| शनिबार, कार्तिक २८, २०८३

कोरोनाका कारण मनकामना मन्दिरमा नित्यबाहेकको पूजाआजा बन्द, केवलकार पनि बन्द

शिव उप्रेती ः दैनिक हजारौं भक्तजनको भीडा लाग्ने गोरखाको प्रसिद्ध मनकामना मन्दिरमा नियमितबाहेकका पूजाआजा बन्द गरिएको छ । विश्वभर फैलिएको कोरोनाको संक्रमणबाट जोगिन कम्तिमा एक महिनाका लागि पुजारीले गर्ने नित्यपूजाबाहेक सर्वसाधारणले गर्ने पूजाआजा गर्न बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

मनकामना मन्दिरमा दैनिक तीनहजार भन्दा धेरै भक्तजनहरु पूजाआजामा सहभागी हुनेगर्छन् । सरकारले २५ जनाभन्दा धेरैको जमघट नगर्न, नगराउन निर्देशन गरेकाले मनकामना मन्दिरको नित्यबाहेकको पूजा केही समयका लागि रोक्न अनुरोध गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रजिअबाट आग्रह आउनुअघि नै भक्तजनको पूजाआजा बन्द गर्नेबारे परामर्श गरेको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए । ‘केवलकार त बन्द भैहाल्यो । यहाँ त मोटरबाट पनि भक्तजनहरु आउँछन् । आज पनि कम्तिमा तीनहजार भक्तजन थिए’, उनले भने, ‘सरकारले पनि मठमन्दिरमा समेत २५ जनाभन्दा धेरै भेला नहुनू भनेर निर्देशन गरेको छ । त्यसैले सर्वसाधारणको पूजा रोक्नुपर्छ भनेर मैले परामर्श गरिरहेको थिएँ । सिडियोसाबबाट पनि आग्रह भयो । त्यसैले कम्तिमा एक महिनाका लागि सर्वसाधारणबाट पूजा बन्द गरिएको छ ।’ बिहान नित्य पूजा र साँझ आरती मात्र हुने पूजारी थापाले बताए ।

त्यस्तै गोरखाको सबैभन्दा धेरै यात्रुहरुको भीडभाड हुने मनकामना केबलकार चैत मसान्तसम्मका लागि बन्द हुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिन तथा जोगाउनका लागि सेवा बन्द गर्ने निर्णय गरेको मनकामना केवलकार प्रालिका नायव महाप्रवन्धक डिएन कायस्थले जानकारी दिए ।

‘कोरोनाबाट सुरक्षा अपनाउँदै सरकारले विद्यालय, कलेजहरु पनि चैत मसान्तसम्मका लागि बन्द गराएको छ । २५ जनाभन्दा धेरै जमघट हुन नपाउने व्यवस्था गरेको छ’, कायस्थले भने, ‘त्यसैले हामीले पनि यात्रुको धेरै भीड लाग्ने भएकाले केवलकार सेवा पनि चैत महिनाभरिका लागि बन्द गरेका छौँ ।’ चैतपछि के गर्ने भन्ने बारे पछि नै निर्णय हुने उनले बताए ।

मनकामना केवलकारमा दैनिक करिब तीनहजार देखि नौ हजारजनासम्म यात्रु आवतजावत गर्ने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्