| शनिबार, कार्तिक २८, २०८३

गोरखामा घैयाधान लोप हुने अबस्थामा

शिव उप्रेती :

गण्डकी गाउँपालिका ७ छतिवनगैराका श्यामबहादुर चेपाङलाई उनका बुबाले चुवाटारका जिम्मावालको घरमा बाँधा राखे ।

बाँधा बसेबापत उनका बुबाले जिम्मावालसंग बर्षको तीनसय रुपैयाँ लिन्थे । त्यसबाट संकलन भएको बाह्रसय रुपैयाँले उनका बुबाले जिम्मावालसंग ऐलानी पखेरा किने । त्यो जग्गा अहिलेसम्म पनि दर्ता भएको छैन ।

‘त्यो पखेरामा मैले सँधै घैया छर्दै आएको थिएँ । त्यहीँबाट चामलको मुख देख्न पाइन्थ्यो’, चेपाङ भन्छन्, ‘तर अहिले म बुढो भएँ । छोरानातिले दुख गर्दैनन् । खै घैया धान ?’ घैयाको भात त परको कुरा कुनै पाखापखेरामा घैयाको मुख देख्न नपाएको उनी बताउँछन् ।
पाँचबर्ष अघिदेखि किसानहरुले घैयाधान छर्न छाडेका गाउँलेहरु बताउँछन् ।

पालुङटार नगरपालिका वडा नं. ९ सिस्नेरी गाउँका पितमबहादुर राना मगर काम सम्हाल्न सक्ने उमेरदेखि घैया धान छर्थे । नम्बरी पालोमा धान गोडेर हुर्किए । तर अहिले उनको बारीमा घैया धान छैन ।

‘मेरो मात्र होइन, अहिले गाउँमा कसैले पनि घैया धान छरेका छैनन्’, उनी भन्छन्, ‘धेरैजसो बारी बाँझा छन् । कसैले अलिअलि खेती गरे भने मकै रोप्छन् तर घैया धान छर्न छोडे ।’ अरु बालीलाई भन्दा धेरै दुख गर्नु पर्ने भएकाले घैया धान छर्न छाडेको उनले बताए ।

गाउँका युवाहरु वैदेशिक रोजगारीमा गएका, भएकाहरु पनि मकै तथा अन्य नगदे बालीतिर आकर्षित भएकाले घैयाधान लोप हुने अबस्थामा पुगेको गाउँलेको भनाइ छ । ‘काम गर्न सक्ने केटाहरु धेरैजसो बाहिर(बिदेश) गएका छन् । छोराछोरी पढाउन भनेर उनको परिबार बजारमा डेरा गरेर बसेका छन्’, उनी भन्छन्, ‘सबै बेसाएर खाने भए, गाउँको लोकल धान हरायो ।’

स्वदेशमै बस्नेहरु पनि पैसा कमाउने काममा लागेका र त्यही पैसाले किनेर खाने गर्दा धान छरेर खाने मान्छे नभएका अर्का स्थानीय भीमलाल चेपाङ बताउँछन् । ‘बाउ बाजेको पालामा गरे होलान् । अहिले दुख धेरै, आम्दानी थोरै भयो भनेर खेती गर्नै छोडे । बरु तरकारी खेती, कुखुरा पालनतिर पल्केका छन् ।’


तीनबर्षअघिसम्म जिल्लामा दुईसय हेक्टर जमिनमा घैया धान भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । ‘तीनबर्षयताको रेकर्ड भेटिएन । त्योभन्दा अघि जिल्लाभर दुईसय हेक्टरमा घैया उत्पादन भएको पाइयो’, केन्द्र प्रमुख मनिता थापा भन्छिन्, ‘अहिलेका किसानहरु हाइब्रिड(उन्नत) धानतिर लागेका छन् । जिल्लामा हुदै नभएको त भन्न सकिन्न । तर कतैकतै छ ।’ छिटो पल्ने, धेरै फल्ने उन्नत जातको धानको आकर्षणले रैथाने धान लोप हुनु चिन्ताको बिषय भएको उनको भनाइ छ ।

घैयाधान हाम्रो गाउँघरको पहिचान भएकाले यसको संरक्षण गर्नुपर्ने कृषि ज्ञानकेन्द्रकी प्रमुख थापा बताउँछिन् । ‘रैथाने खेती प्रवद्र्धन गर्ने कार्यक्रम लागु भएको छ । लट्टे, फापर, कोदो, चिनो, काउनो खेतीको कार्यक्रम गरेका छौं, तर अब घैया धानको पनि प्रवद्र्धन गर्नुपर्ने भयो’, उनी भन्छिन्, ‘रैथाने जातको धानमा कम प्रकोप लाग्ने, कम क्षति हुने, बिउका लागि पनि बर्षेनी एग्रोभेट चाहर्नु नपर्ने र लोकल ‘टेस्ट’ हुने भएकाले यसको जगेर्ना गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्