
संस्थापनमाथि काङ्ग्रेस नेता कोइरालाको आक्रोश : यस्तो पनि पार्टी हुन्छ ?
चौधौं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने चर्चामा रहेका नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले नेतृत्वले पार्टी सिध्याउन लागेको आरोप लगाएका छन् । शुक्रबार गोरखामा आयोजित पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले काङ्ग्रेसको गतिविधिले पार्टी र देशमा दुर्भाग्य निम्त्याएको पनि आरोप लगाए ।
‘भन्न त साथीहरुले धेरै कुरा नभन्न आग्रह गरिरहनु भएको छ । तर दुखको कुरा भन्नैपर्छ, अहिले नेपाली काङ्ग्रेसको संसदीय दल सुतेर बस्दा संविधान धरापमा परेको छ, लोकतन्त्र धरापमा परेको छ’, उनले भने, ‘विश्वभर नै हेर्ने हो भने सत्तापक्षले होइन, प्रतिपक्षले लोकतन्त्र बचाउने हो । तर यहाँ लोकतन्त्रका लागि सँधै लडिराखेको पार्टी लोकतन्त्र धरापमा पर्दा सुतेर बसेको छ । लोकतन्त्रका र प्रजातन्त्रका लागि यो जति दुर्भाग्य अरु केही हुन सक्दैन ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, सुरक्षा निकाय परिचालन गर्ने जिम्मा राष्ट्रपतिमा निहित गर्ने सन्दर्भमा काङग्रेस संसदीय दल चुप लागेर बसेको भन्दै नेता कोइरालाले आक्रोश पोखे । ‘कार्यकारी राष्ट्रपति बनाउने, सुरक्षा निकाय राष्ट्रपतिले परिचालन गर्ने कुरा आउँदा पनि प्रतिपक्षमा रहेको काङग्रेस खरो उत्रिन सकेन । त्यसकारण पनि लोकतन्त्र, संविधान खतरामा परेको छ ।’
अहिले मुलुकमा पूर्ण लोकतन्त्र, प्रजातन्त्र नभई नियन्त्रित लोकतन्त्र रहेको उनको भनाइ छ । ‘अहिले लोकतन्त्र छ कि छैन थाहा छैन किनभने प्रधानमन्त्रीले बिस्तारै बिस्तारै सबै अधिकार आफैमा राख्न थालेका छन्’, कोइरालाले भने, ‘सम्पत्ति शुद्धिकरण बिभाग, राजस्व अनुसन्धान बिभाग, राष्ट्रिय अनुसन्धान बिभाग, एनजीओ आइएनजीओको अनुगमन गर्ने बिभाग सबै अधिकार प्रधानमन्त्रीले आफ्नो माताहतमा लिइसके । त्यतिमात्र होइन, अहिले जतिपनि बिधेयक संसदमा छ, त्यो पास भइसकेपछि ऐनको रुपमा आउँछ । ती विधेयकहरु पास भइसकेपछि अभिव्यक्ति स्वतन्त्रता समाप्त हुनेछ । प्रेस स्वतन्त्रता, सुरक्षा निकायको परिचालन समाप्त हुन्छ । अब पनि नेपाली काङ्ग्रेस संसदमा बोलेन, सडकमा आएन भने लोकतन्त्र समाप्त हुनेछ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, न्यायपालिका, सेना सबैतिर सरकारको हस्ताक्षेप हुन थालेको नेता कोइरालाको तर्क छ ।
‘मानव अधिकार आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय पालिका सबैतिर सरकारको छाया परेको छ’, कोइरालाले भने, ‘संघीयता धरापमा परेको छ । प्रजातन्त्र मर्दैछ । यस्तो अबस्थामा देश जाँदैछ तर काङ्ग्रेस कानमा तेल हालेर बसेको छ ।’ जनवादी केन्द्रीयताका पक्षपाती कम्युनिष्टहरु संघियता बिरोधी भएको उनको तर्क छ ।
पार्टीको संस्थापन पक्ष भागबण्डा र गुटमा रमाएर बसेको नेता कोइरालाले आरोप लगाए । ‘नेपाली काङ्ग्रेसको संस्थापन पक्ष विधिविधान र विचारको बाटो हिडेको छैन’, उनले भने, ‘विधिलाई टेकेर बहुमतबाट हिड्नुपर्छ । महाधिवेशन भएको दुई महिनाभित्र हुनुपर्ने काम कार्यकाल सकिएपछि भएको छ । नेविसंघको गठन यस्तो पाराले भएको छ । यस्तो पनि पार्टी हुन्छ ? यसरी पनि पार्टी चल्छ ?’ पुर्खाको सहमति, सहकार्य र एकताको बिरासत अहिले पार्टीमा नरहेको भन्दै कोइरालाले दुख ब्यक्त गरे ।




