| शनिबार, कार्तिक २८, २०८३

उपभोक्ता समितिले योजना ठेक्का दिएपछि घोटाला

 

पालुङटार नगरपालिका वडा नम्बर १ मा खानेपानी आयोजना निर्माणको क्रममा घोटला भएको पुष्टि भएको छ ।

गलबिसाउने सातदोबाटो खानेपानी आयोजना उपभोक्ता समितिको कामको लेखा परीक्षण गर्दा छलाख ५९ हजार बेरुजु निस्किएपछि योजना घोटाला भएको सार्वजनिक भएको हो ।

उक्त समितिले खानेपानी योजना निर्माण गर्न स्थानीय ठेकेदारलाई ठेक्का दिएको थियो । सो समितिलाई पालुङटार नगरपालिकाले पत्राचार गर्दै तत्काल बेरुजु देखिएको रकम वैंक खातामा जम्मा गरिदिन निर्देशन गरेको छ । तीन हजार सात सय मिटर पाइपलाईन खनेको भनेर झुटा बिवरण पेश गरेको तर आठसय मिटर मात्रै नयाँ पाईप प्रयोग गरेकाले दुई लाख १९ हजार पाँच सय ४५ रुपैयाँ असुल गर्नुपर्ने लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आरसीसी स्ल्याब नराखी कागजमा मात्र ‘राखेको’ भन्ने उल्लेख गरेकाले १० हजार सातसय ५० र २५ मिटर जिआई पाईप प्रयोग नै नगरी प्रयोग गरेको देखाएकाले सात हजार आठ सय चार शोधभर्ना गर्नुपर्ने देखिएको छ । उपभोक्ता समितिले काम नगरी भुक्तानी दिएको, पाईप खरिद गरेर पनि नबिछ्याइएको लगायत गरी उक्त रकम बेरुजु निस्किएको हो । उक्त आयोजना सम्पन्न भएपछि ७० घरधुरीका स्थानीयले पानी पिउन पाउनेछन् ।

उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले स्थानीय ठेकेदार पिटरकुमार श्रेष्ठलाई ठेक्का दिएको र उनले काम गरेको बताए ।
‘काम स्टिमेटअनुसार गुणस्तरीय भएको छैन भनेर हामीले भनेका थियौँ तर उहाँले ठिक छ भन्दै जानुभयो, अहिले बेरुजु देखियो’, श्रेष्ठले भने । बेरुजु रकम दखिला गर्न दबाव परेपछि निर्माण ब्यवशायीले पहिले बाँकी रहेको काम गर्न थालेको अध्यक्ष श्रेष्ठले बताए ।

समितिले गर्नुपर्ने काम ठेकेदारलाई जिम्मा दिएपछि समस्या भएको नगरपालिकाले जनाएको छ ।

वडा अध्यक्ष कृष्ण परियारले समितिले ठेकेदारलाई दिँदा समस्या भएको बताए । ‘अहिले फेरि पाईप गाड्न खाल्डो खनेर काम पूरा गर्न लागेका छन्’ उनले भने । समिति मार्फत बिकास निर्माणको काम गर्दा पहिले जम्मा गर्नुपर्ने रकम उठाउन समस्या हुने, साधन स्रोत नहुने, लगानी पहिले गर्नुपर्ने जस्ता कारणले अधिकांश काम उपभोक्ताको नाममा ठेकेदारले लिने प्रचलन धेरै चलेको छ । उपभोक्ता समिति सक्षम नदेखिएपछि १० लाख भन्दा माथिका योजना टेण्डर मार्फत गर्ने प्रक्रिया अघि बढाएको वडा अध्यक्ष परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्