| शनिबार, कार्तिक २८, २०८३

उदयपुरका दुई जना रातारात भित्रिएपछि गोरखा आरुघाटका बासिन्दा त्रसित

कोरोना संक्रमणका दृष्टिले ‘रेडजोन’ मानिएको उदयपुर कटारीका दुई जना गाउँमा आएपछि आरुघाटका बासिन्दा त्रसित भएका छन् ।

आरुघाट गाउँपालिका २ कटुञ्जे माइतीघर आएका उदयपुर कटारीकी सीतामाया गुरुङको दम्पत्तिलाई प्रहरीले भीमोदय माविको क्वारेण्टाइनमा राखेको वडाअध्यक्ष सोमप्रसाद घलेले जानकारी दिए ।

उनीहरुको स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाइएको आरुघाट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । उनीहरु दुवैजनाको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ ।

एम्बुलेन्स चढेर बुधबार बिहान १० बजे आर्खेत आइपुगेका उनीहरुलाई आर्खेत प्रहरी चौकीका प्रहरीले गाउँ जान रोकेको थियो ।

टेलिफोनमार्फत बुबाआमालाई आर्खेतमै बोलाएर भेटघाट गरेपछि प्रहरीले सोही एम्बुलेन्स मार्फत उदयपुर पठाएको थियो ।

तर एम्बुलेन्स आरुघाट कटेर विशालनगर पुगेपछि उनीहरुले एम्बुलेन्सलाई फिर्ता पठाएर हिडेर कटुञ्जेतर्फ जाँदै गर्दा स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीम बुझाएका थिए ।

‘धादिङको गंगाजमुना गाउँपालिका ६ का बासिन्दाले उदयपुरका मान्छे आएको जानकारी गराएपछि हामीले प्रहरीको सहायताबाट नियन्त्रणमा लिएर राती १२ बजे भीमोदय माविको क्वारेण्टाइनमा राखेका छौं’, वडाअध्यक्ष घलेले भने, ‘उनीहरुसंग भेटघाट गरेकाले बुबाआमालाई पनि त्यही क्वारेण्टाइनमा राखिएको छ ।’ गुरुङ दम्पत्तिले पेट तथा नशाको बेथाबाट बिरामी भएकाले झारफुक गर्न माइतीगाउँ आएको दाबी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्