
गोरखाका स्थानीय सरकारको खर्च गर्ने क्षमतामा प्रश्नचिन्ह, पाँच महिनामा विकास खर्च सुन्य प्रतिशत
चालु आर्थिकबर्षको झण्डै आधाआधी बितिसक्दा पनि गोरखाका अधिकांश गाउँपालिकाहरुले विकास बजेट खर्च गरेका छैनन् । आर्थिक बर्षको पाँच महिना बितिसक्दा यहाँका पाँच वटा गाउँपालिकाको विकास बजेट खर्चदर सुन्य प्रतिशत रहेको छ ।
चालु आर्थिक बर्षको प्रथम चौमासिक(कात्तिक महिनासम्म) मा ती गाउँपालिकाको विकास बजेट खर्चदर सुन्य प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
गोरखामा ११ वटा स्थानीय तह छन् । तीमध्य छ वटा स्थानीय तहको विकास बजेट खर्चदर पाँच देखि ११ प्रतिशतसम्म रहेको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।
चुमनुब्री गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, शहीदलखन गाउँपालिका र सिरानचोक गाउँपालिकाको पुँजीगत तर्फको प्रगति सुन्य प्रतिशत रहेको प्रमुख प्रशासकीय अधिकृतहरुले जनाएका छन् ।
सदरमुकाममा रहेको गोरखा नगरपालिकाको विकास बजेट खर्चदर ७.६२ प्रतिशत रहेको लेखा अधिकृतले जानकारी दिए । पालुङ्टार नगरपालिकाले विकास निर्माणतर्फ ११ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । त्यस्तै आरुघाट गाउँपालिकाले ६ प्रतिशत, गण्डकी गाउँपालिकाले पाँच प्रतिशत खर्च गरेको जनाएको छ । अजीरकोट गाउँपालिकाले पनि पहिलो चौमासिकमा ११ प्रतिशत विकास बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृतहरु बताउँछन् । ‘सबै योजनाहरुको उपभोक्ता समिति गठन भइसक्यो ।
समितिलाई अभिमुखीकरण पनि गरिसकेका छौं’, बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने, ‘ठूला योजनाहरु धमाधम टेण्डर आव्हान गर्ने र उपभोक्ता समितिले गर्ने कामको योजना सम्झौता गर्ने चरणमा छौं ।’ दोस्रो चौमासिकमा विकास बजेटतर्फ अधिकत्तम प्रगति देखिने उनले बताए । अग्रिम पेश्की दिने प्रचलन नभएकाले पनि खर्चतर्फ प्रगति नदेखिएको चुमनुब्री गाउँपालिकाका कर्मचारी वेदप्रकाश ढकालले जनाए ।
योजनाहरुको सर्भे भएर टेण्डर प्रक्रियामा रहेकाले बजेट खर्च गर्न नसकिएको सिरानचोक गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुँबरले जानकारी दिए । गतबर्षदेखिको क्रमागत योजनाको भुक्तानी भए पनि चालु आर्थिक बर्षको नयाँ योजनाको भुक्तानी नभएको शहीदलखन गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए । पाँच महिना बितिक्दा पनि खर्च नभएको विकास बजेट असार लागेपछि हतारहतार खर्च गरेर सक्ने प्रवृत्ति अहिले पनि सुधार नभएको भन्दै स्थानीयबासीले भने आलोचना गरेका छन् ।
‘वैशाख लागेपछि टेण्डर गर्ने, इष्टमित्र र पार्टीका कार्यकर्तालाई कोटेशन बाँड्ने अनि असार लागेपछि हतपतमा लतपत गरेर बजेट स्वाहा पार्ने बिगतदेखिको संस्कार अहिले पनि कायमै छ’, स्थानीय मनोज कुँबरले भने, ‘पञ्चायती व्यवस्था होओस् कि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भनेर जति ‘तन्त्र’ फेरिए पनि देशको अबस्था ज्यूँकात्यूँ रहन्छ ।’
विकास बजेट खर्च गर्न स्थानीय सरकारको क्षमता पर्याप्त नभएको उनले बताए ।




