| शनिबार, कार्तिक २८, २०८३

धार्चेमा विकास निर्माणको काम धमाधम सञ्चालन

 

धार्चे गाउँपालिकामा विकास निर्माणको काम धमाधम सञ्चालन भइरहेको छ । गाउँपालिका तथा बिभिन्न सरकारी गैरसरकारी संघसँस्थाको कार्यक्रम अन्तर्गतको विकास निर्माणको काम सञ्चालन गरिएको पालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

‘जिल्लास्तरीय कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना विपद व्यवस्थापन केन्द्रले कायम गरेको सामाजिक दुरीलगायत स्वास्थ्यसम्बन्धी मापदण्डभित्र रही विकास निर्माणको कामलाई सुचारु गरेका छौं’, अध्यक्ष गुरुङले भने, ‘तर अब इन्धन तथा निर्माण सामग्री सिद्धियो भने कसरी कामलाई निरन्तरता दिने भन्ने चिन्ता छ ।’


अहिले वडा नं. १ दोभानदेखि वडा नं. ३ को उहिया जाने सडक निर्माणको काम भइरहेको छ । त्यस्तै वडा नं. २ केरौँजा गाउँलाई पहिरोबाट जोगाउन टेवा पर्खाल लगाउने काम र काशिगाउँ र केरौजा गाउँ जोड्ने सडक निर्माणको काम सञ्चालन भइरहेको छ ।

वडा नं. ४ को मणिकामदेवी माविमा भवन निर्माणको काम, एनआरएन भिलेजमा टेवा पर्खाल लगाउने काम पनि धमाधम भइरहेको छ । वडा नं. ४ को लाप्राक गाउँ र वडा नं. ५ को सिङ्ला गाउँ जोड्ने सडक निर्माणको काम र माछाखोलामा हाइड्रोपावरको काम पनि भइरहेको छ । वडा नं. ५ कै गुम्दाको सूर्योदय माविको भवन निर्माणको काम, महिला समूहको बहुउद्धेश्यीय भवन निर्माणको काम पनि धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।


वडा नं. ६ काशिगाउँमा सभाहल र खानेपानी योजनाको काम पनि निर्बाध सञ्चालन भइरहेको छ । वडा नं. ७ लापुगाउँबाट लापुबेशी जोड्ने सडक तथा खानेपानी योजनाको काम पनि धमाधम भइरहेको छ ।

बेनिघाट आरुघाट लार्के सडक निर्माण तथा स्तरोन्नतीको काम पनि सेनाले निर्वाध सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।

‘कामदार बाहिरका कोही छैनन् । सबै स्थानीय नै हुन् । उनीहरुको नियमित स्वास्थ्य परीक्षण हुन्छ’, अध्यक्ष गुरुङले भने, ‘काम त सुचारु छ तर अब निर्माण सामग्री सकियो र इन्धन सकियो भने कसरी ल्याउने भन्नेचाहिँ चिन्ताको बिषय छ ।’ अनुगमनका लागि इपास लगायतको समस्या पनि आउने गरेको उनले बताए ।


जिल्ला स्तरीय कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना विपद व्यवस्थापन केन्द्रको संयुक्त बैठकले पनि खाद्यान्न तथा निर्माण सामग्री ढुवानी रोक्ने तर सञ्चालन भइरहेको विकास निर्माणको काम नरोक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्