
ब्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्यको चामल बिक्न छाड्यो
अश्विन दानी : स्थानीय ब्यापारीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्य ब्यबस्थापन तथा ब्यापार कम्पनी गोरखाबाट बिक्री हुने चामलको बिक्रीदर घट्दै गएको छ । ब्यापारीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्यको भन्दा बजारको चामलको मुल्य सस्तो हुन थालेपछि चामलको बिक्रीदर घट्दै गएको हो ।
हाल खाद्य ब्यबस्थापन तथा ब्यापार कम्पनी गोरखाबाट चामल बिक्री हुँदैन । माछिखोला डिपो कार्यालय र सिर्दिवास डिपो कार्यालयमा पनि सो चामल बिक्रीदर घट्दै गएको छ । सबै क्षेत्रमा सडक र बजारको पहुँच विस्तार हुनु, बजारको चामलसँग खाद्यको चामलले प्रतिस्पर्धा गर्न नसक्नु र खाद्यको चामलको गुणस्तरीयता प्रति नागरिकहरुको बिश्वास घट्नुले कम्पनीको चामल बिक्न छाडेको खाद्य ब्यबस्थापन तथा ब्यापार कम्पनी डिपो कार्यालय माछिखोलाका प्रमुख शिव सुनारले जानकारी दिए ।
सडक र बजारको पहुँच भएको ठाउँमा खाद्यको चामल भन्दा बजारको चामल सस्तो पर्ने हुनाले खाद्यको चामल बिक्नै छाडेको उनले तर्क गरे । ‘माछिखोलामा सडक आउन थालेपछि खासै खाद्यको चामल बिक्री नै हुँदैन’ सुनारले भने, ‘यहाँ खाद्यको चामल भन्दा ब्यापारीहरुले बिक्री गर्ने चामल नै सस्तो पर्छ । त्यसैले खाद्यमा चामल बिक्री हुन छाडेको छ ।’
चामल बिक्री हुन छाडेपछि चालु आर्थिक बर्षमा डिपो कार्यालय माछिखोलाका लागि खाद्य कार्यालय गोरखाबाट चामल ढुवानी नभएको उनी बताउँछन् ।
‘चामल बिक्न छाडेकाले यो बर्ष माछिखोला डिपोमा चामल ढुवानी नै भएको छैन’, उनले भने, ‘गत बर्षको स्टक चामल बाँकी थियो । सोही चामल यो बर्ष बिक्री गर्र्दैछौँ । बिगतको तुलनामा बिक्रीदर घट्दै गएको छ ।’ डिपो कार्यालय माछिखोलामा गत बर्षको स्टक चामल अझै तीन सय ९० क्वीन्टल १० केजि रहेको उनले बताए ।
कम्पनीका अनुसार हाल खाद्यबाट बिक्र हुने सोना मनसुली माछिखोला डिपोमा प्रतिकिलो ४७, जिरा मनसुली ५८ र जापनिज चामल प्रतिकिलो ४८ रुपैँया पर्छ भने सिर्दिवास डिपोमा सोना मनसुली ५०, जिरा मनसुली ६५ र जापनिज ४८ रुपैँया पर्छ ।
सिर्दिवसमा सडक र बजारको पहुँच कम भएकाले माछिखोलाको तुलनामा बढि चामल बिक्री हुने गरेको डिपो कार्यालय सिर्दिवासका प्रमुख गोपाल राई बताउँछन् । ‘यहाँ सडक र बजारको पहुँच कम नै भएकाले बजारमा ब्यापारीले बेच्ने भन्दा हामीले बेचेको चामल सस्तो पर्छ’, उनले भने, ‘त्यसैले यहाँबाट चामल बिक्री भई राखेको छ ।’ राईका अनुसार चालु आर्थिक बर्षमा खाद्य कम्पनीबाट सिर्दिवास डिपोमा हालसम्म दुई हजार ६१ क्वीन्टल ८५ केजी चाम धुबाँनी भएको छ । जसमध्य हालसम्म १२ सय क्युटल चामल बिक्री भईसक्यो ।
खाद्य कम्पनीले ब्यापारीहरुसँग प्रतिप्रर्धा गर्न नसक्दा चामलको माग घट्दै गएको खाद्य ब्यबस्थापन तथा ब्यापार कम्पनी गोरखाका प्रमुख नविन बस्नेतले बताउँछन् । ‘ब्यापारीहरुले बेच्ने चामलको मुल्य छोटो समयमै घटबढ भईराख्छ । तर, खाद्यले बिक्री गर्ने चामलको मुल्य घटबढ हुन लामो समय लाग्छ’, उनले भने, ‘त्यसैले हाम्रो चामल भन्दा ब्यापारीहरुले बेच्ने चामल सस्तो पर्छ । नागरिकहरु जता सस्तो पर्छ उतै किन्छन् ।’ खाद्यको चामल बिक्रीदर बृद्धि गर्नका लागि ब्यापारीहरुले भन्दा सस्तोमा चामल उपलब्ध गराउनु पर्ने उनले बताए ।




