
अधिकांश पोखराथोकबासीको स्वास्थ्य जोखिममा, अल्पआयुमै मर्नेको संख्या धेरै
अश्विन दानी : गोरखा नगरपालिका वडा नम्बर ६ पोखराथोकका शिव सिर्मलको २०७४ सालमा ३२ बर्षको उमेरमा र सरस्वती मक्रातीको पनि सोही साल ४४ बर्षको उमेरमा मृत्यु भयो ।
सोही ठाउँका बाबुराम मक्रातीको गतबर्ष ४५ बर्षको उमेरमा र गणेश सिर्मलको ४४ बर्षको उमेरमा मृत्यु भयो । यसैगरी यसबर्ष पनि सोही ठाउँका जयराम परियारको ४२ बर्ष र गोरी बरामको ३० बर्षकै उमेरमा मृत्यु भयो ।
पोखराथोकमा अल्प आयुमै मृत्यु भएका यी पछिल्ला उदाहरण मात्रै हुन् । यसअघि पनि सो गाउँमा ५० बर्ष नपुग्दै मृत्यू भएकाहरुको सूची लामै छ । एक तथ्याङक अनुसार हाल नेपालीहरुको औसत आयु ७१ बर्ष रहेको छ । तर, उक्त गाउँमा एक बर्ष भित्रै ३० बर्षदेखि ५० बर्ष उमेर समुहका आधा दर्जन भन्दाबढी मानिसहरुको अकालमै मृत्यु भएको स्थानीयवासी बताउँछन् ।
‘पछिल्लो तीन बर्षमा हाम्रो गाउँमा मृत्यू भएकाहरुको तथ्याङ्क हेर्ने हो भने हरेक बर्ष ६/७ जनाको अल्पायूमै मृत्यु हुने गरेको छ’, स्थानीय बाबुराम सिर्मलले भने, ‘जतिपनि अल्पायूमा मृत्यू हुनेहरु छन् ती सबै अचानक गम्भिर बिरामी हुने अनि अस्पताल लगेपनि उपचार नलागेरै मरेका हुन् ।’ उक्त गाउँमा अल्पायूमै मृत्यु हुनेहरु सबै ज्याला मजदुरी गरी जीवनयापन गर्ने विपन्न परिवारका सदस्य रहेको अर्का स्थानीयवासी सोमबहादुर अच्छामी बताउँछन् ।
‘अल्प आयुमै मृत्यु हुनेहरु सबै जनाको मुख्य पेशा भनेकै ज्याला मजदुरी हो’, अच्छामीले भने, ‘उनीहरु काम पाएको बेला दिनमा १५÷१६ घण्टा पनि काम गर्ने अनि खल्तीमा पैसा भएपछि अत्याधिक जाँडरक्सी खाने गर्थेँ ।’ उक्त गाउँमा अल्पायूमा मृत्यू भएकाहरुको अबस्थालाई हेर्दा अधिकांशलाई दीर्घरोग लागेर मृत्यू भएको पाइएको अच्छामी बताउँछन् ।
‘जीवनभरि कडा परिश्रम गर्ने, अनि अत्याधिक जाँडरक्सी सेवन गर्ने, स्वास्थ्यको ख्याल नगर्ने भएकाले मुटु, कलेजो, फोक्सो सम्बन्धी रोग लागेर यहाँका मानिसहरुको अकालमै मृत्यू हुने गरेको हो’, सिर्मलले भने, ‘उनीहरुलाई रोग लाग्न सुरु हुँदा हेलचेक्र्याइँ गरेर नजचाउने, जचाए पनि समयमै औषधी नखाने अनि औषधी खाँदा पनि रक्सी खान नछाड्ने प्रवृत्ति थियो । त्यसैले दीर्घरोग अन्तिम अबस्थामा पुगेपछि अस्पतालमा लगेपनि उपचार सम्भव नभएर मृत्यु हुने गरेको पाइएको छ ।’
पोखराथोकका मानिसको औसत आयु अन्य ठाउँका मानिसको तुलनामा कम भएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्त स्वीकार गर्छन् । खानपानमा बेवास्ता गर्ने, स्वास्थ्यमा हेलचेक्र्याइँ गर्ने गरेकाले सो गाउँमा यस्तो दुखद घटना हुने गरेको नगरप्रमुख पन्तको तर्क छ । तर हाल त्यहाँको यो समस्या बिगतको तुलनामा केही कम हुँदै गएको उनले बताए ।
‘केही समयअघि पोखराथोकका बासिन्दाहरु अस्वस्थकर बानी ब्यबहार का कारण बिरामी पर्ने, समयमै स्वास्थ्य संस्था नजाने, गएपनि खानपानमा ध्यान नदिने गरेकाले कम उमेरमै मृत्यु हुने समस्या जटिल थियो’, नगर प्रमुख पन्तले भने, ‘तर, हाल त्यहाँ सरकारी र गैरसरकारी संस्थाहरुले विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्ने गरेकाले बिगतका तुलनामा यो समस्या कम हुँदै गईरहेको छ ।’
हाल सो बस्तीमा जनचेतना मुलक कार्यक्रमहरु भईरहेको बताउँदै नगरप्रमुख पन्तले नगरपालिकाको तर्फबाट पनि यस्ता समस्या निर्मुल पार्नका लागि बिभिन्न कार्यक्रमहरु गर्ने बताए ।
अस्वस्थकर खानपान, मानसिक तनाब, आर्थिक बिपन्नता, स्वास्थ्यमा पहुँच नहुनु तथा सानै उमेरमा विवाह गरी धेरै सन्तान पाउनु जस्ता विभिन्न कारणले मानिसको औसत आयु कम हुने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक नवराज खड्काले बताए । ‘हाल नेपालीहरुको औसत आयु ७१ बर्षको छ ।
तर, मानिसको अस्वस्थकर बानीब्यबहारका कारण कम उमेरमै मृत्यु हुन सक्छ’ खड्काले भने ‘पोखरा थोक का स्थानीयको कम उमेरमै मृत्यु हुनुको कारण स्थलगत अनुगमन गर्नुपर्छ । अहिले जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्ने मात्रै हो । यस बिषयमा छmफल गरी समस्याको समाधान गर्ने उपाय निकाल्न सकिन्छ ।’




