| शनिबार, कार्तिक २८, २०८३

संरक्षकबाटै हुन्छ हिंसा : बाबु/दाजुबाट बलात्कार, बुज्रुक श्रीमानबाट यातना

अहिले महिला हिंसा बिरुद्धको १६ दिने अभियान देशब्यापी चलिरहेको छ । गोरखामा पनि स्थानीय तह र अधिकारको वकालत गर्ने संघ संस्था र ब्यक्तिहरु १६ दिने अभियानमा सहभागी भइरहेका छन् । हरेक वर्ष हुने यस्ता कार्यक्रमले हिंसा घट्नुको साटो जाने बुझेकाहरुबाटै हिंसाको घटना बढ्दो छ ।
‘धेरैजसो हिंसा पनि परिवार भित्रैबाट भएको छ’ केही वर्षयता जिल्ला प्रहरी कार्यालय अन्र्तगतको महिला तथा बालवालिका सेवा केन्द्रमा काम गर्दै आएका प्रहरी निरीक्षक कमला नरालले भनिन् ‘घरभित्रै हुने हिंसाको अवस्था डरलाग्दो छ ।’ साउन महिना यता ४७ वटा महिला हिंसाका घटनाको उजुरी दर्ता भएको छ । यी मध्ये अधिकासं श्रीमानले हेलाहँ गरेको, अंश नदिएको, कुटपिट गरेको, लालन पालनमा चासो नदिएको भन्ने खालको छ । २५ वटा मिलापत्र भएर फर्किए भने एउटा बहुबिवाह र अर्को सार्वजनीक हित बिरुद्धको मुद्धा दर्ता भएको छ । सात वटा अझै फस्र्यौट हुन बाँकी छ र १३ वटा अन्य निकाय (स्थानीय तह, अदालत, न्यायिक समिति, कर्मचारीको हकमा सम्बन्धित अड्डा) मा फिर्ता गएको छ । फिर्ता गएका उजुरीको हकमा अपराध हेरेर संम्बन्धित मातहतको कार्यालयले कारवाही गर्ने गर्छ ।
गत वर्ष एक सय ८२ जना महिलाले हिंसाको शिकार भएको भन्दै महिला तथा बालवालिका सेवा केन्द्रमा उजुरी गरेका थिए । त्यस अघिको वर्षमा भन्दा ४५ वटा कम हो । ‘पछिल्लो समय उजुरी स्थानीय तहको न्यायिक समितिमा जाने भएकाले पनि यहाँ कम दर्ता भएको हो’ सेवा केन्द्रकी प्रहरी निरीक्षक नरालले भनिन् । केन्द्रले राखेको तथ्याङ्क अनुसार २०७६÷७७ मा घरेलु हिंसाबाट सबैभन्दा धेरै महिला पिडित भएका छन । त्यसपछि आत्महत्याको अवस्था पनि महिला र बालवालिकामा डरलाग्दो देखिएको छ । चार महिनामा ११ जनाले भुण्डिएर आत्महत्या गरेका छन । अघिल्लो वर्ष २९ जना महिला बालवालिका झुण्डिएका थिए । बहुविवाहको उजुरी यस वर्ष घटेको छ । २०७५ भदौ देखि दोस्रो बिवाह दर्ता नहुने काननु बनेपछि बहुबिवाहको मुद्धा एकाएक घटेको हो । त्यसअघि बिवाहित श्रीमान र दोस्रो श्रीमतीले अदालतबाट तोकिएको सजायाँ भुक्तान गरेपछि बिवाद दर्ता हुन्थ्यो । अहिले त्यो प्रावधान हटेको छ । २०७४÷०७५ मा २२ जनावटा दोस्रो बिवाहको उजुरी परेको थियो ।
जवरजस्ती करणीको घटनाको अवस्था डरलाग्दो छ । आफ्नै बाबुको पटक–पटक बलात्कार शिकार बनेकि युवतीले जन्मदिने बाबु बिरुद्ध मुद्धा दायर गरेकि छिन् । दाजुले १४ वर्षिया बहिनिलाई बलात्कार गरेको आरोपमा सजायाँ भोगिरहेका छन् । ‘आफ्नै परिवार भित्रैबाट असुरक्षा बढिरहेको छ’ १६ दिने अभियानको उद्घाटनका क्रममा गोरखा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले भनिन् ‘अब कसको विश्वास गर्ने, हाम्रो छोरीहरु कसरी सुरक्षित हुन्छन् भनेर ढुक्क हुने ?’ पछिल्लो समय संरक्षकबाटै बलात्कार, बलात्कार प्रयास, हिंसा हुन थालेको प्रति सचेत हुनुपर्नेमा महिला अधिकारकर्मीको जोड छ ।
सम्भ्रान्त वर्गका परिवारमा पनि हिंसाको घटना हुने गरेको र कतिपय अवस्थामा बाहिर ल्याउन महिलाहरु डराएर हिंसा सहेर बस्ने गरेको नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन ।
केही दिन अघि जिल्ला प्रहरी कार्यालय गोरखामा एक जना महिला हतास मानसिकतामा पुगिन् । कारण थियो उनलाई श्रीमानले कुटपिट गर्थे । श्रीमान भर्खरै निवृत्त सरकारी जागिरे, कानुनका बारेमा राम्रो ज्ञान भएका, कुटपिट गर्नेलाई कारवाही गर्ने निकायमा बसेर निवृत्त भएकाबाटै महिला पिडित भएको कुरा सुनेपछि प्रहरी नै आश्चर्यमा परे । श्रीमानको इज्जतको डरले महिलाले केही ब्यक्ती सँग परामर्श लिएर एक पटकलाई सहेर फर्किइन । श्रीमान, परिवारको इन्जतको लागि हिंसा सहेर बस्ने महिलाको संख्या कम्ती छैन् ।
साउन देखि मंसिर पहिलो साता सम्म जवरजस्ती करणीको घटनामा ५ जना महिला बालवालिका र करणी प्रयासको घटनामा तीन जना शिकार भएका छन् ।
बाल यौन दुब्र्यवाहारको शिकार १ जना बालिका भएपकि छिन् । यी घटनमा संलग्नहरु केही कारागार चलान भएका छन् भने केहीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । गत वर्ष जवरजस्ती करणीको घटनाबाट १५ महिला तथा बालवालिका र करणी उद्योग तर्फ ७ जना पिडित भए । त्यस अघिको वर्ष उक्त संख्या २४ थियो । ‘उजुरी स्थानीय तहमा जाने क्रम बढेकाले प्रहरीमा कम आएको हो’ प्रहरी निरीक्षक नरालले भनिन् ‘लैङ्गिक हिंसा घटेको छैन ।’ पछिल्लो समय बैदेशिक रोजगारीमा गएका श्रीमानहरु श्रीमतीको हिंसाको शिकार भएका छन् । ‘लैङ्गिक हिंसा भनेको पुरुषपनि हिंसामा पर्नु हो, करिव पाँच देखि १० प्रतिशत पुरुषपनि महिलाबाट हिंसाको सिकार भएका छन् ।’
महिला हिंसाका उजुरी गोरखा र पालुङटार नगरपालिकामा धेरै छ । तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा भने महिला हिंसाको उजुरी खासै नभएको उपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । ‘हिंसाको उजुरी खासै छैन, खासै उजुरी नै पर्दैन, आफैँ समान्य बादविवाद गाउँलेहरु आफैँले मिलाउँछन’ उनले भनिन् ।
बालवालिका र महिलाहरु हराउने क्रम पनि कम्ती छैन । हराएकाहरु भने कम भेटिन्छन् । चालु वर्षको कात्तिक महिना सम्म ३५ जना महिला बालवालिका हराएको मध्ये ११ जना अझै फेला परेका छैनन् । गत वर्ष एक सय ८१ जना हराएका मध्ये एक सय एक जना मात्रै भेटिए ।
‘हराएको सुचना आउने तर फेला नपरेको सुचना परिवारले नदिँदा पनि भेटिने संख्या कम भएको हुनसक्छ’ प्रहरी निरीक्षक नरालले भनिन् । जिल्ला प्रहरी कार्यालयले महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले सचेतना मुलक कार्यक्रम गरिरहेको जनाएको छ ।
अहिले गोरखामा ११ वटै स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिले पनि महिला सचेतना, हिंसा न्यूनिकरणका अभियान चलाईरहेका छन् । तर जिल्लामा हिंसाको शिकारहुने पिडित महिला, बालवालिकाको संख्या दिनदिनै बढ्दो छ । पहिले आर्थिक शंकटका कारण अभाव झेल्ने समुदाय हिंसाको शिकार हुन्थे भने अहिले जानेबुझेकाहरुबाटै हिंसा भईरहेको अधिकारकर्मी बताउँछन् ।
सचेतना सँगै हिंसा सहरे बस्नेहरु खुलेभने घटना कम हुने प्रहरीको पनि विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्