
लाप्राकमा मकै बिहे
घरैपिच्छेका एकेक जनाका दरले हिसाब गर्दा झण्डै आठ, नौ सय को लावा लस्कर । ढ्याङ्ग्रो, मादल, बाजागाजा बजाउँदै नाचगान गर्दै रातो, पहँेलो, रङ्गीचङ्गी कपडामा सजिएर बिहिवार धार्चे गाउँपालिका ४ लाप्राकका बालवालिकादेखि वृद्धवृद्धासम्मका सबै जन्ती हिँडे ।
हँसिलो चेहरा बनाएर जन्ती हिँडेका उनीहरुलाई देख्दा गाउँमा मुखिया, कुल घराना कसैको बिहेवारी भएजस्तो तामझाम देखिन्थ्यो । बाहिरबाट पुगेकाहरु अचम्म मानेर दंग थिए, तर त्यहाँ अनुमान लगाएजस्तो मान्छेको बिहेवारी भएको थिएन । बिहे त थियो तर मान्छे नभएर हामीले खाने अन्न मकैको ।
गुरुङ समुदायको बाहुल्यता रहेको लाप्राकमा मकैको बिहे नौलो नभएपनि बाहिरका समुदायका लागि यो आश्चर्य लाग्ने खालको थियो । उत्तरी गोरखाको लाप्राक उच्च पहाडी भेगमा पर्छ । त्यहाँको मुख्य खेती मकै हो । स्थानीयले मकै खेती राम्रो होस् भनेर साइतमा मकैको बिहे गरी बारीमा छर्न तयार भएका छन् । शुक्रवारदेखि उनीहरुलाई फुर्सद हुँदैन, अब मकै लगाउने मेलो सुरु हुन्छ ।
एक साता अघि नै गाउँमा जैसी (पुरोहित) र झाँक्रीले मकैको बिहे गर्ने साईत जुराएर तयारी गरेका थिए । दुईदिनदेखि मकैको बिहेको दिनसम्म ‘बारना’ (कामकाज बार्ने) चलन छ, शुद्ध भएर बस्नुपर्छ । मकैको बिहे नगरी रोप्न मिल्दैन । लाप्राकमा अहिले मकै रोप्ने सिजन हो । लामो समयदेखि चल्दै आएको लाप्राकीको यो परम्परा धान्न शुद्ध भएर चोखो खाएर बिहानैदेखि लाप्राकी दिनभर रमझमा ब्यस्त बने ।
ससाना बालवालिकालाई बेहुला, बेहुलीको रुपमा सिंगारिएको थियो । मकैको बिहेको प्रतिकको रुपमा उनीहरु थिए । बिहेमा घरैपिच्छे एक जना अनिबार्य जानुपर्छ । त्यो भन्दा धेरै पनि जान मिल्छ । जानेहरु सबैले एक घोगा वा एक मुठी मकै लैजान्छन् । जन्ती गएका सबैले लाप्राक गाउँलाई एक फन्को लगाउँछन् । बेहुलीको घर तोकिएको ठाउँ पुगेपछि जन्तीलाई बेहुली पक्षकाले बाटो छेक्छन् । पैसा तिरेपछि बेहुला जान पाउँछन् । जन्ती बाजाजागासहित पुगेकाहरु नाचगान गर्छन । सबैले लगेको मकै एकै ठाउँमा जम्मा गर्छन । सबैको मकै मिसाउने र सुनपानी, गोबर तितेपातीले चोख्याउने चलन छ । ‘यसो गर्दा मकैमा घुन किरा लाग्दैन, चोखो हुन्छ भन्ने मान्यता हो’ लाप्राकका वडा अध्यक्ष राज गुरुङले भने ।
चोख्याएको मकै सबैले घर फर्कँदा बेलुकी एक, एक मुठी लिएर जान्छन् । त्यो मकै छर्ने बेला भएको मकैको बिउमा त कसैले भकारीमा राख्छन् । बिउ मकैमा मिसाएर रोप्ने गरिन्छ । ‘धेरै फल्छ, असिनापानीले खाँदैन भन्ने मान्यता छ’ अध्यक्ष गुरुङले भने । मकैको बिहे नाम दिएर लाप्राकीले गर्ने यो परम्परागत पुजा हो ।
यसलाई प्राकृतिक अर्थात बोन संस्कृतीका रुपमा लिने गरेको उनले बताए । अहिले सम्म एक सुर्का बारीमा पनि लाप्राकीले मकै छरेका छैनन् । कारण बिहेवारी नहुँदा सम्म त्यो साल कसैले पनि मकै रोप्दैनन् । बुधवारबाट अब लाप्राकमा मकै रोप्न खुल्ला भएको छ । सबैले बिहे गरेको मकै मिसाएर ठिक्क बनाएर राखेको बारीमा छर्न थाल्छन् ।
यस अघि नै मकै रोप्यो भने अनिष्ट हुने धार्मिक मान्यता त्यहाँ छ । बिहेपछि लाप्राकीहरु धुमधामले नाचगान गर्नुका साथै सामुयिक रुपमा भोज भतेर समेत गर्छन । सुर्का जमिन र भिरालो ठाउँ लाप्राकमा मकै र आलु मुख्य खेती हुने ठाउँ हो । मुख्य बाली राम्रो होस् भन्ने चाहनाले मकैको बिहेलाई संस्कृतिको रुपमा बिकास गर्ने योजना रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘लाप्राक र धार्चेको प्रचार गर्न पनि मकैको बिहेको संस्कृती देश बिदेशमा लोकप्रिय बन्दै गएको उनी बताउँछन् ।




