
दुर्गम पालिकाको केन्द्रमा इन्टरनेट नहुँदा काम प्रभावित
नरहरि सापकोटाः गोरखाको दुर्गम धार्चे र तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको केन्द्रमा इन्टरनेट नहुँदा काम प्रभावित भएको छ । अहिले जडान गरिएको इन्टरनेट आउने–जाने हुने, ढिलो चल्ने र अनलाई लेखा प्रणाली (सुत्र सफ्ट्वयर) प्रयोग गर्न समस्या भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘गाउँपालिकाको केन्द्र माछा खोलाबाट सेवा दिन सदरमुकाममा रहेको सम्पर्क कार्यालय पनि सा¥यौँ, तर लेखा प्रणाली सुत्रले दु्रत गतीको इन्टरनेट बिना काम गरेन’ अध्यक्ष गुरुङले भने । गाउँपालिकाले गर्नुपर्ने ठेक्कापट्टा, बिकास निर्माण, योजनाको काम, टेण्डर गर्नुपर्ने सबै कागजात इन्टरनेटको सहायताले तयार गर्नुपर्ने भएकाले गाउँपालिकाको केन्द्रबाट सेवा दिन इन्टरनेट बिना समस्या भएको उनले बताए । ‘प्रदेश, संघ सरकार देखि बिभिन्न संघ संस्थाको कागजात, इमेल, इन्टरनेटबाट आएको हुन्छ’ उनले भने ‘हामीले पुन पत्राचार गर्नुपर्ने, जवाफ पठाउनुपर्ने विषयमा समस्या भएको छ ।’
इन्टरनेट नहुँदा कर्मचारीलाई काम लगाउन समेत समस्या भएको गुनासो उनको छ । ‘चेक काट्न सदरमुकाम आउनुपर्ने अवस्था छ’ अध्यक्ष गुरुङले भने ‘ दुई महिनामा एकै पटक चेक काट्नुपर्ने बाध्यता छ ।’ गाउँपालिकाको केन्द्रमा सिभिल बैंक छ तर पनि इन्टरनेट अभावमा पालिकाले केन्द्रबाट भुक्तानी दिन सकेको छैन । उपभोक्ता समितिका पदाधिकारी अहिले दैनिक काम सम्पन्न गरेर भुक्तानीका लागि सदरमुकाम धाउन थालेका छन् । चुमनुब्री गाउँपालिका केन्द्रमा कुमारी बैंक छ । केन्द्रमा बसेर माथिल्लो तहका सरकारसँग, कार्यालयहरु सँग निरन्तर सम्पर्कमा रहन गाह्रो छ । दुर्गम हिमाली भेग रहेको, संञ्चार पहुँच सहज नभएकाले कहिले सदरमुकाम त कहिले पालिकाको केन्द्रबाट सेवा दिने गरेको प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए । ‘गाउँपालिकाको केन्द्रबाट पनि नियमित सेवा भईरहेको छ, तर इमेल, इन्टरनेटको पहुँच नहुँदा सँधै त्यहाँबसेर सबै सेवा दिन सकिएको छैन’ उनले भने ‘बैङ्किङ कामका लागि सदरमुकामबाटै सेवा दिनुपर्ने बाध्यता छ ।’ सेवा लिन मिल्ने इन्टरनेट नहुँदा चौतर्फी समस्या भएको गुनासो जनप्रतिनिधि र कर्मचारीहरुको छ ।
उत्तरी भेगमा जडान गरिएका इन्टरनेटले राम्रो सेवा दिन नसकेपछि गाउँपालिकाहरु आजित भएका छन् । जडान गरिएको एक-दुई महिना चल्ने र त्यसपछि ढिलो हुने, नियमित नचल्ने, मौसम खराबी हुँदा समस्या देखिने गरेको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए । दुर्गम भेग भएको, इन्टरनेट सुविधा नहुँदा काम गर्न समस्या भएपछि कर्मचारी नियमित बस्न समेत असहज मान्ने गरेका छन् । सिफारिस लिने, घटना दर्ता, अनुगमन जस्ता कामकाज भने पालिकाको केन्द्रबाट भईरहेको छ । गाउँपालिका र वडा कार्यालय बिच इन्टरनेटको पहुँच नहुँदा चिठी पत्र, बद्लिएको कानुनी ब्यवस्था, परिपत्र गर्न समस्या भएको छ । एक महिना अघि मात्रै धार्चेमा नेपाल टेलिकमले टावर जडान गरेसँगै सबैवडामा फोन सेवा सुचारु भएको हो । ‘इन्टरनेट सुचारु गराउने तयारीमा छौँ’ नेपाल टेलिकम गोरखा शाखा प्रमुख चन्द्रबहादुर श्रेष्ठले भने । चुमनुब्रीमा भने अझै नेपाल टेलिकमपको नमस्ते मोवाईल फोन चल्दैन । गोरखाको बारपाक सुलिकोट, अजिरकोट लगायत ग्रामिण भेगका पालिकामा पनि इन्टरनेट सेवा प्रभावकारी छैन ।




