
गोरखाको होमस्टेहरुले पाहुना नराख्ने
दरौँदी समाचारदाताः कोरोना भाईरसको सक्रमणबाट बच्न चौतर्फी सचेतना अपनाईएका बेला गोरखाका होमस्टेहरुले पाहुना राख्न छाडेका छन् । कोरोनाको संक्रमण त्रासले शहरभन्दा पनि गाउँतिर घुम्न जाने क्रम सुरु भएसँगै धेरै मानिस भिडभाड हुने डरले होमस्टेहरुले पाहुन राख्न बन्द गरेका हुन् ।
‘शुक्रवार देखि हामीले कुनैपनि घरमा पाहुन नराख्ने निर्णय गरेका छौँ’ अजिरकोट गाउँपालिकाको वुद्धनम्की होमस्टेका सदस्य मिरा तामाङले भनिन् । बाहिरबाट आउने पाहुनाहरु होमस्टेमा बस्दा कोरोना त्रास भईरहेका बेला संक्रमण हुन सक्ने, एक अर्कोमा भाईरल रोग सर्न सक्ने आशंकामा स्थानीयले होमस्टे बन्द गराएका हुन् । १७ घरमा होमस्टे रहेको नम्की धेरै पाहुना आउने मध्येको एक हो । २०६९ सालदेखि सुरु भएको होमस्टे २०७२ सालको भुकम्पपछि २०७४ बाट पुन सुरु भएको हो । एकनासका घर, तामाङ र गुरुङ समुदायको बस्ती, गाउँसम्म कालोपत्रे सडक भएकाले त्यहाँ पाहुना धेरै पुग्छन् । सरकारले अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्कनु भन्ने सुचना जारी गरिरहेका बेला होमस्टेमा आउजाउ बन्द गरिएको सिरानचोक गाउँपालिकाको क्होल आरुबोट सामुदायिक होमस्टेका सल्हाकार सुरेन्द्र गुरुङले बताए । ‘हामीले होमस्टेको तालिम र कार्यक्रम पनि स्थगित ग¥यौँ’ उनले भने ‘तत्काल हामीले पाहुन नराख्ने सल्लाह गरेका छौँ ।’ भुकम्पको केन्द ्रबिन्दुमा रहेको ‘बारपाक होमस्टे गोरखा’ ले समुहमा आएका पाहुना नराख्ने भएको छ । २० घरमा होमस्टे रहेको बारपाक गोरखाको राम्रो चल्ने होमस्टे मध्येको हो । होमस्टेका पूर्व अध्यक्ष मनोज घलेले भनिन् ‘केहीदिन यता पाहुना आएका छैनन, पहिले आउने भनेर ‘बुकिङ’ गरेकाहरु पनि कोरोनाको कारण रद्ध भयो ।’ बारपाक दुर्गम भेगमा रहेकाले आपत्मा परेका एक, दुई जना भए र अत्यावश्यक परेमा मात्रै होमस्टेमा राख्ने अन्यथा समुहमा आएकालाई नराख्ने निर्णय भएको छ ।
होमस्टे संचालक समितिले समुहमा होमस्टेमा बस्ने, कार्यक्रम गर्ने योजना केही समय पछि सार्न समेत अनुरोध गरेका छन् । गोरखा नगरपालिका ५ पश्लाङ होमस्टेले पनि पाहुन राख्न छाडेको छ । होमस्टे संञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर रानाले आउन खोजेका पाहुनालाई पनि अहिले नआउन भनेको बताए । ‘केही समय यता पाहुना आउने क्रम ह्वातै घटेको छ’ उनले भने । गोरखामा होमस्टेको संख्या २५ भन्दा बढि छ । आर्थिक वर्ष २०७५/७६ मा २२ वटा होमस्टेले गण्डकी प्रदेश सरकारको दुई करोड २५ लाख भन्दाबढि अनुदान पाएका छन् । यी मध्ये अधिकासं होमस्टे अनुदान लिनकै लागि ढिला गरी दर्ता भएका थिए । यो वर्षपनि अनुदानका लागि केही संख्या थपिँदो छ । तर ब्यवस्थित रुपमा संचालन हुनेको सकेको छैन । कनिका छरेजस्तो बजेट बिनियोजन हुँदा होमस्टे ब्यवस्थित गर्न नसकेको गुनासो संञ्चालकहरुकै छ । होमस्टे धेरै हुँदा र ब्यवस्थित रुपमा नचल्दा केही ठाउँमा क्रेज घट्दो छ ।




