
भ्रमण बर्ष २०२०, उद्योग बाणिज्य संघले माघ २५ गते पदयात्रा गर्ने
दरौँदी समाचारदाताः गोरखा उद्योग बाणिज्य संघले नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भ पारेर पदयात्रा गर्ने भएको छ । ‘गोरखा जाऔँ—पदयात्रामा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ संघले आगामि माघ २५ गते पदयात्रा गर्ने पदयात्रा कार्यक्रम ब्यवस्थापन समितिका संयोजक भगवानबाबु मास्केले जानकारी दिए ।
पदयात्रा कार्यक्रम व्यवस्थापन समितिले तयार गरेको कार्यतालिका अनुसार माघ २५ गते बिहान साँढे छ बजे गोरखा संग्रहालय परिसरमा जमघट भएर पदयात्रा सुरु हुनेछ । सो पदयात्रा पँदेली, बसपार्क, नयाँबजार, नयाँबसपार्क, पश्चिमकाली, नामरुङ मन्दिर, द्रब्यशाह चौतारो हुँदै पस्लाङ होमस्टेमा पुगेर नास्ता खाने कार्यक्रम छ ।
नास्तापछि खड्गदेवी मन्दिर, चिल्ड्रेन पार्क, मैदानकाली, बौद्ध गुम्बा, सतिपिपल, गैरीकुवा, मानेपानी, विन्ध्यावासिनी मन्दिर हुँदै भीमसेन पार्क पुगेर खाना खाने पदयात्रा व्यवस्थापन समितिले तय गरेको कार्यतालिकामा उल्लेख गरिएको छ । त्यस्तै खाना खाएर भिमसेन पार्कबाट हिँडेको पदयात्राका टोली पिपलथोक भीमसेन मन्दिर, जर्नेल धारा, बज्रभैरव, उपल्लोकोट, छत्रेढुङ्गा, रानीवन सरस्वती आश्रम, बराह मन्दिर, पाटेचौर, तीनधारे हुँदै छहरेमा रहेको गोरखा उद्योग बाणिज्य संघको सचिवालयमा चियापान कार्यक्रम गरेर सकिने छ ।
पदयात्रामा गोरखाका होटल ब्यबसायी, महिला उद्यमी, बिभिन्न सरकारी कार्यालय प्रमुखहरु, बित्तीय तथा गैरसरकारी संस्थाका प्रमुख लगायतका टोलीहरु सहभागी हुने मास्केले बताए ।
गोरखाको आन्तरिक पर्यटन बिकास र प्रवद्र्धनमा यो पदयात्राको महत्वपूर्ण भूमिका रहने उनले दावी गरे । ‘गोरखामा घुम्न आउने पर्यटकहरुलाई लाग्छ कि गोरखामा घुम्ने ठाउँ भनेकै गोरखा संग्रहालय र दरबार मात्रै हो’, उनले भने, ‘तर, गोरखामा घुम्ने ठाउँ दरबार र संग्रहालय मात्रै हैन अन्य ठाउँपनि छन् भनेर प्रचारप्रसार गर्ने उदेश्यले हामीले यो कार्यक्रम गरेका हौँ ।’ गोरखामा पर्यटन प्रबद्र्धन गर्न उद्योग बाणिज्य संघले सम्पूर्ण सरोकारवालाहरुसँग समन्वय गरेर अघि बढ्ने उनले बताए ।




