
शहिद रम्तेलकी आमा भन्छिन् : ‘फेरि लडाई हुन्छ जस्तो लाग्छ’
आज फागुन १४ । आजभन्दा २५ बर्षअघि अर्थात २०५२ सालको फागुन १४ गते बारपाक सुलीकोट गाउँपालिका ८ जराङका ११ बर्षका दिलबहादुर रम्तेल प्रहरीको गोली लागी सहादत प्राप्त गरे । २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु गरेको माओवादीले उनलाई पहिलो सहिदको सम्मान दिएको छ ।
सो घटनाको २५ बर्षपछि उनै दिलबहादुरका आमा सरिमाया र बुबा सेते रम्तेलसंग यसै बिषयमा गरिएको कुराकानी ः—
तपाईको नाम ः
सेते रम्तेल ।
अनि तपाइँको ?
सरिमाया ।
कतिबर्ष हुनुभयो ?
सेते ः ७६ लाग्याँ ।
सरिमाया ः बुढा र म सात बर्षको फरक हो ।
माइत कहाँ हो ?
सरिमाया ः मसेल ।
माइतीको थर के हो ? ः रोका
दिदीबहिनी, दाजुभाई ?
सरिमाया ः तीन दाजुभाइ हुन् । दुइटा गैहाले । एउटा छ ।
कतिबर्षमा बिहे भएको ? ः मेरो त १३ बर्ष
तपाई कतिबर्ष हुनुहुन्थ्यो त्योबेला ?
सेते ः म २० बर्षको थिएँ ।
पहिल्यै चिनजान भएर हो कि, बाबुआमाले दिएर बिहे गर्नुभा ?
सरिमाया ः (अलिअलि हाँसेर)पहिले काँ त्यस्तो जमाना थियो र ? अहिले पो मोबाइलले बिहे गर्दिन्छ ।
तपाईँसंग मोबाइल छ कि छैन ?
सेते ः मसित छैन ।(बूढीतिर देखाउँदै) ऊसित छ ।
कति हो फोन नम्बर ?
सरिमाया ः नम्बर त आउँदैन मुखाँ ।
तपाईँलाई आउँछ ?
सेते ः अहँ, आउँदैन ।
कसैलाई फोन गर्नुपर्यो भने कसरी गर्नुहुन्छ त ?
सरिमाया ः नातिनीले चित्र राखिदिएकी छ, त्यही चित्र हेरेर गर्ने ।
सेते ः म त हेर्न नि जान्दिन ।
कति जनालाई चिन्नुहुन्छ चित्र हेरेर ?
सरिमाया ः मोबाइलमा चित्र भएजति चिन्छु ।
एक महिनामा फोनमा कति पैसा जान्छ ?
सरिमाया ः चारपाँचसय चाहिन्छ ।
तपाईँहरुको पार्टीको नाम के हो ?
सरिमाया ः माओवादी हो ।
सेते ः अहिले त हैन केरे ।
सरिमाया ः ए, अहिले त एमालेमा मिल्यो भन्थे । एमाले हो ।
प्रधानमन्त्री को हो ?
सरिमाया ः प्रचण्ड त हैनन्, बाहिरै छन् । खै, कुन्नि ?
राष्ट्रपति को हो नि ?
दुवै ः खै त्यो त ।
रेडियो छ ?
सेते ः छ ।
समाचार सुन्नुहुन्छ ः
सुन्दैनम् ।
टेलिभिजन छ ?
सरिमाया ः छैन ।
हेर्न मन लाग्दैन ?
सरिमाया ः लाग्छ तर कहाँ गएर हेर्नु ?
किन आफैले नराख्नु भएको त ?
सरिमाया ः त्यो पनि पैसै बोल्ने हो । खै र पैसा ? खपेटो मात्र किनेर नि भएन ।
छिमेकीको घरमा छैन ?
सरिमाया ः को छ र हाम्रो छिमेकी । यतातिर सबै वनै हो । उताको त्यो घर नि उठ्यो, त्यो तलको घर नि उठ्यो । बीचमा थियो एउटा, त्यो पनि उठ्यो । भूकम्पको पैसा लिएर घर बनाए, तर कोही पनि बस्दैनन् । अहिले त वनको छेउमा हामी मात्र हो । छिमेकी पनि टाढा छ, डाँडा काटेर जानुपर्छ । को जाने त्यति टाढा टिभी हेर्न भनेर ?
पार्टीको के पदमा हुनुहुन्छ ?
सेते ः पदमा त छैन । तर बेलाबेला काठमाडौं, गोरखामा बोलाउँछन् ।
बाटोखर्च दिन्छन् ?
सेते ः टाढाटाढा बोलाए भने दिन्छन् ।
बेलाबेला छोराको सम्झना आउँछ ?
सरिमाया ः आउँछ, दिनकै आउँछ ।
तपाईहरु के गर्नुभएको थियो, छोरालाई गोली लागेको त्यो बेला ?
(सेते भीरमा चरिरहेको बाख्रा धपाउन जान्छन् ।)
सरिमाया ः बुढा गाममा बरामको घर बनाउने मेलामा गाथे । झरी परिरहेको थियो । डम्मै कुहिरो लागेको थियो । म बिरामी भएर घरमै सुतिराथेँ । बाहिर कता हो, गररर गररर आवाज आइराथ्यो । माहिली बुहारीलाई बाहिर हेर हेर के भयो, भनेँ । बुहारीले अँतनि के भयो होला भनी । म बाहिर निस्केर सकिनसकी मैलुङतिर हेर्न गएँ ।
बुहारी बाख्रा हेर्न गई । म पनि फर्केर आएँ । ठूली बुहारीलाई पनि नानी कता के भएको हो, हेरहेर भनेँ । फेरि डाँडातिर हेर्न गएँ । पाल्खुको वीरबहादुर मास्टरलाई प्रहरीले समातेर ल्याका रहेछन् । अनि त्यहाँका विद्यार्थीहरु पछ्याउँदै आका रहेछन् । अघिअघि पुलिस, पछिपछि विद्यार्थी, पाखै कालै रहेछ । यहाँ गैरामा आइपुगेपछि व्रह्मचारिणी स्कूलका विद्यार्थी पनि पछि लाग्न थालेछन् । मेरो छोरो पनि व्रह्मचारिणीमा पढ्थ्यो । म फेरि फर्केर घर आएँ । बुहारीलाई लौन लौन बेस्सरी पुलिस र विद्यार्थी ग्वार्रग्वार्र दुकुर्दै आएका छन्, के हुन लाग्या हो भनेँ ।
त्यतिखेर मास्टरहरुको गलत सम्झाइ बुझाई गरेर विद्यार्थीलाई भित्रै थुनेको भए हुन्थ्यो । विद्यार्थी पनि केही गर्न भनेर निस्केका त होइनन् । हेर्न निस्केका हुन् । तर पुलिसले बुझेन । उताबाट पनि विद्यार्थीले लखेटेका छन्, यताका विद्यार्थीले पनि छेकार काटे भन्ने सोच्यो होला । हाम्रो छोराहरु टौवामा बसेर हेरेका रहेछन् । माथि बाटोबाट बबङ र बुबुङ गोली छोडे । मास्टरहरु मुला, रायोबारीमा सर्लक्क सुतेछन् । टौवामा बसेका मेरो बाबु र अर्को बाबुलाई लागेछ ।
म भीरभीरै हाम्फाल्दै पुगेँ । (दुवै आँखाबाट दुवै गालाभरि आँशु बहाउँदै) सबैले घेरा हालि सकेछन् । म छोराको मुख हेर्छु भनेर पुग्नासाथ एक्कै बात ए आमा, म मरेँ, लौन मलाई कहाँ लाने हो त भनेर एक्कै बात भनेको थियो, त्यसपछि बोलेन । (भक्कानो छाड्दै) बाबुलाई उठाएर गोरखा लाने भनेर लगेछन् । बाउ घर बनाउने काममा गाथे । कोले खबर दियो, बा पनि गाथे भन्थे । म यहाँ घरमा आएर बुहारीलाई के भनेँ कुन्नि ? पछ्यौरा पनि ओढेँ कि ओढिन, त्यत्तिकै हुर्रिएर पछिपछि वनवनै छाँटिएँ । तालखोलामा पुगेपछि बेस्सरी ठूल्ठूलो गेडा असिना पर्न थाल्यो । असिनाले चुट्दा पनि थाह पत्तो भएन । माइताँ पुगेछु । घ्याम्पेशाल अस्पतालमा लगेका रहेछन् । मलाई जान दिएनन् । अस्पतालले निधो दिएछ । त्यहाँबाट पनि गोरखा लगेछन् । त्यसपछि के भयो, मलाई था पत्तो भएन । तीन दिन पछि माइला दाइहरुले घरमा ल्याइदिएछन् । सँगै जान सकिएन । बाँच्नै पर्ने रहेछ ।(केहीबेर गला अबरुद्ध) त्यसपछि म तीनबर्षसम्म मुच्र्छा पर्ने, व्युँतिने भइरहेँछु । तीनबर्षसम्म त यो घरमा को आयो, को गयो म केही थाहा पाउँदिन । सँगै जान नसकिने रहेछ । बाँच्नै पर्ने रहेछ । आफ्नो मनलाई आफैले सम्झाएर हिड्छु हिड्न त तर दिनमा एक पल्ट, दुईपल्ट, तीनपल्ट नसम्झेको दिनै छैन । हामीहरु यसरी आएर सोधिरहेको मन पर्छ कि पर्दैन ?
सरिमाया ः तपैँहरु आएपछि झन बल्झिन्छ । आउनुहुन्थ्यो पार्टीका मान्छेहरु । हामी छम्, हामी पाल्छम् भन्नुहुन्थ्यो । तर उहाँहरु सम्साथमा नपुगुञ्जेल मात्र रहेछ । सम्साथमा पुगेपछि त हामी जाबो, यस्तो जाबोलाई कसले सम्झिने ?
केही राहत दियो कि दिएन पार्टीले ?
सरिमाया ः खै दिनलाई दिया पनि हो । एकफेर एकलाख, फेरि दुई लाख, फेरि एकैलाख गरेर पाँच लाख । अनि पछिफेरि पाँचलाख । १० लाख दियो । एकैलाख अड्कलेर दिएकोचाहिँ घरखर्च गरेर सकियो । एकैचोटि दिएको पाँचलाखचाहिँ चितवनाँ लगेर जग्गा किनेको छ । त्यहाँ माहिलो छोराले कमाएको पैसाले एउटा झुप्रो बनाएर बसेको छ । भविष्यमा हामी पनि त्यहीँ गएर बस्ने हो ।
बूढा पनि बुढै हुनुभयो । बूढाबूढीको हातगोडा चलुञ्जेल यहाँ बस्ने । एउटा छोरा छेपेटारमा छ । बोलाइ रहन्छन् दुइटैले ।
छोराहरु त लाइनमै छन् ?
सरिमाया ः दुइटै छोरा ठिकै छन्, त्यस्तो बिलाइनमा छैनन् । दुखबिमार हुँदा छोराहरु आउँछन् ।
पार्टीले कत्तिको सम्झन्छ ? दुईफेर काठमाडौं बोलायो । फुटबल कार्यक्रम रैच । हामी बूढाबूढीलाई अगाडि लगेर राखेर खेल हेराए । त्यहाँ खाए, बसेको खर्च दिए । गाडीभाडा दिए । पार्टीले गरेको काम कस्तो लाग्छ ? केही भन्नु छ ?
सरिमाया ः भन्नुपर्ने त धेरै छ । तर भने नि काँटा छैन । अब तपाईको छोराको नाममा तपाईँको घरको छेउमा पारक(शहीद स्मृति पार्क) बनाउने, सालिक बनाउने भने । यो डाँडो भत्काएर यहाँ फुटबल खेल्ने ठाउँ बनाउने, यहाँ धेरै मान्छेहरु आउँछन् । आउने जाने मान्छे बस्नलाई ठूलो घर बनाउने, तपाईँको घरलाई तारबार गरेर जोगाउने भने । तीन घण्टासम्म हामीलाई केरेर, चाहिँदो भनेर गाका तर फर्केर आएका छैनन् । बोल्न नसक्दा पनि हामीलाई क्यामराले खिचेर गाका मान्छे, अहिले अहँ, बूढाको नम्बर, मेरो नम्बर पाँचसय जनाले हालेर लगेका होलान् तर वास्ताव्यस्ता छैन ।
अहिले त सुन्छु, मेरो छोराको स्मृति(स्मृति पार्क) कहाँ कहाँ डाँडा कटाएर लाने रे । मेरो इच्छा यसै पूरा भएको छैन, उसै भएको छैन । अब पार्टीलाई दुख पोख्ने कुरा पनि केही छैन । के दुख पोख्नु छ र । त्यही पार्टीले मेरो छोराको स्मृति ह्वाँ पु¥याइद्या हो । त्यही विष्णु भट्ट(गाउँपालिकाको अध्यक्ष), त्यही बाबुराम रम्तेलले सरुवा गरेका हुन् । कति बाँचिएला र ? मेरो परान पनि यहीँ जान्छ । म बाँचुञ्जेल मेरो छोराको स्मृति मै कुरेर बस्छु । म मरेर गए पनि छोरी ल्याएर राखेको छु । उसको भाइको स्मृति उसैले कुरेर बस्थी भनेको त्यो पनि भएन । गुण’ा डल्ला देखाएर इट्टा डल्लाले हानेर गए । फागुन लागेपछि अलिअलि खोज्थे । छोराको मृत्यूशोक मनाउनलाई १४ गते, १४ गते खोज्थे । त्यही पनि दुईतीन साल भो छोडेका । अहिले त पार्टी पनि फुट्यो भन्छन् । के के भयो भयो । हुँदै जाँदा माओवादी त हराउँछ होला है ? (चिन्तित हुदै), सिध्दिएला ? जहाँ एउटै पार्टी भनेर लागे, अब माओवादी सिध्याउनलाई यस्तो गरेका हुन् जस्तो लाग्छ ।
माया लाग्छ है आफ्नो पार्टीको ?
सरिमाया ः लागिहाल्छ नि । मेरो छोराले त्यसमै रगत बगायो । मेरो छोराले गर्दा खेरिमा कतिको ज्यान गयो । मेरो छोरो पहिलो भाथ्यो र पो ए, म पनि त्यसैमा लाग्छु, म पनि त्यसैमा लाग्छु भन्दै पछि लागे । जान त अरु पार्टीको आमाहरुको कोख पनि रित्तियो । जहाँ एउटै पार्टी भनेर मिस्सिए, माओवादीलाई हराइदिन्छन् होला जस्तो लाग्छ । हुन न नेताले पनि लाइन छाडेका छन् । लोभमा लागेका हुन् कि जस्तो लाग्यो । तपाईँ त सबै माओवादीको आमा हो ।
सरिमाया ः हजूर ।
के भन्नुहुन्छ त अहिलेका माओवादीलाई ?
सरिमाया ः म केही पनि भन्दिन । यो भन्दा पहिला पनि अर्ति त मैले जत्ति पनि दिएको हो । नेताहरु सबै आउँथे यहाँ । आमा, आमा भन्थे । के छ, कसो छ भन्थे । भनुञ्जेल लललल हुन्छ हुन्छ हुन्छ भन्छन् । अहिले कुर्ची ठटाउने ठाउँमा पुगेका छन् । उतै रमाएर बसेका छन् । हामीलाई वास्ता गर्न छोडे ।
फोन पनि गर्दैनन् ?
सरिमाया ः अहँ । साँच्चै कहाँ कहाँ छन् तिनीहरु अहिले ? थाहा होला नि सरलाई ।
मलाई पनि के थाहा र ?
सरिमाया ः फेरि लडाइँ फेरि चल्छ कि जस्तो लाग्छ ।
विप्लवहरुले ?
सरिमाया ः को हो विप्लव भनेको ?
चिन्नुभाछैन ?
सरिमाया ः अहँ !
भूमिगतमै छन् अहिले भन्ने थाहा छैन ?
अहँ त्यो त थाहा छैन । तर कताकता फेरि लडाइँ चल्छ कि जस्तो चाहिँ लागिरहन्छ । खुट्टा तान्ने धेरै छन् । उले उसको खुट्टा तानेको छ, उसले उसको तानेको छ । न माओवादीले भन्या कसैले मानेको छ, मिलेका छैनन् । फेरि लडाइँ चल्छ जस्तो लाग्छ मलाई त ।
(बाख्रा धपाउँदै सेते रम्तेलको प्रवेश)
अहिले पार्टी कस्तो लाग्छ त तपाईँलाई ?
सेते ः देश बनाउनु भन्दा आफ्नै उ(?) बनाउन थाले । अहिले त वास्ता पनि गर्दैनन् । अरु त आएनन् यै गाउँपालिकाको अध्यक्ष पनि नआको अहिले एक बर्ष भयो । वास्ताव्यस्त छैन । पहिले पहिले कत्रो दुख गरे, कति खटे । अहिलेका नेताहरु आफैआफै ठेकदार भएर आफैआफै पैसा कमाउन थाले । प्रचण्डले भने जनताका छोराहरु खाडीमा गए । हाम्रो शासन आएपछि जनताका छोराछोरीलाई यहीँ रोजगारी दिन्छम् भने । अहिले खै त रोजगारी ?
अनि तपाईँलाई कस्तो लाग्छ ?
सरिमाया ः विकास त गरेका छन् नि तर तीन कडोरमा दुई कडोर आफ्नै खल्तीमा, एक करोड सामाजिक काममा । हाम्रो यहाँ केही भा’छैन । लोभचाहिँ देखाउने, तर हाम्रो यहाँचाहिँ लोभ देखाएअनुसार गरेका छैनन् । अरु ठाउँमा गरेका छन् कि त्यो चाहिँ थाहा छैन । नमूना बनाउने हुम् भन्थे । तर केको नमूना, कहाँको नमूना ? हामी मरेपछि गर्छन् कि ? नेताकै भण्डार भरिएको छैन होला, जनतालाई के हुनी ? खाउन् जति खान्छन् । आफ्नै घर बनाउन् । आफ्नै इष्टमित्र बनाउन् । आफै बनुन् ।
मलाई त फेरि लडाइँ हुन्छ जस्तो लाग्छ ।




