| शनिबार, कार्तिक २८, २०८३

यत्रतत्र सर्वत्र भोला र झिलिमिली

तपाई घरबाट बाहिर निस्कने बित्तिकै बाहिर देख्ने फोहरमध्य सबैभन्दा धेरै फोहर के को देख्नुहुन्छ ? सहजै उत्तर आउन सक्छ, प्लास्टिक । प्लास्टिकमध्य पनि सबैभन्दा धेरै केको खोल देख्नुहुन्छ ? योचाहिँ हेक्का राख्नु भएको छैन कि ?
गोरखाको सडकमा सबैभन्दा धेरै देखिने प्लास्टिकमध्य सूर्तिका खोलहरु भेटिने गरेको छ । सडक, फुटपाथ, नाली, फोहर थुपारिएको ठाउँ, झाडी तथा यत्रतत्र, सर्वत्र सूर्ति तथा गुट्खाको खोल धेरै भेटिन्छन् ।

सूर्ति तथा गुट्खामध्ये पनि कुनचाहिँ धेरै छन् ? हेक्का नराख्नु भएको भए अब हेक्का राख्नुस्, झिलिमिली सूर्ति र भोला गुट्खा । गोरखालीको स्वास्थ्य र गोरखाको वातावरण बिगार्नमा यिनै गुट्खा र सूर्तिको भूमिका सबैभन्दा धेरै छ ।
स्थानीय व्यापारीका अनुसार गोरखामा झिलिमिली तयारी सूर्तिको एकछत्र व्यापार छ ।

शुभलक्ष्मी सूर्ति उद्योग काठमाडौंबाट आउने झिलिमिली सूर्तीले बिगत आठबर्षदेखि एकछत्र व्यापार गरेको हो । ‘गोरखामा मात्र होइन, धादिङ, तनहूँ, लम्जुङ र मनाङमा पनि यो झिलिमिली सूर्तीको एकछत्र व्यापार छ । झिलिमिली सूर्ति बेचेबापत शुभलक्ष्मी सूर्ति उद्योगले गोरखालगायत धादिङ, तनहूँ, लम्जुङ र मनाङका व्यापारीहरुलाई देश, विदेश भ्रमण लैजाने गरेको व्यापारीहरु बताउँछन् ।

अर्को एकछत्र व्यापार गर्ने गुट्खा हो, भोला । श्रीराम टोबाको कम्पनी बुटबलबाट उत्पादन हुने भोलाले बिगत दुईबर्षदेखि एकछत्र व्यापार गरेको अधिकृत विक्रेता शिव खनाल बताउँछन् । ‘पहिले पुकार भन्ने पनि चल्थ्यो तर उपभोक्ताको माग धान्न नसकेर भोला भित्रिएको हो । त्यसपछि उपभोक्ता सबैको भोलामा नसा बस्यो । अहिले भोला मात्र बिक्री हुन्छ’, अधिकृत बिक्रेता खनाल भन्छन् ।

काँचो सूर्तीमा गोरखामा सुपर पावर, महाकाली र सुपर फटाफट बिक्री हुने गरेको छ । तयारी सूर्ती र गुट्खा जति धेरै काँचो सूर्तीको व्यापार नरहेको सुपर पावर सूर्तीका अधिकृत विक्रेता काजी श्रेष्ठ बताउँछन् । मानव स्वास्थ्य जोखिममा पारेबापत सरकारले स्वास्थ्य जोखिम कर लिने गरेको छ तर वातावरण जोखिममा पारेबापत के गर्ने भन्ने बारे भने कसैले चासो राखेको पाइएको छैन ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८ मा अठार वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको विभिन्न ठाउँमा धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र उल्लेख भएको सूचना टाँस्नु पर्ने, सार्वजनिक स्थलमा लाइटर, सलाई राख्न नहुने, कुनै वस्तु खरिद गरेमा सूर्तिजन्य पदार्थ सित्तैमा वा उपहार स्वरुप पाउने शर्त राखी कसैले पनि कुनै वस्तु बिक्री वितरण गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।

तर गोरखाका किराना पसल, फलफूल पसल चनाचटपटेको पसलमा समेत झिलिमिली सूर्ती तथा भोला पाइने गरेको छ । यसको अनुगमन गर्न सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वको टोलीले अनुगमन गर्ने व्यवस्था गरिएको हुन्छ । तर यसको बिषयमा अनुगमन भएको पाइएको छैन ।

सूर्तिको खोलले प्रदुषण गराएको बारे कार्यालयमा धेरै गम्भीर छलफल हुने गरेको गोरखा नगरपालिकाका वातावरणविद् धु्रव घिमिरे बताउँछन् । ‘यसको बारेमा हाम्रो कार्यालयमा गम्भीर छलफल हुने गरेको छ’, घिमिरे भन्छन्, ‘सबैभन्दा पहिले त यस्तो पदार्थ खादै नखानुस् भन्ने हो । खाने नै हो भने, त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा अन्तरक्रिया गर्छौं । सूर्तिका खोलहरु फ्याँक्न राखिएका बाल्टिनहरु नै उच्छृङल व्यक्तिहरुले फुटाइदिने गरेका छन् ।’

सूर्तीका खोलबाट हुने प्रदुषण कसरी ब्यवस्थित बनाउने भन्ने बारे टोलविकास संस्थासंग मिलेर कार्यक्रम गर्ने उनले    बताए । सूर्ती उत्पादक कम्पनीहरुले काठमाडौं लगायतका सहरतिर डस्टबिन वितरण गर्ने, फोहर व्यवस्थापन गर्ने गरेका छन् तर गोरखामा सूर्तिजन्य पदार्थबाट पैदा भएका फोहर जहाँतहीँ हुँदा पनि वास्ता गरिएको छैन ।

‘धेरै कुरा व्यवस्थित हुन बाँकी छ’, उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले भने, ‘यसलाई कसरी ब्यवस्थित बनाउने भन्ने बारे अन्तरक्रिया गर्नु आवश्यक छ ।’ सूर्तीका खोलबाट भएको प्रदुषण नियन्त्रण गर्न छिट्टै कार्यक्रम ल्याउने श्रीराम टोबाको कम्पनीका अधिकृत विक्रेता शिव खनाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्