
देवतालाई दाम्लो !
मन्दिरमा पूजा गर्दा तपाईँ देवदेवीलाई के चढाउनु हुन्छ ? फूलपाती, अबीर, अक्षता, भेटी, नैवेद्य ? अनि अरु ?
गोरखामा एउटा यस्तो मन्दिर छ, जहाँ दाम्लो चढाएर पूजा गरिन्छ ।
गोरखा नगरपालिका ५, पस्लाङस्थित नाम्रुङदेवीथानमा ‘दाम्लो’ चढाएर पूजाआजा गर्ने सयौं बर्षदेखिको चलन अहिले पनि कायम छ । ‘गाईभैँसी बिरामी भए, ब्याउन गाह्रो भयो भने नाम्रुङदेवीको भाकल गर्छौ’, वडा अध्यक्ष समेत रहेका स्थानीयबासी रामकुमार राना मगर भन्छन्, ‘अनि आफूलाई अनुकूल समय मिलाएर थानमा गएर पूजा गरेर दाम्लो चढाउने चलन छ । विश्वासले हो कि कसरी हो, भाकल गरेपछि अहिलेसम्म सफल पनि भएको छ ।’
बारीमै उब्जिने पाटको, जुटको दाम्लो दाम्लो चढाउने चलन रहेको उनले बताए । ‘आजभोलि प्लास्टिक, नाइलनको दाम्लो पनि चढाउँछन् कसैकसैले’, रानाले भने । नाम्रुङदेवीथानमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत आउने गरेको मन्दिरका पुजारी तित्तबहादुर राना मगर बताउँछन् ।
‘यहाँका बासिन्दाको बिहेबारी, आइनोसाइनो धेरैतिर छन् त्यसैले हाम्रो नाम्रुङदेवीको धेरैतिर प्रचार प्रसार भएको छ’, पुजारी भन्छन्, ‘बस्तुभाउ बिरामी भयो भने दाम्लो चढाएर पूजा गर्दा ठिक हुन्छ भनेर गोरखा, तनहूँ, लम्जुङ, चितवनतिरबाट पनि यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन् ।’
गाईबस्तु बिरामी नभएका स्थानीयबासीले पनि बस्तुभाउ फलिफाप होओस्, नियमित रुपमा बाली जाओस्, ब्याउन समस्या नहोओस्, रोगब्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरेर दाम्लो चढाउने उनले बताए । यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने बारे यकिन नभए पनि तनहूँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा संग्रहालयका पूर्व कर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउँछन् ।
उनका अनुसार नाम्रुङदेवीथानमा असारको पुर्नेमा विशेष पूजाआजा र मेला पनि लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी मगर समुदायबाट हुने उनी बताउँछन् । ‘यहाँ कुखुरा, परेवा, बोका पाठा बली चढ्छ’, भट्टराई भन्छन्, ‘पहिले सरकारले पूजा खर्च दिने गथ्र्यो । अहिले के कसो छ कुन्नि ?’ नाम्रुङदेवीथानमा स्थानीयजातको कुखुराको अण्डा गाडेर मौसम जाँचबुझ गर्ने चलन पनि रहेको पुजारी राना मगर बताउँछन् ।
‘यहाँ हरेक बैशाखको एक गते लोकल कुखुराको दुईवटा अण्डा गाड्छौं’, उनी भन्छन्, ‘अर्को बर्षको बैशाख एकगते त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने यो बर्ष शुभ हुनेछ । अण्डा बिग्रियो, कुहियो भने यो बर्ष अशुभ छ भनेर थाहा हुन्छ ।’ हावाहुरी, असिनापात, भेल, बाढी, बर्षा, डँडेलो वा महामारीले गाउँलेलाई दुख दिने जनविश्वास रहेको उनले बताए ।




