| शनिबार, कार्तिक २८, २०८३

काठमाडौंमा लालबहादुर गन्धर्व सारङ्गी साँझ हुने

यादव देवकोटा :

अन्ततः एउटा सपनाले आकार लिँदैछ, जुट्दैछौं हामी ‘लालबहादुर गन्धर्ब सारंगी साँझ’ २०७६ पुष २६ गतेको तयारीमा । तपाईं सबै सँग कार्यक्रम सफल बनाउन सहयोगको अनुरोध सहित कार्यक्रममा निमन्त्रणा छ है ।

लालबहादुर गन्धर्व सारंगी सा‘झ २०७६

नेपाली समाज विविधतापूर्ण सांस्कृतिक सिर्जनाले शोभायमान छ । शताब्दीऔं लामो समयदेखि नेपाली पहाडी भेग गाइनेहरुको गलाबाट प्रष्फुटित अनेकन कर्खा, सवाई, गायनहरुमा आफ्नो समयको कथा गुनेर बाँचिआएको छ ।

सर्वसाधारण मानिसहरुको दुख, पीडा, हाँसो, खुशीदेखि युद्ध र लडाईका त्यस्ता सवाईहरु, कर्खा र लोकभाकाहरु नेपाली ग्रामीण जीवनको अलिखित इतिहास पनि हो । यसरी एकातिर गाइने दाईहरुले नेपाली जनताको इतिहासलाई आफ्ना गायनमा बचाएर ल्याए भने अर्कातिर दुख वेदना कहने कोही आडभरोसा नभएको दिनमा तिनैले गाउले जीवनको ओठमा बाणी भरे र तिनको कहरलाई सारंगीका तारहरुमा रेटेर निस्किएको झंकारहरुमा प्राण दिए ।

हुलाक र कटुवाल प्रथाको विकास नभएको दिनमा सूचना संवाहकको काम गरे । नेपाली जीवनको महत्वपूर्ण हिस्सा बने र एउटा अलग्गै सांस्कृतिक इकाईको रुपमा गन्धर्व संगीतलाई सारंगीका तारहरुमार्फत जीवन्त तुल्याए ।

लाल बहादुर गन्धर्व आफ्नो समयका त्यस्तै एकजना असाधारण गायन क्षमता र सारंगी वादनको कलाले सुसम्पन्न नेपाली प्रतिभा थिए । गोरखाको भिरालो पाखा नाघेर त्यसबखत मानिसहरुलाई यातायात, संचार, सम्वन्ध, सुविधाहरुले सकसमा बाँधेको दिनमा काठमाडौं उत्रिएका थिए ।

गन्धर्वहरुको राष्ट्रिय भेलामा जनकवि केशरी धर्मराज थापाहरुको सम्पर्कबाट काठमाडौं उत्रिएका उनले आफ्नो कला र गलालाई प्रमाणित गर्दै रेडियो नेपालमा गुञ्जिाएका थिए । पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डाँफे चरी लगायतका अनेकन कर्खा, सवाई उनले रेडियो नेपालबाट गुन्जाएका थिए । मानिसहरुका बीच त्यसैबाट परिचित भएका थिए ।

मानिसहरुलाई शहरमा उत्रनु र यहाँ अरुले चिन्ने, जान्ने अलग्गै परिचय बनाउनु आजको दिनमा समेत फलामको च्यूरा चपाए जस्तो कठीन छ । कथम्, कोही चम्किईहाल्यो भने त्यो चमकधमकबाट निस्केर आफ्नो सालनाल गाडिएको माटोमा फर्कनु अकल्पनीय जस्तो छ, आजै पनि । तर, बीसको दशकमा शक्तिशाली राजा महेन्द्रले समेत ब्यक्तिगत तवरले परिचय राखेका लालबहादुर गन्धर्व रेडियोमा गुञ्जिएको आफ्नो स्वरको यात्रालाई यतै चटक्कै बिसाएर आफ्नो माटोमा फर्किए ।

बरु सदरमूकामको समेत तामझाम छाडेर त्यसबखतको एउटा टुहुरे भन्न मिल्ने रैथाने बजार घ्याम्पेसालमा उत्रिए । उतै जीवनको आधार उभ्याए । ग्रामीण मानिसहरुका कथा सारंगीको धूनमा उने । तिनैका बीचमा गाए । तिनैलाई कहिले रुवाए, कहिले फुल्याए, कहिले हँसाए । यसरी राष्ट्रिय स्तरमा उठिसकेका लालबहादुरले राजधानीको चमकधमक होइन गोरखाको सुदूर उत्तरी भेगका गाउँलेहरुका बीचमा आफुलाई गलाका माध्यमले पोखे । सारंगीका तारमा रेटे । गोरखाको पन्द्रुङ्ग, मसेल, ताकुकोट, बगुवा, तान्द्राङ्ग, धावा, अश्राङ्ग, बोर्लाङ्ग, माँझ लाकुरीबोटदेखि सदरमूकाम पोखरीथोकका घर, गाउँ, टोल, बस्तीहरु कुन होला, जहाँ लालबहादुर नपुगेका होउन् र उनको सारंगी नरेटिएको होस् । ती ग्रामीण संगीतज्ञ, स्वर शिल्पी, उस्ताद लालबहादुर चालिस उमेर काटेका ती भेगका हरेकजसो मानिसको ह्दयमा छन् । सम्मानमा छन् ।

अब त लालबहादुर बूढ्यौलीको यात्रातिर लागे । पचहत्तर हिउँदको जिन्दगी बोकेर आज पनि उनी थरथर काम्न थालेको स्वरमा गोरखाको मध्य उत्तरी बजार घ्याम्पेसालमा सारंगी रेट्दै आफ्नो समयको कथा गीतमा उनिरहेका भेटिन्छन् । उनीसँग आज पनि दुरुस्तै छ, आफ्ना पिताहरु मार्फत् विरासतमा प्राप्त नब्बे सालको भूइँचालको कर्खा, विश्वयुद्धमा लड्न गएर उतै बेपत्ता लोग्नेको यादले विह्वल नारीको वेदनाको सवाई, गाउँले दुखियाहरुको अनेकन पीरमर्काहरुको गीत ।

रैथाने अनेकन अगुवाहरुको कर्खा र आफ्नो समयको भाका । तर, त्यो आजको यो होहल्ला र चर्काचर्कीका दिनमा पनि गाउँमै उतै गुञ्जिएर उतै हराएको छ ।

तर, यो घटना कुनै रमाइलो विम्व होइन नेपाली समाजका लागि । लालबहादुरझैं कति प्रतिभा शहरको रमझममा अडिन र उभिन नसकेका कारण नै त्यसै गाउँमा गुमनाम छन् । बिर्सिइएका छन् । तर, के हामीले आज लगभग हराउन थालेको गन्धर्व गायन, कर्खा र सवाईका एकजना सिद्धहस्त स्वरशिल्पीलाई यत्तिकै बिलाएर, हराएर, गुमनाम भएर सिद्धिन दिन मिल्छ त ? हामीहरुले सोच्यौं, मिल्दैन ।

उनले जुन अद्वितीय प्रतिभाले नेपाली समाजको दुखलाई आवाज दिए, अब समय आएको छ, जीवनको उत्तरार्धमा पुगिसकेका यस्ता प्रतिभासम्पन्न सांस्कृतिक निधिलाई कमसेकम गुमनाम भैरहन नदिने ।

तर, कसरी ? हामीलाई लाग्यो– एउटा सांस्कृतिक साँझ किन नगर्ने काठमाडौंमा ? सारंगीसँग जोडिएर आफ्नो गला निखारेका लालबहादुरसँग मिलाएर त्यसलाई लालबहादुर गन्धर्व सारंगी साँझका रुपमा किन प्रस्तुत नगर्ने ?

त्यही हुटहुटी र अनेकन छलफलहरुको निष्कर्ष स्वरुप हामी तपाईहरु समक्ष यो सादर निमन्त्रणा सहित आएका छौं – यही पुष २६ गते अपरान्ह दुईबजे

काठमाडौंको प्रज्ञा भवनमा लालबहादुर गन्धर्व सारंगी साँझ २०७६ आयोजनाको । तपाईको अनेकन व्यस्तताहरुलाई ध्यान दिँदै आजै हामी उक्त दिनको तपाईको महत्वपूर्ण समय लालबहादुर सा‘झका लागि पैंचौं माग्छौं ।

यहाँको विशिष्ट उपस्थितिका लागि निमन्त्रणा गर्दछौं ।

 

देवकोटाको फेसबुक वालबाट

प्रतिक्रिया दिनुहोस्