| शनिबार, कार्तिक २८, २०८३

बूढीगण्डकी कार्यालयमा सांसदको नेतृत्वमा धर्ना

राष्टिूय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना बाट डुबानमा पर्ने आरुघाट, आर्खेत, विशालनगर, खहरेबजार क्षेत्रको मुआब्जा यथासीघ्र निर्धारण गर्न दबाबस्वरुप सांसद सहित जनप्रतिनिधि र स्थानीयबासीले धर्ना कार्यक्रम दिएका छन् ।

गोरखा १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हरिराज अधिकारी नेतृत्वको टोलीले सोमवार आयोजना कार्यालयको घ्याल्चोक सिउरेनीटारस्थित मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको कार्यालयमा धर्ना दिए हुन् ।

बिहान १० देखि १२ बजे सम्म धर्नापछि आयोजित सभामा संवोधन गर्दै उनले भने ‘आयोजनाले जनतालाई उकुसमुकुस बनाएर राख्यो, मुआब्जा तोक्न ढिलो भयो ।’ जनता निराश भईसकेको भन्दै उनले बिस्थापित क्षेत्रका सर्वसाधारणलाई अन्याय भएको दाबी गरे । ‘छिटो मुआब्जा दिएर निर्माणको काम सुरु गर्नुपर्ने बेला अहिले पनि मुआब्जा तोक्न आलटाल गरिएको छ’, उनले भने । जनताले छिटो आयोजना निर्माण होस भन्ने चाहेको भन्दै उनले भने ‘न मुआब्जा दिन्छ, न जग्गा फुकुवा हुन्छ, जनता बौलाउने अवस्था राज्यले सिर्जना गर्नुहुँदैन ।’ मुआब्जमा तोक्ने अधिकार पाएका ब्यक्तिले पनि यसबारेमा सोच्नुपर्ने सुझाव दिए ।

आयोजनाको मुआब्जा निर्धारण, निर्माण लगायतको काममा आफु निरन्तर लागिरहने गोरखा १ बाट निर्वाचित सांसद अधिकारीले बताए ।

धर्ना कार्यक्रममा आरुघाट, त्रिपुरासुन्दरी, भिमसेन थापा, गण्डकी, शहिदलखन गाउँपालिकाका जनप्रतिनिधि लगायत धादिङ, गोरखा समन्वय समितिका सदस्यहरु, प्रभावित क्षेत्रका स्थानीयको सहभागिता रहेको थियो । आरुघाटका स्थानीयले मंसिर १२ गते सम्म पनि मुआब्जा निर्धारण नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन् । धादिङतर्फ खहरे, त्रिपुरासुन्दरी बजार क्षेत्र र गोरखा तर्फ आरुघाट, आर्खेत क्षेत्रको जग्गाको मुआब्जा अहिलेसम्म निर्धारण भएको छैन ।

अन्यत्र भने २०७३ सालमा निर्धारण भएर बितरण सकिएको छ । पाँच वर्षदेखि आयोजनाले जग्गा रोक्का राखेर मुआब्जा समेत निर्धारण नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्