| शनिबार, कार्तिक २८, २०८३

२९ वटा सडकको म्याद थप, म्याद थपिएपनि बजेट नआउँदा १२ वटा सडकको समस्या उस्तै

 

दसौंबर्षदेखि ‘क्रोनिक’ भएर रहेका गोरखाका २९ वटा सडकको ठेक्काको म्याद बिनासर्त थपिएको छ । सरकारले एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयअन्तर्गत सञ्चालन भएका मात्र २९ वटा सडकको ठेक्काको म्याद आउँदो पुससम्म थप गरेको हो ।

२०६६÷०६७ सालदेखिका अलपत्र ठेक्काको एकबर्षका लागि म्याद थप भएका एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख सौरभ बज्राचार्यले जानकारी दिए । ‘२०६६÷०६७ सालदेखि ठेक्का लागेर अलपत्र बनेको एघारकिलो छेपेटार सडकको ठेक्काको पनि अहिले म्याद थप भएको छ’, उनले भने, ‘२०६७÷०६८ मा ठेक्का लागेर अलपत्र भएको सोतीखोला पुल, २०६८÷०६९ मा ठेक्का लागेर अलपत्र भएको पन्थडिही, कटहरे, हर्मी सडक, २०६८÷०६९ सालमै ठेक्का लागेको नल्याङभञ्ज्याङ छेकम्पार, चुम्चेत, सिर्दिबास सडक, २०६८÷०६९ मै ठेक्का लागेको छेपेटार पालुङटार लम्जुङ हुलाकी सडक, २०६९÷०७० मा ठेक्का लागेर अलपत्र भएको बेनिघाट, आरुघाट लार्केभञ्ज्याङ सडकको पनि अहिले म्याद थप भएका छन् ।’ यी सबै सडकको आउँदो पुस २७ गतेसम्मका लागि म्याद थप भएको उनले बताए ।

त्यस्तै एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडकको पाँचवटा ठेक्काको म्याद आउँदो पुसको २७ गतेसम्मका लागि थप गरिएको सडक योजना कार्यालयका प्रमुख बज्राचार्यले जानकारी दिए । पप्पुले ठेक्का लिएको त्रिशुली नदीमाथिको बुटार पुल, चेपेनदी पुल, बडहरे खोला पुल, अजुवाखोला पुलको पनि आउँदो पुस २७ गतेसम्मकै लागि म्याद थपिएको योजना कार्यालयले जनाएको छ ।

त्यस्तै काष्टमाण्डपले अलपत्र पारेको आरुघाट सडकको फिनाम खण्ड, काष्टमाण्डपले नै अलपत्र पारेको अर्को ठाँटीपोखरी सडक, कन्काई गोरखा जेभीले अलपत्र पारेको फिनामटार जौबारी भच्चेक सडक, कन्काइ गोरखा जेभीले नै अलपत्र पारेको आपपिपल हर्मी थालाजुङ राम्चे, चिप्लेटी सडकको पनि पुससम्मकै लागि म्याद थपिएको कार्यालयले जनाएको छ ।

आनन्द कन्स्ट्रक्शनले अलपत्र पारेको फिनामटार जौबारी भच्चेक सडक, सोही कन्स्ट्रक्शनले अलपत्र पारेको चनौटे जलकन्या मावि ताकु सडक, महालक्ष्मी, प्यासाफिक, नाना जेभीले अलपत्र पारेको पन्थडिही, कटहरे, हर्मी सडकको काम, लक्ष्मी कन्स्ट्रक्शनले अलपत्र पारेको बेनिघाट आरुघाट लार्के स डकको काम, द्विप निर्माण सेवाले अलपत्र पारेको सिर्लिङखोला सडक, रुवीनाला कन्स्ट्रक्शनले अलपत्र पारेको मान्बु काशिगाउँ, केरौंजा दोभान सडक सोही कन्स्ट्रक्शन अलपत्र पारेको बिमलनगर पौवाटार ठाँटीपोखरी सडकको पनि एकबर्षका लागि म्याद थप भएको छ ।

बेनिघाट आरुघाट लार्के सडक, बुङ्कोट मैलुङ सडक, चोरकाटे, चित्रेपोखरी भच्चेक सडक, जलकन्या मावि ताकुमाझ लाकुरीबोट सडक, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम श्रेष्ठले ठेक्का लिएका गोरखा बजार भित्रैको सडकको पनि एकबर्षका लागि म्याद थप गरिएको कार्यालय प्रमुख बज्राचार्यले जानकारी दिए ।

कतिपय सडकको भने म्याद थप भए पनि बजेट प्राप्त भएको छैन । काष्ठमाण्डपको ठेक्का रहेको गोरखा आरुघाटको फिनाम खण्डको सडक, कन्काइ गोरखा जेभीले ठेक्का लिएको नलाङभञ्ज्याङ छेकम्पार चुम्चेत सिर्दिबास सडक, आँपपिपल हर्मी थालाजुङ राम्चे चिप्लेटी सडक, शिवशक्ति निर्माण सेवाले ठेक्का लिएको बारपाक सडक, आनन्द कन्स्ट्रशनले ठेक्का लिएको चनौटे जलकन्या मावि ताकु सडक, पन्थडिही कटहरे हर्मी सडक, का लागि ठेक्काको म्याद थप भएपनि बजेट प्राप्त नभएको सडक योजना कार्यालयले जनाएको छ ।

त्यसैगरी सिर्लिङखोला पुल, बुङ्कोट मैलुङ सडक, गोरखा बजारदेखि गोरखा बजार सडक, जलकन्या मावि ताकु सडक र छेपेटार पालुङटार लम्जुङ हुलाकी सडकका लागि ठेक्काको म्याद थप भएपनि बजेट नआएको कार्यालयका प्रमुख बज्राचार्यले बताए । ‘ठेक्काको म्याद थप भएको छ तर उनीहरुलाई काम लगाउन दिनुपर्ने बजेट कत्तिपनि आएको छैन’, बज्राचार्यले भने, ‘अब कुन नैतिक बलले ठेकेदारलाई ताकेता गर्ने ? हामी त अलमल्ल छौं ।’ तैपनि म्याद थप भएकाले काममा जान सबै ठेकेदारलाई जानकारी गराइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्