| शनिबार, कार्तिक २८, २०८३

गाउँ गुल्जार गर्न सहरका युवाहरु फर्किएर बनाए कृषि सहकारी

 

सहरमा पलायन भएका युवाहरु गाउँ फर्केर कृषि व्यवसाय गर्न सुरु गरेका छन् । युवाहरु पलायन भएपछि गाउँका जग्गा जमिन बाँझो भएको र गाउँ खण्डहर भएको भन्दै अजीरकोट गाउँपालिकाका युवाहरु गाउँ फर्किएर अजीरकोट कृषि सहकारी संस्था गठन गरेका हुन् ।

सो सहकारीले अजीरकोट वडा नं. ३ सेतेस्वाँरामा प्रारम्भिक साधारण सभा तथा वनभोज कार्यक्रम गरेको छ ।

‘हाम्रो क्षेत्र जिल्लाकै धेरै शिक्षित जनशक्ति उत्पादन भएका गाउँमध्य पर्छ । यो सुखद पक्ष हो’, स्थानीय बालचन्द्र अधिकारीले भने, ‘तर शिक्षित युवाहरु रोजगारीका क्रममा बाहिरिने क्रम बढेपछि गाउँ सुनसान प्राय हुन थाल्यो । गाउँका जग्गा जमिन सबै बाँझो हुन थाल्यो । त्यसैले हामीले फेरि गाउँलाई गुल्जार गर्नुपर्छ भनेर एकीकृत प्रयास गरेका छौं ।’ बिभिन्न किसिमका कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अजीरकोट ३ कोलकाटे, सेतेस्वाँरा र ढाँडको तीनसय रोपनी जग्गा भाडामा लिएर खेती गर्ने उनले बताए । सो जग्गामा एकीकृत कृषिखेती गरिने उनले बताए ।

अजीरकोट ४ लप्सीबोट, काफलडाँडा, तल्लोथोक, लामिडाँडा लगायतका गाउँका युवाहरुको भेलाले स्थानीय बालचन्द्र अधिकारीको अध्यक्षतामा सहकारी गठन गरेको छ । युवाहरुले कृषि परामर्शदाता साधुरामसिँह बस्न्यातलाई गाउँमा निम्त्याएर अध्ययन गराएको छ ।

शनिबार सम्पन्न प्रारम्भिक साधारण सभामा प्रमुख अतिथि प्रदेश सभा सांसद प्रकाशचन्द्र दवाडी, गाउँपालिकाका प्रमुख फणिन्द्र धिताल, वडा अध्यक्ष तयराज गुरुङ, कृषि परामर्शदाता बस्न्यात, नेकपाका गण्डकी प्रदेश सदस्य दीपक देवकोटा, सहकारीका सिताराम अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्