| शनिबार, कार्तिक २८, २०८३

गोरखा दरवार एक वर्षभित्र उद्घाटन हुन्छ : मन्त्री भट्टराई

शनिवार गोरखा दरवारको पुन निर्माणबारे स्थलगत अवलोकनपछि नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र पुन निर्माण सक्ने बताएका छन् । गोरखाको ऐतिहासिक धरोहर गोरखा दरवार हेर्न आन्तरिक र बाह्य पर्यटक आउने मुख्य समय (भ्रमण वर्ष) का क्रममा दरवार पुन निर्माण पुरा नहुनु दुःखद भएको उनले बताए ।

दुई वर्ष भित्र निर्माण सक्ने गरी पचली सिवाको जेभी कन्स्टूक्सनले चार करोड ३७ लाखमा जिम्मा लिएको थियो । तर अहिले करिब ३० प्रतिशत मात्रै पुन निर्माण गरेको छ । दरवार पुन निर्माण छिटो गरिदिन अनुरोध गर्दै गोरखाका जनप्रतिनिधिले मन्त्रीलाई स्थालगत अवलोकन गरिदिनु अनुरोध गरेपछि मन्त्री भट्टराई दरवार पुगेका थिए । निर्माण ब्यवशायीले कालिगढ नपाएको, जगको ‘मोडालिटी’ परिर्वतन गर्नुपर्दा समय लागेको जवाफ दिए ।

शनिवार पुन निर्माण हुँदै गरेको दरवार भित्र उभिएर मन्त्री भट्टराईले भने ‘मन्त्रालयका कर्मचारी र निर्माण ब्यवशायीलाई फर्केपछि भन्नेछु, यो छिटो सकेर आउँदो वर्ष उद्घाटन हुनुपर्छ ।’ गोरखा दरवार निर्माण ब्यवशायीले ढिला काम गर्दा दूई वर्ष भित्र पुरा हुन नसकेपछि अहिले छ महिना म्याद थप्ने तयारी पुरातत्व बिभागको छ । शनिवार बिहान गोरखा सदरमुकाम आएका मन्त्री भट्टराई नेपाल कम्यूनिष्ट पार्टीले कार्यालय पाटेचौरमा आयोजना गरेको स्वागत तथा भेटघाटमा सहभागी भए । लगत्तै गोरखा संग्राहालयको अवलोकनपछि उनी गोरखा दरवार पुगे । दरवारबाट फर्केपछि भिमसेन थापको शालिक अनावरण कार्यक्रममा सहभागी भएर शनिवार नै काठमाण्डौँ फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्