| शनिबार, कार्तिक २८, २०८३

गोरखाको दुई प्रहरी चौकी पाँचबर्षदेखि त्रिपालभित्रै

गोरखाका दुईवटा प्रहरी चौकीका प्रहरीले बिगत पाँचबर्षदेखि त्रिपालभित्रबाटै शान्ति सुरक्षाको काम गरिरहेका छन् ।

जिल्लाका ४१ वटामध्य सीमा प्रहरी चौकी लार्के र जगत प्रहरीचौकी बिगत पाँचबर्षदेखि त्रिपालभित्रै रहेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । चौकी रहेको भाडाको घर २०७२ सालको भूकम्पले भत्किएपछि दुवै चौकीका प्रहरीहरु त्रिपाल टाँगेर कार्यसम्पादन गरिरहेको उनले बताए ।

चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित लार्के चौकीमा असईको कमाण्डमा आठ जना कार्यरत छन् । सईको कमाण्डमा १५ जना प्रहरी कर्मचारीको दरबन्दी रहेपछि चौकीमा स्थापना कालदेखि नै असईको कमाण्डमा चलिरहेको हो ।

हिमाली क्षेत्रको सो चौकीमा कार्यरत प्रहरी त्रिपालभित्र कष्टपूर्ण रुपमा बसिरहेका वडा अध्यक्ष पेमाडुण्डुप लामाले बताए । चौकीका लागि घर भाडामा लिन खोज्दा पनि लामो समयदेखि प्रयास असफल भइरहेको उनले बताए । ‘पहिले बाहालमा थियो, अहिले पालमा छ’, लामाले भने, ‘चौकी स्थापना भएदेखि नै चौकीको नाममा एकरोपनी दुई आना जग्गा छ तर भवन छैन । आफ्नै भवन नभए पनि भाडामा घर लिएर चौकी राख्न पहल गरियो, तर सकिएन ।’

प्रक्रिया पूरा गरेर माग गर्दा पनि चौकीलाई घरमा सार्न नसकिएको लामाले बताए । ‘तीनवटा घर भाडाको कोटेशन चाहिन्छ भनेकाले जिल्ला प्रहरी कार्यालयमा त्यही अनुसारको कागज पेश गरेको हो तर भाडामा पनि राख्न सकिएको छैन’, उनले भने, ‘प्रहरीलाई एउटा टेलिभिजन र टेबुल राखिनुप¥यो भनेर गाउँ कार्यपालिकामा निवेदन दिँदा गाउँपालिकाले समेत बेवास्ता ग¥यो ।’ राज्यको सुरक्षा निकायलाई राज्यले नै बेवास्ता गरेको भन्दै उनले दुख ब्यक्त गरे ।

हिउँ पर्न थालेपछि त्रिपाल पनि क्षतिग्रस्त हुने चौकीका इञ्चार्ज असई प्रेम बानियाँले जानकारी दिए । ‘चारपाँच फिटसम्म बाक्लो हिउँ पर्छ । त्रिपालले धान्नै नसकेर भत्किन्छ’, उनले भने, ‘लामो समयसम्म हिउँ पग्लिदैन । पालबाट पानी चुहिएर सुत्नै सकिदैन ।’

सो चौकीले चुमनुब्री गाउँपालिकाको वडा नं. २, ४ र ५ साबिक ल्हो, प्रोक र बिही गाविसको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ ।
सीमा प्रहरी चौकीको जिम्मेवारी ठूलो भए पनि अबस्था नाजुक रहेको एसपी अधिकारीले बताए । जिल्लाका ४१ वटा प्रहरी इकाइमध्य १७ वटा मात्रै आफ्नै भवनमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्