
गोरखामा पहिलो पटक रात्री बस सेवा सुरु
गोरखामा पहिलो पटक रात्री बससेवा सुरु भएको छ । सोतीबाट आरुघाट, गोरखाबजार हुदै काठमाण्डौँ रुटमा बिहिबारदेखि रात्री बससेवा सुरु गरिएको हो ।
जिल्लामै पहिलोपटक रात्री बससेवा दरौंदी यातायात कम्पनी प्रालिले सञ्चालन आरम्भ गरेको हो ।
हाललाई एउटा बस काठमाडौं जाने र एउटा बस गोरखाको सोतीसम्म चल्ने प्रालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘अहिले एउटा बस साँझ साँढे छ बजे काठमाडौंका लागि सोतीबाट छुट्ने र अर्को एउटा सोही समयमा काठमाडौंबाट गोरखा सोतीका लागि छुटाइन्छ’, उनले भने, ‘यात्रुको माग बढ्दै गयो भने थप गर्ने योजना छ । अहिले पनि रात्री सेवामा यात्रा गर्न चाहने यात्रुको मागको आधारमा रात्रीसेवा सुरु गरिएको हो ।’ सोतीदेखि गोरखा बजार हुदै काठमाडौं सम्मको सडकको दुरी दुईसय पाँच किलोमिटर रहेको छ । सो रुटका लागि प्रालिले सातसय बीस रुपैयाँ निर्धारण गरेको छ ।
बिहिबार पहिलो दिन सोतीदेखि १५ जना यात्रुले सिट बुक गरेका श्रेष्ठले जानकारी दिए । साँझ साँढे छ बजे छुटेको बस बिहान पाँच बजे काठमाडौं पु¥याइने र काठमाडौंबाट छुटेको बस पनि सोतीमा सोही समयमा आइपुग्ने श्रेष्ठले बताए । बसभित्र नेपाल सरकारले निर्धारण गरेबमोजिमका डिलक्स बसभित्र हुनुपर्ने सबै सुविधा राखिएको प्रालिका श्रेष्ठले जानकारी दिए । ‘बसभित्र नेपाल सरकारले तोकेअनुसार हरेक सिटमा मोबाइल चार्जर, पंखा, एयर कुलर, एलइडी भिडियोलगायतका सुविधा रहेका छन्’, उनले भने ।




