| शनिबार, कार्तिक २८, २०८३

गोरखा भूकम्पको पाँचबर्ष : लकडाउनका कारण नीजि आवास पुनर्निर्माणको काम अलपत्र

२०७२ सालको भूकम्प गएको पाँचबर्ष पूरा भएको छ । गोरखा केन्द्रविन्दू भएर गएको भूकम्पबाट ध्वस्त भएका नीजि आवास पुनर्निर्माणको काम लकडाउनका कारण रोकिएको छ ।

कोरोना महामारीका कारण घोषित लकडाउनले गर्दा गत चैत ११ गतेदेखि नीजि आवास पुनर्निर्माणको काम अघि बढ्न नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण गोरखामा ७२ हजार एकसय १३ वटा निजी आवास ध्वस्त भएका थिए । जसमध्य ६६ हजार सातसय ५९ वटा घर पूर्ण क्षति तथा पाँचहजार तीनसय ५४ घर आंशिक क्षति भएका थिए ।

हालसम्म ५६ हजार चारसय १७ घर अर्थात ८४.५१ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भइसकेको कार्यालय प्रमुख रामशरण आचार्यले जानकारी दिए ।

कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रगति भूकम्पको केन्द्रविन्दू बारपाकको भएको छ । बारपाक सुलीकोट गाउँपालिकामा ध्वस्त सातहजार ५२ घरमध्य छहजार छसय २५ वटा घर अर्थात ९३.८१ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । त्यस्तै गोरखा नगरपालिकाका नौहजार तीनसय ८९ घरमध्य आठहजार एकसय ८२(८७.८४ प्रतिशत), पालुङटार नगरपालिकाका आठहजार आठसय २६ घरमध्य सातहजार एकसय ९३(८१.५०प्रतिशत), सिरानचोक गाउँपालिकाका पाँचहजार नौसय ५४ घरमध्य पाँचहजार चारसय ६(९०.८० प्रतिशत) नीजि आवास पुनर्निर्माण भइसकेको छ ।

त्यस्तै अजीरकोट गाउँपालिकाका चारहजार एकसय छ घरधुरीमध्य तीनहजार सातसय ९५ घरधुरी(९२.४३ प्रतिशत), धार्चे गाउँपालिकाको तीनहजार नौसय एक घरधुरीमध्य दुईहजार आठसय ४५(९२.९२प्रतिशत), चुमनुब्री गाउँपालिकाको दुईहजार तीनसय ६९ घरमध्य एकहजार छसय ७५(७०.७० प्रतिशत), आरुघाट गाउँपालिकाका छहजार आठसय ७९ घरधुरीमध्य छ हजार सात(८७.३२ प्रतिशत), भीमसेनथापा गाउँपालिकाको छहजार आठसय २४ घरधुरीमध्य पाँचहजार चारसय ५० (७९.८७ प्रतिशत), शहीदलखन गाउँपालिकाका छ हजार दुईसय ४५ घरधुरीमध्य पाँचहजार तीनसय ९८(८६.४४ प्रतिशत) र गण्डकी गाउँपालिकाको पाँचहजार दुईसय चार घरधुरीमध्य तीनहजार आठसय ४१ (७३.८१ प्रतिशत)पुनर्निर्माण भएको कार्यालयले जनाएको छ ।

पाँचहजार तीनसय ५४ घरको प्रबलीकरण गर्नुपर्नेमा जम्मा १२ घरको मात्र प्रवलीकरण गरिएको छ ।
भारत सरकारले यूएनडिपीको नेपाल आवास पुनर्निर्माण परियोजनामार्फत २६ हजार नौसय १२ घर पुनर्निर्माण गरिरहेको छ । सो परियोजनाले हालसम्म २४ हजार चारसय ६६ निजी आवास (९०.९१ प्रतिशत) पुनर्निर्माण सम्पन्न गरेको परियोजनाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए ।

त्यस्तै जापान अन्तर्राष्ट्रिय ले भूकम्पीय आवास पुनर्निर्माण परियोजनामार्फत १५ हजार चारसय चार घर पुनर्निर्माण गरिरहेको छ । जसमध्य अहिलेसम्म १४ हजार तीनसय ८७(९३.४ प्रतिशत) पुनर्निर्माण सम्पन्न भइसकेको परियोजना प्रमुख बाबुराम केशीले जानकारी दिए ।

त्यस्तै विश्व वैंकले अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार परियोजना मार्फत नीजि आवास तथा अन्य पूर्वाधार निर्माण गरिरहेको वित्तीय व्यवस्थापन विज्ञ अम्विका पौडेलले जानकारी दिए ।

लकडाउनका कारण निजी आवास तथा अन्य सबैखाले संरचना पुनर्निर्माणको काम रोकिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख आचार्यले बताए । ‘लकडाउनका कारण काम गर्ने श्रमिकहरु पनि घरघरतर्फ फर्किसकेका छन् । निर्माण सामग्री पनि छैन त्यसैले काम पूर्ण रुपमा ठप्प छ’, आचार्यले भने, ‘यसले गर्दा निर्धारित समयमा निजी आवास तथा अन्य संरचना निर्माण सम्पन्न हुने सम्भावना टरेको छ ।’

जिल्ला प्रशासन कार्यालय गोरखाले भने जिल्लामा कोरोना भाइरसको प्रभाव नदेखिएकाले विकास निर्माणको काम बिस्तारै सुरु गर्ने जनाएको छ । ‘सरकारको नीति अनुसार ठूला आयोजनाहरुले निर्माणको अनुमति धमाधम लगिरहेका छन्’, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने,‘अब निजी आवासका लागि पनि वातावरण अनुकूल बन्दै जाने विश्वास लिन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्