
अत्यावश्यकीय सामान ढुवानी गर्न जिल्ला प्रशासनको पास नचाहिने, अन्य बिभिन्न पसल पनि खुल्ला गर्ने निर्णय
विकास आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने साधन बिना पास सञ्चालन गर्ने निर्णय भएको छ ।
जिल्ला स्तरीय कमाण्डपोष्ट, सुरक्षा समिति तथा कोरोना विपद व्यवस्थापन केन्द्रको बैठकले स्थानीय पालिकाको सिफारिसमा तुल ब्यानर टाँसी जिल्लाभर निर्बाध सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘औषधी, खाद्य सामग्री, स्वास्थ्य सामग्री, कृषि सामग्री, मल, बिउबिजन, एग्रोभेट, पशुजन्य बस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने उद्योग तथा पसलहरुलाई जिल्लाका सबै क्षेत्रमा निर्बाध रुपमा सञ्चालनको व्यवस्था मिलाउने निर्णय भएको छ’, बैठकको निर्णय पुस्तिकामा उल्लेख गरिएको छ, ‘उक्त मालबस्तु ढुवानी गर्ने सवारी साधनलाई उद्योग, पसल, संस्था, फर्मको दर्ता प्रमाणपत्र, सवारी साधनका कागजात, सम्बन्धित पालिकाको सिफारिसको आधारमा सञ्चलन गर्न दिने निर्णय भएको छ ।’
कुन सामान ढुवानी गरिएको हो भन्ने बारेमा तुल ब्यानरमा लेख्नु पर्ने र सवारी साधनमा चालक र सहचालक मात्र रहनु पर्ने पनि निर्णय गरिएको छ ।
त्यस्तैगरी विकास आयोजनामा प्रयोग हुने उपकरण, निर्माण सामग्री(ढुंगा, गिटी, बालुवा, रड, सिमेण्ट, बोर्ड, पाइप, फिटिङ्स)का सामग्रीका पसल निर्बाध रुपमा सञ्चालन गर्ने, गराउने व्यबस्था मिलाउने पनि निर्णय भएको छ । त्यस्ता पसलमा आवश्यक सामग्री ढुवानी गर्न निर्वाध रुपमा सवारी साधन चलाउन अनुमति दिने पनि निर्णय गरेको छ । त्यस्ता सामान ओसारपसार गर्नका लागि सवारी साधनले सम्बन्धित पालिका, सम्बन्धित आयोजनाको सिफारिस संलग्न राखी ढुवानी गर्नुुपर्ने पनि ब्यबस्था गरिएको छ ।
त्यस्तै बैठकले जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई निर्बाध सञ्चालन गर्न दिने, त्यस्ता पसललाई आवश्यक पाठ्युपुस्तक ढुवानी गर्ने साधनलाई पासको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।
बैठकले कोरोना संक्रमित जिल्लाबाट कामदार ल्याउन नदिने पनि निर्णय गरेको छ । संक्रमण नभएको जिल्लाबाट कामदार ल्याउनका लागि पनि अनिबार्य रुपमा स्वाव परीक्षण गर्नुपर्ने, दैनिक स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने, कार्यस्थलबाट बाहिर जान नपाउने लगायतका बाध्यकारी निर्णय गरेको छ ।




