| शनिबार, कार्तिक २८, २०८३

माछाखोला, खोर्लाबेशी र तातोपानीमा मोबाइल चार्ज स्टेशनसहित सडकबत्ती जडान

पर्यटन पदमार्ग माछाखोला, खोर्लावेशी र तातोपानीमा सडक बत्ती जडान गरिएको छ ।

सोलार प्रविधिबाट चल्ने, आठबर्ष ग्यारेण्टी भएको ४० वाट क्षमताको सडक बत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

गाउँपालिकाको वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत सडक बत्ती राखिएको अध्यक्ष गुरुङले बताए । वैकल्पिक उर्जा कार्यक्रमका लागि गाउँपालिकाले १५ लाख ६५ हजार रुपैयाँ बिनियोजन गरेको थियो ।

‘आठबर्षसम्म रातदिन बल्ने बत्ती जडान गरिएको छ’, अध्यक्ष गुरुङले भने, ‘रम्बा टेक्निकल इन्टरनेशनल टेक्नोलोजीमार्फत जोडिएको सो बत्ती एउटा जडान गर्न ९४ हजार आठसय रुपैयाँका दरले खर्च भएको छ ।’ सो बत्ती माछाखोलामा दुई ठाउँमा, खोर्लाबेशीमा दुई ठाउँमा र तातोपानीमा एक ठाउँमा जडान गरिएको छ । अबको एकहप्ताभित्र धार्चेडाँडामा एउटा र गुप्सीपाखाको बस्तीमा केही जडान गरिने उनले बताए ।


साथै पर्यटन पदमार्गमा हिड्ने यात्रुलाई ध्यानमा राखी मोबाइल चार्ज स्टेशन पनि निर्माण गरिएको छ । सोही सोलार प्रविधिबाट मोबाइल चार्ज गर्न सकिने गरी मोबाइल चार्जस्टेशन निर्माण गरिएको अध्यक्ष गुरुङले बताए । सो चार्जर पर्यटक, गाइड, भरिया, खच्चड गोठाला तथा स्थानियले प्रयोग गर्न सकिने पनि उनले बताए ।

आउँदो बर्ष रुपिङ्ला(पास)मा पदमार्गमा लेक लाग्ने ठाउँमा अक्सिजन सिलिण्डर जडित सडक बत्ती जडान गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्