
गोरखाको गुम्दामा १० दिनदेखि विद्युत सेवा अवरुद्ध
गत बैशाख चार गते परेको चट्याङले मङलुङखोला लघुजलविद्युत आयोजनामा क्षति पु¥याएपछि गुम्दा गाउँ लामो समयदेखि विद्युत सेवा बिहिनभएको छ । लकडाउनका कारण लामो समयदेखि मर्मत गर्न नसक्दा स्थानीय तीनसय घरधुरीका बासिन्दालाई सास्ती भएको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा धार्चे गाउँपालिका वडा नं. ५ गुम्दाका करिब तीनसय घरधुरीका बासिन्दाले राती विजुलीबत्ती बाल्न नपाएको स्थानीय भीमप्रसाद गुरुङले जानकारी दिए । ‘कसैकसैसँग भूकम्पका बेला पाएको सोलार बत्ती छ । त्यसैले काम चलाइएको छ’, उनले भने, ‘तर धेरैजसोसँग त्यो पनि छैन । विजुली नहुँदा कोदो, मकै पिस्न पाइएको छैन ।’
मोबाइल चार्ज गर्न नपाउँदा सूचना सम्पर्कबाट पनि बञ्चित हुनु परेको र कोरोना महामारी सम्बन्धी जानकारी पाउन पनि नसकिएको उनको गुनासो छ । ‘मोबाइलमा चार्ज छैन । टाढाटाढा रहेका आफन्तहरुसंग सम्पर्क गर्न पाइएको छैन । टिभी हेर्न, रेडियो सुन्न पनि पाइएको छैन’, उनले भने, ‘कोरोनाको बारेमा सबैलाई चासो छ तर केही थाहा पाउन सकिएन ।’
विद्युत नहुँदा वडा कार्यालयको काम पनि गर्न नसकिएको वडा अध्यक्ष तुलबहादुर गुरुङको गुनासो छ । ‘अहिले कोरोनाको बारेमा बिभिन्न सूचनाहरु गर्नुपर्ने छ, राहत बाँड्नु पर्ने बेला छ’, गुरुङले भने, ‘तर विद्युत नहुँदा काम प्रभावित भएको छ ।’ लकडाउनका कारण उपकरण ल्याउन र दक्ष जनशक्तिलाई ल्याउन नसकिएको अध्यक्ष गुरुङको भनाइ छ ।
स्थानीय प्राविधिकले दिनहूँ विद्युत मर्मत गर्ने प्रयास गरेको तर सफल नभएको उनले जानकारी दिए ।
२५ किलोवाटको सो लघु जलविद्युत आयोजनाबाट २०६८ सालदेखि विद्युत उत्पादन सुरु भएको थियो ।




