
एक्जिम वैंकको सहयोगमा पन्थडिही, कटहरे, हर्मी मुगे सडक कालोपत्रे हुने
भारतको एक्जिम वैंकको सहयोगमा गोरखामा २०.५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । पालुङ्टार नगरपालिका वडा नं. १ को पन्थडिही, २ को कटहरे, सिरानचोक गाउँपालिका ३ को हर्मी र लम्जुङको साइँलीटार जोड्ने सडक कालोपत्रे गर्न एक्जिम वैंक तयार भएको हो ।
‘पन्थडिही, कटहरे, हर्मी, साइँलीटार(मुगें) सडक कालोपत्रे गर्न व्याज सहुलियतको कर्जा दिन एक्जिम वैँक सहमत भएको छ’, प्रदेश सभाका सदस्य हरिशरण आचार्यले भने, ‘अब मुआव्जा सम्बन्धी कुरा स्थानीयस्तरमा टुङ्ग्याउनु पर्ने हुन्छ । स्थानीय स्तरमा कुरा टुंगो लागेपछि आउँदो दशैंभन्दा अघिदेखि नै काम सुरु हुने गरी काम सुरु हुने जानकारी आएको छ ।’
एक्जिम वैंक अफ इण्डियाले सो लगायत नेपालका अन्य १३ वटा योजनाको काम पनि गर्ने भएको छ ।
‘यो सडक कालोपत्रे गर्ने भनेर दुईबर्षअघिदेखि कुरा अघि बढेको थियो’, सांसद आचार्यले भने, ‘तर बिभिन्न दुई ठाउँका योजनाको विवादका कारण काम अघि बढेको थिएन । अब ती दुइटाको कुरा मिलेपछि सबै काम सुरु हुने भएको छ ।’
पन्थडिही, कटहरे, हर्मी, मुगे सडकको करिब आठ किलोमिटर खण्ड पालुङ्टार १ मा पर्छ । करिब आठ किलोमिटर खण्ड वडा नं. २ मा पर्छ भने करिब चार किलोमिटर खण्ड सिरानचोक ३ हर्मी क्षेत्रमा पर्ने पालुङ्टार १ का वडा अध्यक्ष कृष्णबहादुर परियार बताउँछन् ।
सडक आसपासको जग्गाको मुआव्जा नदिने भएकाले प्रभावित क्षेत्रका स्थानीयबासीसंग एक हप्ता भित्रै छलफल गरी सहमति जुटाउने वडा अध्यक्ष परियारले बताए ।
गोरखा घर भई केन्द्रीय स्तरमा रहेका सबै पार्टीका राजनीतिक नेतासंग समन्वय भइरहेको र उनीहरुबाट यथासीघ्र सो सडक निर्माणको प्रक्रिया सुरु गर्न आग्रह भएको सो आयोजनाका प्रमुख सुशील ढकालले जानकारी दिए । जग्गाको मुआव्जा नदिने र सडक क्षेत्रभित्र पर्ने पक्की संरचनाको मात्र मुआव्जा दिने ब्यबस्थ भएकाले सोको कागजी प्रक्रिया सम्पन्न भएपछि ठेक्का प्रक्रिया सुरु हुने इञ्जिनियर ढकालले बताए ।




