
गोरखाका चेपाङ राहतबाट बञ्चित, बन्दाबन्दीले चुल्हो नबल्ने अबस्थामा
गण्डकी गाउँपालिका ७ छतिवनगैराका भवानीसी चेपाङ काममा जान नपाएको बिहिबारसम्म ठ्याक्कै ४५ दिन पुग्यो । अझै १० दिन उनले काम नपाउने निश्चित भएको छ । दिनहूँ ज्याला मजदुरी गरेर हात पारेको कमाइले साँझ बिहान छाक टार्ने उनको चुल्हो बल्न अहिले मुस्किल छ ।
‘आधा पोका नून र एक गिलाँस तेल तल्लो घरबाट पैँचो ल्याएको छु’, उनकी पत्नी यममाया भन्छिन्, ‘मल बोक्न, मकै गोड्न मलाई पनि बोलाऊ है भनेको बाहुनले पाँच जना भन्दा बढि नलाने भन्यो ।’ घरमा न पैसा, न खानेकुरा रहेको उनले बताइन् ।
काम गरेर खान्छु भन्दा पनि नपाएको भवानीसीको दुखेसो छ । ‘जोत्न सक्छु । खन्न सक्छु । ढुंगा उचाल्न सक्छु’, उनी भन्छन्, ‘मान्छे धेरै फाल्टु छन् । काम थोरै छ । काममा बोलाओ भन्दा पनि कसैले बोलाउँदैनन् ।’ आउने बाटो नहुँदा चारबैनी छोरी, दुई भाइ छोराको हातमुख जोड्न पनि मुस्किल परेको उनी बताउँछन् । ‘ढिडो खाँदाखाँदा नि हैरान भइयो । छोराछोरी सेतो भात खान मन लागेको छ भन्छन् तर खै ?’, उनले दुख सुनाए ‘आफ्नो खोरियाडालोमा ३०, ४० भारी मकै आउँछ । सरासर खायो भने तीन महिनालाई धान्छ । बाँकी सबै ज्यालामजुरीले चलाउने हो ।’

तातोपानी मात्र खाएर छाकटार्नु पर्ने अबस्थामा पुगेको अर्की स्थानीय श्रीमाया चेपाङ बताउँछिन् । ‘अस्तिनै छाकै बस्ला भइसकेको थियो । छोराले कहाँबाट पाँच सय रुपैयाँको चामल ल्याएछ र अहिलेसम्म धानिराछ । अल्लिखेरमा हामी भोकै बस्ने दिन आइसकेको छ’, उनी भन्छिन्, ‘कमाउन जान पनि पाउँदैन । तरकारी पनि बिक्दैन । साह्रै गाह्रो भएको छ ।’ पहिले प्रतिकिलो ७०, ८० रुपैयाँमा बिक्ने तरकारी अहिले ११, १२ रुपैयाँमा पनि बिक्न छाडेको उनको गुनासो छ । ‘काम गरेर साँझ बिहानको छाक टारेको थियो, तरकारी बेचेर भुराभुरी पढाएको थियो’, उनले भनिन्, ‘अहिले त तरकारी बेचेको पैसाले भात खान पनि पुग्दैन । कसरी ब्यबहार चलाउने हो ।’ एकरोपनी तीन आना जग्गाको उब्जनीले एक दुई महिनालाई पनि नपुग्ने उनको गुनासो छ ।
जोत्न जान पाए बिहानको तीनसय, दिउसोको तीनसय रुपैयाँ आम्दानी हुने अर्का स्थानीय अन्तबहादुर चेपाङ बताउँछन् । ‘भर्खर मकै रोपेको छ । साउन, भदौ नभै अहिले मकै पाक्दैन । अब कसौँडीमा पानी मात्र तताउने हो, हामीसंग केही छैन ।’ अब गिठाभ्याकुर, तिगुना र टाँकीको मुण्टाले छाक टार्नु पर्ने अबस्था आएको उनले बताए ।

चेपाङगाउँमा राहत वितरण नभएको अर्का स्थानीय भीमलाल चेपाङले बताए । ‘अरु गाउँमा त राहत बाँडेको छ रे भन्ने सुनेको मात्र हो, यहाँ राहत बाँड्न आएका छैनन्’ उनले भने, ‘राहत आउँछ रे भनेर सबै लोभिएका थिए । तर अहिले बाँडिसक्यो रे यहाँ त नआउने रे भन्ने हल्ला पो सुन्यो ।’
चेपाङ गाउँमा राहत बितरण नभएको वडा अध्यक्ष तुलसी रेग्मी स्वीकार गर्छन् । थोरै बजेटले खरिद गरेको राहत सामग्री चेपाङ गाउँमा नपुग्दै सिद्धिएको उनले बताए । ‘प्रत्येक वडाहरुमा एकेक लाखको राहत कार्यक्रम ल्यायौँ’, अध्यक्ष रेग्मीले भने, ‘५० बोरा चामल ल्याएका थियौँ । हामीले ७४ जनालाई मात्र बाँड्न सक्यौं । त्यो भन्दा धेरै बाँड्न सकेनौं । चेपाङ सीमान्तकृत भएर पनि, असहाय भएर पनि गरिब भएर पनि राहत पाउन सकेका छैनन् । हामीलाई समेत अप्ठ्यारोे परेको छ ।’ गरिब चेपाङको हातमा राहत पार्न नसक्दा दुख लागेको उनले बताए ।




