
भारतबाट गोरखा आइपुगे एकसय एक जना
गत बैशाख २५ गतेदेखि बिहिबारसम्म गोरखामा भारतबाट एकसय एकजना आइपुगेका छन् । रोजगारीका लागि भारतका बिभिन्न सहरमा पुगेकाहरुमध्य पूर्व मेचीनाकादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकी नाकाबाट एकसय एकजना गोरखा भित्रिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयको अभिलेख अनुसार गोरखा नगरपालिकामा अहिलेसम्म गोरखा नगरपालिकाका पाँच जना, पालुङ्टार नगरपालिकाका २० जना गोरखा आइपुगेका छन् । त्यस्तै सिरानचोक गाउँपालिकाका सात जना, अजीरकोट गाउँपालिकाका पाँचजना, बारपाक सुलीकोट गाउँपालिकाका १६ जना भित्रिएका प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै धार्चे गाउँपालिकाका ११ जना, आरुघाट गाउँपालिकाका १४ जना र भीमसेनथापा गाउँपालिकाका आठ जना जिल्ला भित्रिएका छन् । त्यस्तै शहीदलखन गाउँपालिकाका तीनजना र गण्डकी गाउँपालिकामा छ जना भित्रिएका प्रशासन कार्यालयले जनाएको छ ।
उनीहरुलाई सम्बन्धित पालिकाले क्वारेण्टाइनमा राखी एकसातापछि पिसिआर परीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । पिसिआर नेगेटिभ आएमा १४ दिनपछि होमक्वारेण्टाइनमा रहने सर्तमा घर पठाइने उनले बताए ।
हालसम्म सबै देशबाट गरी पाँचसय १८ जना आइसकेका र तेस्रो मुलुकबाट समेत आउने तयारीमा रहेका प्रजिअ पौडेलले बताए ।
बाहिरदेशबाट आउन चाहनेलाई समन्वय गरी ल्याउनका लागि अभिलेख तयार गर्न सबै पालिकालाई अनुरोध गरेको उनले बताए ।




