
देशकै नमुना च्याङ्लीको गाई फार्ममा दैनिक ४०० लिटर दुध उत्पादन घट्यो
पालुङटार नगरपालिका–७ च्याङली स्थित कामधेनु गाईपालन केन्द्रमा लकडाउनका कारण दैनिक ४ सय लिटर दूध उत्पादन घटेको छ । लकडाउन अघि दैनिक १७ सय लिटर उत्पादन हुनेमा अहिले १३ सय लिटरमात्र उत्पादन भइरहेको सञ्चालक राजेन्द्रराज पन्तले बताए । पर्याप्त मात्रामा दाना खुवाउन नसक्दा उत्पादन घटेको उनी बताउँछन् । उनको गाईफार्ममा अहिले २ सय २० वटा गाई छन् । जसमध्ये १ सय १० वटाले दुध दिन्छन् । नारायणगढ, वीरगञ्ज, काठमाडौं लगायतका ठाउँबाट दाना ल्याउनुपर्ने भएकाले समस्या भएको उनले बताए
। उनले करिव २ सय ४० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाएका छन् । लकडाउनको समयमा यही घाँसको भरमा गाई पालिएको छ । उत्पादित दुध बेच्नका लागि भने कुनै समस्या नभएको पन्तले बताए । उनीसँग तीन हजार लिटर क्षमताको दुध चिस्यान केन्द्र पनि छ । गाईपालन गरेर देशभरकै सर्वाेत्कृष्ट किसान बनेका पन्तले २०५२ सालदेखि गाईपाल्दै आएका हुन् । तीन सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त केन्द्रमा २० जनाले काम गर्छन् ।




