्र बचाउने काम गर्नुपर्ने तर्क गरे । ‘जनता बचे भने नै नेताले राजनीति गर्ने हो । जनता रहे भने नै नेतालाई चुनावमा भोट हाल्ने हो । जनतै नभए हामी संसदको साठी जना बाँकी रहेर राजनीति हुदैन’, उनले भने, ‘तसर्थ कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न आवश्यक नीति तथा कार्यक्रम बनाउन म आग्रह गर्दछु ।’
कोभिड १९ का कारण अप्ठेरोमा परेका विश्वभर छरिएका ८० लाख नेपालीलाई उद्धार गर्न सम्भव नभए पनि भारत तथा खाडी मुलुकमा अलपत्र परेका प्रदेशबासीलाई उद्धार गरी ल्याउने कार्यक्रम बनाउन उनले आग्रह गरे ।
त्यस्तै प्रदेशभरिका सबै स्वास्थ्य संस्था, क्वारेण्टाइन, आइसोलेशनलाई सुविधासम्पन्न बनाउने खालको नीति तथा कार्यक्रम हुनपर्ने उनको सुझाव थियो ।
सँधै एक घर एक धारा भन्ने, काठेपोल विस्थापित गर्ने भन्ने, अप्ठेरोमा परेका सुत्केरीलाई एयरलिफ्ट सेवा दिन्छु भन्ने तर कार्यान्वयन चरण फितलो भएको उनको टिप्पणी थियो । मीठामीठा ललिपप देखाएर जनतासामु झुटो नबोल्न उनले सुझाव दिए ।
गोरखकाली रबर उद्योग, भृकुटी कागज उद्योग लगायतका धरासायी उद्योगधन्दा चलाउने प्रयास नभएको भन्दै उनले सरकारले दिन काट्ने काल पर्खने काम मात्र गरेको आरोप लगाए । हरेक बर्ष एउटै र उस्तै कार्यक्रम ल्याउने मिडियामा हल्ला गर्ने तथा कार्यान्वयनचाहिँ नगर्ने गरिएको भन्दै उनले बिगत बर्षको कार्यक्रमको प्रगति समीक्षा गरेर नयाँ कार्यक्रम ल्याउन आग्रह गरे ।




