
मन्त्री र सांसदले समय नदिँदा गोरखाका पर्यटकीय स्थल छनौट हुन सकेन
दरौँदी समाचारदाताः गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत तथा प्रदेश सभाका सांसदहरुले समय नदिँदा गोरखाका चार पर्यटकीय स्थल छनौट हुन सकेको छैन । छनौट गर्ने बैठकको अध्यक्षता गर्ने मन्त्री बस्नेत तथा सहभागी अन्य मन्त्री तथा सांसदहरुले गत पुसदेखि समय नदिँदा चार पर्यटकीय स्थल छनौट हुन सकेको जिल्ला समन्वय समितिले जनाएको छ । बैठक बस्न नसक्दा पुस मसान्तभित्र पठाइसक्नु पर्ने चार वटा पर्यटकीय स्थलको नामावली प्रदेश मन्त्रालयमा पठाउन नसकिएको जिससले जनाएको छ । पर्यटकीय स्थल छनौट नहुँदा त्यसका लागि बिनियोजित ४० लाख रुपैयाँ खर्च हुन नसकेको समन्वय समितिका प्रमुख अशोक गुरुङले गुनासो गरे । प्रदेशको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले गोरखा जिल्लाका १० वटा पर्यटकीय गन्तब्य छनौट गरी ती मध्ये चारवटा सिफारिस गरी पठाउन पुस १८ गते पत्राचार गरेको थियो ।
छनौट समितिमा निर्वाचित जेष्ठ प्रदेश सांसद संयोजक रहने र अन्य सांसद सदस्य रहने ब्यवस्था छ । उक्त ब्यवस्थाअनुसार प्रदेश सभामा निर्वाचित जेष्ठ सदस्य गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत हुन् । पुस २३ गते बैठकका लागि जिल्ला समन्वय समितिले पत्राचार गर्दा मन्त्री बस्नेतले समय दिएनन् । दोस्रो पटक माघ ५ गते बैठकका लागि पत्राचार गर्दा पनि समय नदिएका जिससका प्रमुख ंगुरुङले बताए । ‘त्यतिबेला पनि कोही माननीय आउनुभएन’, गुरुङले भने, ‘प्रदेशको पर्यटन मन्त्रालयले पुस मसान्तभित्र चार प्रमुख पर्यटकीय गन्तब्य छानौट गरेर पठाउन निर्देशन गरेको थियो । यसरी छानिएका गन्तब्यका लागि मन्त्रालयले चालु वर्ष १०÷१० लाख गरी गोरखामा ४० लाख रुपैयाँ बिनियोजन गरेको छ तर स्थल छनौट हुन नसक्दा पर्यटकीय गन्तब्यको प्रवद्र्धनमा खर्च गर्नुपर्ने बजेट खर्च हुन सकेको छैन ।’
अहिले गण्डकी प्रदेशका सबै जिल्लाबाट छनौट भएर मन्त्रालयमा बिवरण पुगिसकेको तर गोरखाबाट भने छनौट हुन नसकेको मन्त्रालयका एक कर्मचारीले बताए । जिल्ला समन्वय अधिकारी नहुँदा खरिदार दिपक गुरुङले बैठक राख्न मन्त्री र सांसदहरुसँग समन्वय गरिरहेका छन् । बैठकको अध्यक्षता भौतिक पूर्वाधार बिकास मन्त्री बस्नेतले गर्नुपर्ने भएकाले उनले समय दिएका छैनन् । गत पुसदेखि मन्त्री बस्नेत पटक(पटक गोरखाको बिभिन्न ठाउँको कार्यक्रममा सहभागी भए । तर जिल्ला समन्वय समितिमां बैठकमा सहभागी हुन समय नदिएको जिससले जनाएको छ । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, सांसद प्रकाचन्द्र दवाडी, हरिशरण आचार्य, धनमाया पोखरेल, मनकुमारी गुरुङ समितिका सदस्य छन् । उनीहरु सबैजसो गोरखा आइरहन्छन् तर पर्यटकीय स्थल छनौटको कामलाई महत्व दिएका छैनन् । मन्त्री र सांसदहरुलाई टेलिफोनबाट पर्यटकीय स्थलको छनौट गर्ने विषयमा बारम्बार जानकारी गराएको जिल्ला समन्वय समितिका खरिदार दिपक गुरुङले बताए । मन्त्री तथा सांसदहरुले आफु अनुकुलका पर्यटकीय स्थलको नाम प्रस्ताब गरेको र चारवटामा सहमति नजुट्दा बैठक बस्न नसकेको हुनसक्ने अनुमान छ । गोरखा दरबार, गोरखा संग्रहालय, मनकामना मन्दिर, श्रीनाथमण्डली, मनास्लुक्षेत्र, लिगलिगकोट लगायत १० वटा स्थलबाट छनौट गर्न पर्यटन मन्त्रालयले निर्देशन गरेको छ । समयमै चारवटा नाम सिफारिस नभए ४० लाख गुम्ने खतरा रहेको जिससले जनाएको छ ।




