
पालुङ्टार र बारपाक सुलीकोटमा जाइकाद्वारा पुनर्लाभ कार्यक्रम गर्न सम्झौता
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले गोरखा र सिन्धुपाल्चोकका भूकम्प पिडितको पुनर्लाभसम्बन्धी काम गर्ने भएको छ ।
२०७२ सालको भूकम्पको केन्द्र विन्दू बारपाक रहेको बारपाक सुलीकोट गाउँपालिका, पालुङ्टार नगरपालिका, सिन्धु पाल्चोक को साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिकामा पुनर्लाभको काम गर्ने जिल्ला कार्यक्रम संयोजक वुद्धिमान श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत जाइकाले सहभागिता मूलक ग्रामीण पुनर्लाभ परियोजना (पिपिआरआर) सञ्चालन गर्न लागेको हो । परियोजना आउँदो मार्च महिनादेखि २०२२ को मार्चसम्म लागु हुने श्रेष्ठले बताए । तीनबर्षे सो अवधिमा २७ करोड रुपैयाँको कार्यक्रम गर्ने उनको भनाइ छ ।
परियोजना लागु हुने बारपाक सुलीकोट गाउँपालिका र पालुङ्टार नगरपालिका लगायत सिन्धु पाल्चोकका दुवै पालिकाहरुमा हालै सम्झौता भइसकेको छ । जापान लगायत विभिन्न देशहरुका बिगत का बिपतपछिको पुनर्लाभ सम्बन्धी अभ्यासबाट दीगो पुनर्लाभका लागि दीर्घकालिन परिकल्पना तय गरी योजना तर्जुमा गर्ने, कार्यान्वयन र अनुगमनमा सहभागिता र अपनत्व सुनिश्चित गर्ने परियोजनापत्रमा उल्लेख छ । समुदायका सुविधाबिमुख र जोखिममा रहेका समुहहरु कोहीपनि नछुटाउनका लागि बिशेष ध्यानदिदैं पुनर्लाभका पहल कदमीहरुमा समावेशितालाई प्रबर्धन गर्नु अर्को पक्ष रहेको जिल्ला संयोजक श्रेष्ठले बताए ।
‘अझ राम्रो र बलियो निर्माण’ भन्ने सिद्धान्तलाई हाँसिल गर्न भौतिक पूर्वाधार र भवनहरुको पुनर्निर्माण गरेरमात्र पुग्दैन, यसका साथै ब्यक्तिगत र संस्थागत क्षमता सबल पार्न तथा भविष्यमा हुनसक्ने बिपद्का जोखिम न्युन गर्न बिभिन्न प्रकारका उपायहरु अबलम्बन गर्न सिकाउने पनि पुनर्लाभ परियोजना मा रहेको उनले बताए । विभिन्न अध्ययनहरुले भूकम्प प्रभावित समुदायहरुको जिविको पार्जन पुनर्लाभमा तत्काल सहयोगको जरुरी भएकाले त्यस सम्बन्धी काम पनि परियोजनामा समेटिएका छन् ।
परियोजना लागु भएका पालिकाका सामुदायिक संस्था वा समुहहरुको सहभागिता मूलक ग्रामीण पुनर्लाभ सम्बन्धि क्षमता अभिबृद्धि भएको हुनेछ । नमुुना पालिकाहरुका विकास योजनाहरुमा ‘अझ राम्रो र बलियो निर्माण’ सिद्धान्तमा आधारित पुनर्लाभका प्राथमिकता हरु समावेश गरिएको हुनेछ । नमुुना पालिकाहरुमा समुदायमा आधारित पुनर्लाभ क्रियाकलापहरु प्रबर्धन गर्ने सहयोगी संयन्त्र स्थापित गर्ने परियोजनाको कार्ययोजना रहेको छ । सहभागिता मूलक ग्रामीण पुनर्लाभ सम्बन्धि निर्देशिका तयार गरी अन्य प्रभावित क्षेत्रहरुमा प्रयोगकालागि प्रसार गरिने पनि सो परियोजनाको लक्ष्य रहेको छ ।
गुणात्मक प्रभावको लागि जापानका नगरपालिकाहरु र गैरसरकारी संस्थाहरु, जापानी स्वयम् सेवकहरुसंग सम्बन्ध बिस्तार तथा साझेदारीको गरी बिभिन्न अवसरको खोजी गर्ने परियोजनाको कार्यसूचीमा उल्लेख छ । त्यस्तै सहभागितामूलक ग्रामीण पुनर्लाभ मोडेल बिस्तार गर्नका लागि सिकाई र प्रकृयाहरुको दस्तावेजी करण गर्ने जिल्ला संयोजक श्रेष्ठले बताए ।




